सबै नागरिकलाई राहत वितरण गर्न नेकपाको वीरेन्द्रनगरको माग
सुर्खेत, २५ चैत ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा वीरेन्द्रनगर कमिटिले बीरेन्द्रनगरमा अन्य जिल्ला वा स्थानीय तहबाट बाहिरबाट आई बसोबास गर्ने मजदुर ,विद्यार्थी र विभिन्न पेशामा आबद्ध नागरिकहरुलाई तत्काल राहत तथा खाद्यान्न उपलब्ध गराउन सरोकारवाला सरकारलाई आग्रह गरेको छ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही समक्ष नगर कमिटिले माग गरेको नगर अध्यक्ष गंगाराम तिमिल्सेनाले जानकारी दिए । उनका अनुसार मंगलबार नगर कमिटी कार्यालयको आयोजनामा केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज नरबहादुर बिष्ट, केन्द्रिय सदस्य तथा जिल्ला सह–इन्चार्ज बिन्दमान बिष्ट, जिल्ला पार्टी सचिव कृष्णबहादुर जिसि, प्रदेश कमिटी सदस्य तथा नगर उपप्रमुख तथा हाल कार्यबाहक नगरप्रमुख मोहनमाया ढकाल, जिल्ला कार्यालय सदस्य मोहन बडुवाल तथा नगरपार्टी सदस्यहरुको एक टोलीले मुख्यमन्त्री शाहीसमक्ष उक्त माग गरेका हुन् ।
प्रतिउत्तरमा मुख्यमन्त्री शाहीले सरकारले यी समस्याको समाधान गर्न आजै बस्ने मन्त्री परिषदको बैठकले आवश्यक निर्णय लिने बताएको संयोजक तिमिल्सेनाले बताए । ‘उहाँले हामीले उठाएको कुराको सम्वोधन गर्ने हामीलाई आश्वासन दिनु भएको छ । कोही पनि नागरिक भोकै बस्न नपरोस भन्नेमा प्रदेश सरकार सजग छ ।’ उनले भने, ‘आजै बस्ने मन्त्री परिषदको बैठकले निर्णय गर्नेछ ।’
