कोरोना त्रास शहर भन्दा गाउँमा बढि, अन्न भित्र्याउने कि ज्यान जोगाउने ?
सुर्खेत, ४ बैशाख ।
नेपालमा कोरोना संक्रमितको संख्या बढेसँगै कोरोना त्रासको चाप पनि बढदै गएको छ । गाउँमा अन्नबाली भित्र्याउने समय सुरु भइसकेको अवस्थामा कोरोनाको त्रास बढदा ज्यान जोगाउने कि खाद्यान्न भित्र्याउने भन्नेमा असमञ्जसमा नागरिक परेको पञ्चपुरी नगरपालिका ५ का प्रेम ढुंगाना प्रभातले बताए । ‘अहिले गाउँमा भारत तथा अन्य देशबाट आएका नागरिकहरु धेरै छन । अधिकांशलाई क्वारेन्टाईनमा राखिएन । काठमाडौंमा होम क्वारेनटाईनमा बसेका नागरिकमा २५ दिनपछि पनि कोरोना संक्रमण देखिएको भन्ने खबर आइरहेको छ । यसले हामीलाई तनाव दिएको छ ।’ उनले भने, ‘गहुँबाली पाकेर झर्न लागेको छ । कोरोनाको त्रास भन्दा पनि नागरिकहरु बाली भित्र्याउन सुरक्षाको ख्याल नगरिकनै काम गर्न लागिरहेका छन् । यसले कोरोना संक्रमण फैलिन सक्नेतर्फ कसैको ध्यान जान सकेको छैन ।’ गहुँबाली भित्र्याउने समयमा भीड बढ्ने र त्यसले कोरोना कसैलाई संक्रमण गरेको खण्डमा गाउँ नै सखाप पार्नेतिर नागरिकले ख्याल गर्न नसकेको उनको भनाई थियो ।

गाउँमा खाद्यान्न भित्र्याउने समय भएपनि बीरेन्द्रनगरमा लकडाउन पूर्ण रुपमा पालना गर्न नागरिक अहिले पनि तयार भएका छैनन् । ‘साँझ पाँच बज्यो कि राजनीतिक दलको बन्द आव्हान खुलेको जस्तै बजारमा लाईन लागेर निस्कने बानी राजधानी वासीको भइसकेको छ । प्रहरीले जति कडाई गरेपनि नागरिक सडकमा निस्कन छोडेका छैनन् ।’ वीरेन्द्रनगर ३ का सुशिल खड्काले भने, ‘राजधानीकै नागरिक आफ्नो सुरक्षाको ख्याल गर्न यति हेल्चक्रयाई गर्छन भने गाउँमा के कुरा गर्नु ? गाउँमा के भइरहेको छ भन्ने कुराको कल्पना नै गर्न सकिदैन । न त गाउँमा प्रहरी प्रशासनको सशक्त उपस्थिति छ न स्थानीय जनप्रतिनिधिले भनेको नागरिक मान्न तयार छन् । यस्तो अवस्थामा कतै कोरोना संक्रमण भएको खण्डमा भयावह स्थिति आउन सक्ने मैले देखेको छु ।’
कर्णालीका सुर्खेत, दैलेख, सल्यान, रुकुम पश्चिम, कालिकोट लगायतका जिल्लाका तल्ला क्षेत्रमा लगाईएको खेती पाक्न थालेको छ । कतै गहुँ तथा दलहन बाली पाकेर घरभित्र लगिसकिएको छ भने कतै काट्ने तयारी भइरहेको छ ।
आठबीस नगरपालिका वडा नं. सात अम्कानाका युवा नेता प्रेमप्रकाश शाहीले सामाजिक दुरी कायम गरेर भएपनि अन्नबाली स्याहारीरहेको बताए । ‘गाउँमा अहिलेपनि आम नागरिकले कोरोनाबारेमा पर्याप्त सूचना पाएपनि पालना गरिरहेका छैनन् । गाउँमा हामीले सामाजिक दुरी कायम गरि खेति सम्हाल्न आग्रह गरिरहेका छौं ।’ उनले भने, ‘त्यसकालागि सकेसम्म हामीले छरछिमेकमा सल्लाह दिइरहेका छौं । यद्यपी समूहमा नै बारीमा जाने काम रोकिएको छैन । यसले कुनैपनि बेलामा कोरोनाको संक्रमण देखिएमा फैलने खतरा पर्याप्त छ ।’ यसकालागि सरकारले र नागरिक स्वयंले ख्याल गर्नुपर्ने बताए ।
