२०८३, १७ असार बुधबार

मानविय आवतजावत सम्पूर्ण रुपमा रोक्न कर्णालीका डाक्टरको आग्रह

सुर्खेत, ११ चैत ।

कर्णाली प्रदेश अस्पतालमा कार्यरत डाक्टरहरुले मंंगलबार एक विज्ञप्ती प्रकाशित गर्दै कर्णालीमा बाहिरबाट हुने सम्पूर्ण मानविय आवतजावत बन्द गर्न माग गरेका छन् ।

‘हाम्रो देशको सिमित स्वास्थ्य संरचना र न्यून मात्रामा रहेको स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाहरुले कोरोनाको रोकथाम र उपचारमा कत्तिको र कस्तो भूमिका खेल्न सक्छ भन्ने कुरामा हामी स्वास्थ्यकर्मी नै विश्वस्त नहुने अवस्था छ । मास्क, ग्लोब्स, स्यानिटाइजर र डिसइन्फिकटेन्ट जस्ता अत्यावश्यक सामाग्रीहरुको एकातीर आपुर्ति बन्द भएको अवस्था छ र अर्को तिर बजारमा भएका सामाग्रीहरुको पनि कालोबजारी भएर अत्यावश्यक मानिसहरुलाई नै उपलब्ध नहुने अवस्था सिर्जना भएको छ ।’ विज्ञप्तीमा भनिएको छ, ‘उपचारमा व्यवस्था गरिएका बेड र भेन्टिलेटर साह्रै न्यून माात्रामा रहेका र विदेशमा जस्तो हजारौं मानिसमा संक्रमण देखिएमा हाम्रोमा आउने विरामीलाई समेत उपचार दिन नसकिने अवस्था छ । यो सबै कुरा मनन गरिसक्दा यस रोगबाट बच्नलाई रोकथाम बाहेक अरु उपाय असम्भव नै छ ।’ विज्ञप्तीमा लकडाउनलाई कडाईका साथ लागु गर्न र यसको महत्व नागरिकलाई बुझाउन डाक्टरहरुले आव्हान गरेका छन् ।

विज्ञप्तीमा डा. नवराज केसी, डा. हरि सापकोटा, डा. रुपक कंडेल, डा. सागर भण्डारी, डा. विवेक देवकोटा, डा. अमित सिंह, डा. केएन पौडेल, डा. प्रदिप न्यौपाने, डा. सन्तोष बस्नेतलगायतले हस्ताक्षर गरेका छन् ।