२०८३, १७ असार बुधबार

खराब शिक्षा र विष एउटै होः मन्त्री भण्डारी, पत्रकार थापासहित पाँच सम्मानित

सुर्खेत, १७ फागुन ।
कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले खराब शिक्षा र विषले पार्ने असर एउटै भएको बताएका छन् । नेश्नल प्याब्सन नेपाल सुर्खेतको पाँचौं जिल्ला अधिबेशनलाई उदघाटन गर्दै मन्त्री भण्डारीले खराब शिक्षाले देशलाई अधागतितिर धकेल्ने बताएका छन् । ‘खराब शिक्षा पाएको व्यक्तिले समाजमा राम्रो काम गर्न सक्दैन त्यसले समाजलाई नै खराब बाटोतिचर डो¥याउँछ र देश नै तहसनहस हुन्छ । जस्तै विष सेवन गरेको ब्यक्ति या त सकिन्छ या उसको जीवन नै तहस नहस हुने गर्छ ।’ उनले भने, ‘नेपालको शिक्षालाई व्यवस्थित र गुणस्तरीय बनाउन तथा शैक्षिक अवस्थालाई सुदृढ गर्न नीजि क्षेत्रले खेलेको भूमिका अहम छ । एन प्याब्सनले शिक्षा क्षेत्रमा पु¥याएको अतुलनीय योगदानको म उच्च सम्मान गर्दछु ।’

मन्त्री भण्डारीले शिक्षा सबैभन्दा बढि शक्तिशाली हतियार भएको बताए । उनले शिक्षाको हतियार प्रयोग गरेर मात्रै संसार बदल्न सकिने धारणा राखे ।‘निर्धनताका कारण शिक्षाको उज्यालोबाट बञ्चित बालबालिकाहरु नीजि विद्यालयको ढोका भित्र पस्न पाउँछन वा पाउँदैनन्, सबैभन्दा कम साक्षर, सबैभन्दा कम आयु, कम विकास तर प्रचुर सम्भावनायुक्त कर्णाली प्रदेशको भविष्य सुनिश्चित गर्न सक्ने योग्य जनशक्ति कसरी बनाउँने ? शिक्षाका नाममा भइरहेको पूँजी पलायन कसरी रोक्ने, त्यसकालागि एन प्याब्सनको भूमिका कस्तो रहन्छ ? यो प्रश्न मेरो मष्तिष्कमा नाचिरहेको छ ।’ मन्त्री भण्डारीले भने, ‘यो प्रश्नको सामूहिक जवाफ दिन आवश्यक छ । एकल जवाफ पर्याप्त हुँदैन । त्यसकालागि कर्णाली प्रदेश सरकारले अगुवाई गर्छ र कर्णाली प्रदेशको शिक्षा नीति, शिक्षा विधेयक र शिक्षा नियमावली निर्माणमा नेश्नल प्याब्सनसँग छलफल गर्ने तथा समग्र शैक्षिक विकासमा हातेमालो गर्ने विश्वास दिलाउन चाहन्छु ।’

कार्यक्रमलाई सम्वोधन गर्दै एन प्याब्सनका अध्यक्ष रितुराज सापकोटाले नेपालको शैक्षिक विकासमा नीजि क्षेत्रले महत्वपूर्ण सहयोग गरेको बताए । ‘हामी शिक्षाको विकास मार्फत नीजि क्षेत्रले नेपालको अवस्थामा सुधार ल्याउन प्रयास गरिरहेका छौं । तर हामीले सरकारबाट अपेक्षित सहयोग पाउन सकिरहेका छैनौं ।’ उनले भने, ‘शैक्षिक विकासकालागि सरकारले सामूदायिक विद्यालयका जस्तै नीजि विद्यालयमा अवसर र सहयोग गर्न सकेको खण्डमा सक्षम, देशकालागि आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्न सकिन्छ । यसमा राज्यको ध्यान पुगोस ।’

अध्यक्ष दिपेन्द्रराज खनालले नौ महिनामा १७ ओटा बैठक बसेको जानकारी दिए ।

पत्रकार थापासहित छ सम्मानित


यसैबीच समाजमा विभिन्न क्षेत्रमा प्रशंसागर्न लायक काम गरेको बताउँदै एन प्याब्सनले पत्रकार शेरबहादुर थापासहित छ जनालाई सम्मानित गरेको छ । संसदीय मामिला पत्रकार समाज कर्णाली प्रदेशका अध्यक्ष, लोकान्तर डट कमका प्रदेश प्रतिनिधि तथा हाम्रो नयाँ नेपाल दैनिकका कार्यकारी सम्पादक थापालाई समाज रुपान्तरण गर्न समाचार प्रकाशन तथा प्रसारण गरेको बताउँदै सम्मान गरिएको हो । कलाकार तथा खेलाडी नन्दा बस्याल, महेन्द्रप्रसाद गिरी, कमल कुमार सिंह, किरण भट्टराई र विद्याभुषण मानन्धर रहेका छन् ।