प्रदेश सरकारले पनि गाँउमा बाली स्याहार्ने समय आएको बताउँदै लकडाउनका बेलामा खेतबारीमा सामाजिक दुरी कायम गरी काम गर्न कर्णालीवासीलाई आग्रह गरेको छ तर नागरिकले सामाजिक दुरीको पालना गरे नगरेको बारेमा प्रदेश सरकारले वास्ता गर्छ कि गर्दैन वा प्रभावकारी रुपमा सामाजिक दुरी कायम गराउन प्रदेश सरकार सफल हुन्छ कि हुँदैन त्यो भने हेर्न बाँकी रहेको चामुण्डा विन्द्रासैनी नगरपालिकाका भरत शाहीले बताए । उनले खेतीबाली भित्र्याउन अनुरोध गर्नु, उत्पादनका काममा नागरिकलाई खटिरहन आग्रह गर्नु राम्रो भएको बताउँदै उनीहरुको स्वास्थ्य स्थितिको बारेमा पनि स्थानीय वा प्रदेश सरकारले निरन्तर ख्याल गरिरहनुपर्नेमा जोड दिए ।

यता, प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले आम नागरिकले सामाजिक दुरी कायम गर्दै उत्पादनका क्षेत्रमा काम गर्नुपर्ने बताईन । ‘कर्णाली प्रदेश सरकारले लकडाउनलाई प्रभावकारी वनाउन प्रदेश नाकाहरु थप कडाई गर्न नाकाहरुवाट भित्रिने खाद्यजन्य, तरकारी, फलफुल, दूध, मासुलगायतका वस्तुहरुलाई पुर्ण रुपमा वन्देज गर्ने र वाहिरी प्रदेश तथा जिल्लाहरुमा अलपत्र परेका कर्णालीवासीलाई सम्वन्धीत ठाउँमा व्यवस्थापन गर्ने निर्णय गरेको छ । यसले कर्णाली प्रदेश सरकारको प्रभावकारीता र संवेदशिलतालाई उजागर गरेको सकारात्मक प्रतिक्रिया आएको छ ।’ उनले भनिन्, ‘कोरोनाले ल्याएको उक्त चुनौतीहरुलाई अब प्रदेशले अवसरका रुपमा लिई अब प्रदेशलाई उत्पादनमा आत्मनिर्भर वनाउने अभियानमा लागौं । प्रदेश भित्र उत्पादित वस्तुको वजारिकरणलाई सहजिकरण गर्ने काम प्रदेश र स्थानिय सरकारका अगाडिको जिम्मेवारी हो । कृषि उघमीहरु थप उत्साहका साथ अगाडि वढौं । प्रदेश भित्रको उत्पादन र वजारीकरणका लागि कुनै अवरोध हुने छैन तर सामाजिक दुरी भने कायम गरि काम गर्नु पर्ने छ ।’
उनले कोरोनाबाट जोगिएर काम गर्न किसानलाई आग्रह गरिन । ‘सरकारले निर्देशन दिए जस्तै गरि काम गर्नुहोस ।’ उनले भनिन्, ‘कोरोनाबाट जोगिन सामाजिक दुरी पनि महत्वपूर्ण हो । दुरी कायम गरि काम गरेको खण्डमा कोरोनाले सहजै आक्रमण गर्न सक्दैन । त्यसैले गाउँमा आएका आफ्ना परिवारलाई पनि उत्पादनका क्षेत्रमा लगाऔं । कर्णालीलाई आत्मनिर्भर बनाउन कोरोना आतंकको यो समयलाई अवसरका रुपमा लैजान म सबैलाई आग्रह गर्दछु ।’
