२०८३, १८ असार बिहीबार

महावु गाउँपालिकामा अर्को वडा जान अनिवार्य सिफारिस चाहिने

 

सुर्खेत, २३ चैत ।
दैलेख जिल्लाको महावु गाउँपालिकाले एक वडा देखि अर्को वडामा जान नागरिकलाई रोक लगाएको छ । गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाहीले नागरिकलाई एक गाउँ देखि अर्को गाउँ नजान पनि आव्हान गरि सकिएको बताए । ‘हामीले एक वडाबाट अर्को वडामा जान नागरिकलाई प्रतिबन्ध लगाएका छौं ।’ अध्यक्ष शाहीले भने, ‘यदि जानै पर्ने बाध्यता भएको भए वडा कार्यालयको सिफारिस अनिवार्य लिनुपर्ने व्यवस्था गरेका छौं । यस्तो गर्दा कुनै वडामा कथंकदाचित कोरोना संक्रमण देखिएपनि अन्य वडामा नसर्ने देखेर हामी यो निर्णयमा पुगेका हौें ।’ अध्यक्ष शाहीले गाउपालिकामा अत्यावश्यक खाद्यान्न सामाग्री बाहेक अन्य सवारी साधन चलाउन नपाइने बताए । ‘खाद्यान्न ढुवानी गर्ने साधन चल्न दिने हामीले निर्णय गरेका छौं । यसकालागि गाडी नम्बर सहित कहाँबाट खाद्यान्न कति ल्याउने भन्ने उल्लेख गरि गाउँपालिकाबाट सिफारिस लिने व्यवस्था गरेका छौं । त्यहि सिफारिसका आधारमा प्रशासनले अनुमति दिनेछ ।’ अध्यक्ष शाहीले गाउँमा प्रतिव्यक्ति मास्क वितरण गरिएको जानकारी दिए । मास्कका साथै चार हजार साबुन पनि वितरण गरिसकिएको उनको भनाई छ । यद्यपी वडा नं. पाँचको केहि ठाउँमा वितरण गर्न भने बाँकी रहेको र त्यहाँ भोली नै वितरण हुने उनको भनाई थियो ।
गाउँपालिकाले कोरोनाबाट नागरिकलाई जोगाउन ५० लाख बराबरको विपद कोष स्थापना गरेको छ । उक्त कोषबाट त्यहाँ रहेका खाद्यवाली अभाव हुने, न्यून आय भएका तथा लकडाउनका कारण भोकै बस्नुपर्ने अवस्थामा रहेका नागरिकका लागि वितरण गर्न ८ सय क्विन्टल चामल, दाल नुन तेल खरिद गरिएको र केहि दिनमै वितरण गरिने उनको भनाई थियो ।