२०८३, १७ असार बुधबार

कर्णालीका ३० पत्रिका बन्द

सुर्खेत, ४ बैशाख ।

नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिले लकडाउनको कारण यहाँका सञ्चार माध्यम र पत्रकार संकटमा परेका भन्दै आवश्यक सहयोगको लागि प्रदेश सरकारलाई आग्रह गरेको छ । प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीलाई कोरोना संकटपछिको मिडिया अवस्थाबारे जानकारी गराउँदै यस्तो आग्रह गरिएको हो ।

महासंघका अनुसार कर्णालीमा नियमित सञ्चालनमा रहेका ३० वटा पत्रिका बन्द भएका छन् । मुगुको एकबाहेक ४७ वटा एफएम रेडियो भने सञ्चालनमा रहेका छन् । लकडाउनको बेला अनलाइन सञ्चारमाध्यमले सूचना प्रवाहमा सक्रियता देखाएका महासचिव दीपेन्द्र शर्माले बताए । ‘जस्तोसुकै संकट भए पनि पत्रकार र सञ्चार माध्यमले आफ्नो काम गरिरहेका छन्, तर जोखिमबाट बच्नको लागि भरपर्दो सुरक्षा अवस्था छैन,’ उनले भने, ‘त्यसैले पत्रकारको सुरक्षामा पनि ध्यान जाओस् भनेर हामीले सरकारलाई आग्रह गरेका हौं ।’ मन्त्री भण्डारीले प्रदेश सरकारले कोरोनाविरुद्धको अभियानमा अग्रमोर्चामा रहने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई जस्तै सञ्चारकर्मीको सुरक्षालाई पनि विशेष ख्याल गर्ने बताए । तत्कालीक रुपमा सुरक्षा र आवश्यक सहयोग गर्नुका साथै दीर्घकालीन रुपमा कोरोना संकटले पारेको प्रभाव न्यूनीकरण गर्न योजना बनाइने उनको भनाइ छ ।