मन्त्री भण्डारी भारतीय सीमानाकामा !
सुर्खेत, २१ चैत ।
वीरेन्द्रनगर देखि झण्डै एक सय किलोमिटर टाढा रहेको भारतीय सीमामा कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारी शुक्रबार पुगेका छन् । भारतबाट ज्याला मजदुरी गरि घर फर्केका नागरिकहरुको अवस्था बुझ्न भनेर उनी विहानै प्रदेश नम्बर पाँचको बाँकेमा पुगेका थिए । नेपालगञ्जको दशगजा क्षेत्रमा पुगेर उनले सबैलाई कोरोनाबाट सजग हुन आग्रह गरेका छन् ।

‘नागरिकहरुको व्यवस्थापन र भावी दिनहरुमा कोभिड संक्रमण लगायतका अन्य सहकार्यका विविध विषयमा नेपालगन्ज उपमहानगरपालिकाका मेयरधवल शम्शेर राणा, नेपाली सेनाका बाहिनीपति, प्रजिअ, कर्णाली प्रदेस प्रहरी प्रमुख लगाएत सुरक्षा निकायका प्रमुख, युनिसेफ, रेडक्रस लगाएतका निकायसँग छलफल भएको छ ।’ उनले भने, ‘छलफल पश्चात् हामीले जमुनहा स्थित क्वारेन्टाइन र उक्त क्वारेन्टाइनमा रहेका नागरिकहरुको अवस्थाका बारेमा प्रत्यक्ष जानकारी लिई उहाँहरुलाई १४ दिन पछि घर फर्कने वातावरण बनाउने प्रतिबद्धता जनाएँ ।’
क्वारेन्टाइनमा रहेका ब्यक्तिहरूलाई १४ दिनपछि घर लिने ब्यवस्था गर्ने र उनीहरूलाई घर फर्केर कोरोना विरूद्धको अभियान्ताकारूपमा सक्रिय हुन मन्त्री भण्डारीले अनुरोध गरेका थिए । मन्त्री भण्डारीले बाकेमा रहेको कर्णाली प्रदेस प्रहरी तालिम केन्द्रको निरिक्षण समेत गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सुचना अधिकारी कृष्ण बहादुर रोकायाले जानकारी दिए ।
