२०८३, १७ असार बुधबार

वीरेन्द्रनगरमै उत्पादन हुँदाहुँदै बाहिरबाट खरिद : स्थानीय उत्पादन प्रयोगको कुरा नारामा मात्रै

सुर्खेत । शुक्रबार वीरेन्द्रनगर नगरपालिकाले महिलाका लागि निःशुल्क सेनिटरी प्याड वितरण कार्यक्रम शुभारम्भ गरेको छ ।

नगर जनस्वास्थ्य शाखाको आयोजनामा शुक्रबार वीरेन्द्रनगर–१६ स्थित स्वास्थ्यचौकी, सानिखेलबाट निःशुल्क सेनिटरी प्याड वितरण कार्यक्रमको शुभारम्भ भएको हो । निःशुल्क प्याड वितरण गर्ने देशभरकै पहिलो स्थानीय तहको रूपमा नगरपालिकालाई परिभाषित गरियो । दैनिक डेढ लाख वटा सेनिटरी प्याड उत्पादन क्षमता भएको उद्योग वीरेन्द्रनगरमै छ । नगरपालिकाले वितरण गरेका उक्त प्याड भने आयातित थिए ।

नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले वितरण समारोहमा बोल्दै अबको दुई महिनाभित्र नगरका सबै वडाहरूमा निःशुल्क सेनिटरी प्याड वितरण कार्यक्रम लागू गरिने जानकारी दिइन् । तर, त्यति धेरै लागतको धेरै संख्यामा सेनिटरी प्याड वितरण गर्दा नगरपालिकाले वडा–११ पिपिरास्थित द सुपर वली सेनिटरी प्याड उद्योगबाट प्याड खरिद गरेन ।

कर्णाली प्रदेशमा पहिलो सेनिटरी प्याड उत्पादनका लागि स्थापना भएको उद्योगमा उत्पादित सेनेटरी प्याडले सोचेजस्तो बजार पाउन नसकेको उक्त उद्योगका सञ्चालक सुरेशकुमार वलीले गुनासो गरे । वलीले आफ्नो उद्योगसँग समन्वय गरी स्थानीय उत्पादनलाई प्राथमिकतामा राखी खरिद गरी वितरण गर्न नगरपालिकालाई पत्रसमेत पठाएका छन् । त्यति मात्र होइन उनले उद्योगमा उत्पादन भएका केही प्याडहरू पनि पठाएका छन् ।

तर, नगरपालिकाले भने उक्त पत्रको जवाफ दिएको छैन । वीरेन्द्रनगरमा उक्त प्याड उद्योग सञ्चालनमा भएको भर्खरै मात्र थाहा भएको संकेत गर्दै उपप्रमुख ढकालले अबको दिनमा उक्त उद्योगबाट खरिद गर्ने बताइन् । तर, उद्योगका सञ्चालकले नगरपालिकालाई दुई महिनाअघि नै पत्र पठाएको बताए ।

१ करोड १५ लाखको लागतमा स्थापना गरेको ‘द सुपर वली इन्डस्ट्रिज’ नामको सेनिटरी प्याडको उद्योग गएको साउन महिनादेखि सञ्चालनमा ल्याएका थिए । तर, उद्योगमा उत्पादित प्याडहरू प्रदेश–५ को भुरिगाउँ तथा दाङ लगायतका क्षेत्रमा निर्यात गर्नुपरेको छ । तर, आफ्नै स्थानीय तहले बाहिरबाट आयात गरिएका प्याडहरू वितरण गरिरहेको उद्योग सञ्चालकको गुनासो छ ।

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकाल भने यहाँको प्याड महँगो भएको भन्दै प्याड अन्यत्रबाट खरिद गरिएको भनी पन्छिन खोजे । उनले यहाँ उत्पादनत भएका प्याडहरू गुणस्तरीय नहुन सक्ने भन्दै अन्यत्रबाट खरिद गरिएको दाबी गरे । उनले भदौतिरै कोटेशन आव्हान् गरेर साढे चार लाख बराबर मूल्यका प्याड खरिद गरिएको बताउँछन् । “कार्यक्रमका लागि २० लाख बजेट छुट्याएका छौँ । टेण्डर आव्हान् गर्ने की कोटेशनमार्फत् खरिद गर्ने भन्ने बारेमा अहिले छलफल भइरहेको छ ।” उनले भने, “गुणस्तर प्रमाणपत्र भएको खण्डमा र ६२ रुपैयाँ भन्दा कममा खरिद गर्न
पाएको खण्डमा यहीँबाट खरिद गर्छौं ।

तर, उद्योग सञ्चालक वलीका अनुसार त्यहाँ उत्पादित प्याडहरूको मूल्य पनि महँगो छैन । प्याडहरू गुणस्तरीय पनि छन् । २३० एमएम, २८० एमएम र ३२० एमएमका विभिन्न साइजका प्याडहरूको क्षमता १२ घण्टासम्म हुन्छ ।

वलीका अनुसार उद्योगमा उतपादन भएका प्याड कागज र अन्य कुहिने सामग्रीबाट बनेकोले वातावरणीय दृष्टिकोणबाट समेत सुरक्षित रहेका छन् । ‘प्याडहरूको खुद्रा मूल्य प्रति सात वटाको २३० एमएम, २८० एमएम र ३२० एम एमको क्रमशः ८०, ९० र सय रुपैयाँ रहेको छ ।’ उनले भने, ‘प्याडहरूको होलसेल मूल्य क्रमशः ५५, ६८ र ७८ रुपैयाँ रहेको छ ।’

यसरी तुलना गर्दा बजारमा पाइने अन्यत्रबाट आयातित प्याडहरूको मूल्य पनि लगभग यही तुलना पर्ने देखिन्छ । गएको नगरसभाबाट नै नगरपालिकाभित्र रहेका महिलाहरूका लागि निःशुल्क सेनिटरी प्याड वितरण गर्ने निर्णय भएको थियो । महिनावारी कार्ड वितरण गरी नगरका प्रत्येक वडा स्वास्थ्य चौकीमार्फत निःशुल्क सेनिटरी प्याड वितरण गरिने नगरउपप्रमुखको भनाइ थियो ।