२०८३, १७ असार बुधबार

कोरोनाबारे भ्रम फैलाउने दुई जना पक्राउ

सुर्खेत, ३ बैशाख ।
मंगलबार विहान वीरेन्द्रनगर–८ कालुञ्चोक बस्ने धर्मराज आचार्यले सामाजिक सञ्जाल फेसबुकमा लेखे, ‘सुर्खेतमा कोरोना देखियो, पुष्टि हुन बाँकी’ । उनको यो स्टाटस हेर्दा हेर्दै भाइरल बन्यो केहि समयमै । सञ्चारकर्मी, आम नागरिकहरुले तारन्तार स्वास्थ्यकर्मी तथा सरकारका आधिकारीक निकायलाई फोन गर्न थाले । कर्णाली प्रदेशका कुनै पनि जिल्लामा हालसम्म नदेखिएको कोरोना संक्रमण एकाएक विहानै देखिएको कुरा आचार्यले सामाजिक सञ्जालमा लेखेपछि नागरिकमा त्रास छाउनु स्वभाविकै थियो । उक्त त्रासलाई पुष्टि गर्न भन्दै नागरिकहरुले पत्रकारलाई सोधिरहेका थिए । पत्रकारले पनि स्वास्थ्य निर्देशनालयका निर्देशक रिता भण्डारीलाई यसबारेमा जानकारी दिन सम्पर्क गरे । उनले सुर्खेतमा हालसम्म कसैलाई पनि कोरोना नदेखिएको भन्दै भ्रमबाट जोगिन आग्रह गरिन् ।
कान्तिपुर कर्णाली व्यूरो प्रमुख कलेन्द्र सेजुवालले कोरोना परिक्षण केन्द्रका प्रमुख ओम आचार्यसँग कुराकानी गर्दै सामाजिक सञ्जालमा चलाईएको हल्ला निराधार रहेको स्टाटस नै लेखे ।
उनले समाजलाई आतंकित पारेको बताउँदै जिल्ला प्रहरी कार्यालयले मंगलबार साँझ नियन्त्रणमा लियो । दिनभरी आचार्यको निगरानी राखेर मंगलबार साँझ मात्रै उनलाई पक्राउ गरिएको पुष्टी जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी रायमाझीले गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा कोरोना भाइरस (कोभीड–१९) बारे भ्रम फैलाउने अर्को एक जनालाई इलाका प्रहरी कार्यालय लेकबेशी सुर्खेतले पक्राउ गरेको छ । बुधबार विहान पक्राउ गरी दिउँसो ११ः४५ बजे जिल्ला प्रहरी कार्यालय सुर्खेतमा बुझाएको छ । दैलेख घरभई लेकबेशी न.पा.–१ ससुराली आएका २१ बर्षिय प्रेम वि.क. ले सामाजिक सञ्जाल फेसबुकमा भ्रामक कुरा लेखेका थिए । मंगलबार आफ्नो फेसबुक वालमा ‘सुर्खेतको लेकबेशी न.पा.–१ मा पनि एक जना व्यक्तिमा कोरोना संक्रमण देखिएको छ’ भन्दै भ्रामक, झुटो प्रचार गरेका थिए ।
सार्वजनिक अपराध अन्तर्गत शान्ति विरुद्धको कुसर पच्छिेद–२ दफा ७० मा झुटा अफवाह फैलाउन नहुने यदि गरेको खण्डमा कारवाहीको भागिदार हुने व्यवस्था बमोजिम कारवाही प्रक्रिया बढने जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी गोपाल रायमाझीले जानकारी दिए । पक्राउ परेका दुवै जनामा अनुसन्धान भैरहेको बताउँदै सूचना अधिकारी रायमाझीले जिल्ला प्रशासनमार्फत मुद्धा चलाएर कारवाही प्रक्रिया अगाडी बढाईने बताए ।

सुर्खेतसहित कर्णाली प्रदेशमा हालसम्म कोही पनि कोरोना संक्रमित नरहेको प्रदेश जनस्वास्थ्य सेवा निर्देशनालयका ल्याव इन्चार्ज ओम आचार्यले जानकारी दिए । ‘हल्लाको पछि नलाग्न आम नागरिकलाइ अनुरोध गर्दछु’ आचार्यले भने, ‘यस्ता संकटको बेला आम नागरिक त्रसित भइरहेको बेला आत्मबल हुने खालका कार्यहरू गरौं तर विना आधार अवफाह फैलाउने काम नगर्न आग्रह गर्दछु ।’ जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रायमाझीले नियन्त्रणमा लिएका आचार्य र वि.क.माथि थप अनुसन्धान अघि बढाएको जनाए । उनीहरु दुवैलाई जिल्ला प्रशासन कार्यालयमा पेश गरिने र प्रमुख जिल्ला अधिकारीको निर्णय अनुसार कारवाही प्रक्रिया अगाडी बढ्नेछ ।