२०८३, १६ असार मंगलवार

सुर्खेतमा प्रहरीको उग्रता प्रदर्शन, बालकको दाँत झ¥यो

सुर्खेत, १७ माघ ।
मंगलबार टिप्परको ठक्करबाट एक युवाको ज्यान गएपछि भएको प्रदर्शन उग्र बनेको छ । विहीबार विहान वीरेन्द्रचोकमा प्रहरीको छोडुवा लट्ठी लागेर दैलेखका एक बालक घाइते भएका छन् । आन्दोलनकारीलाई नियन्त्रणमा लिने बहानामा दैलेखका ११ वर्षीय बालकलाइ छोडुवा लट्ठी लाग्दा उनको ओठ काटिएको छ भने दाँत पनि झरेको छ ।
सयौंको संख्यामा आन्दोलनकारी सडकमा आएका छन् । टिप्पर चालक र मालिक हरि विसीलाई जन्मकैद हुनुपर्ने माग राख्दै पीडित परिवार आन्दोलनमा उत्रिएका हुन । अहिले सुर्खेतमा सवारी साधन ठप्प पारिएको छ । पसलहरु बन्द गरिएका छन् । प्रहरी धरपकडमा उत्रिएको छ भने केहि प्रदर्शनकारीलाई वीरेन्द्र चोकबाट नियन्त्रणमा लिएको छ ।
मंगलवार प्रहरीले बल प्रयोग गरी शव उठाएपछि स्थिति तनावग्रस्त बनेको हो । मृतकका केही आफन्तले शव उठाउने र दोषीलाई हदैसम्मको कारबाही गर्ने प्रशासनसँग सहमति गरेका थिए । तर केही आफन्तले भने आमा कालिकोट र बुबा भारतबाट नआएसम्मका लागि शव नउठाउने अडान लिएका थिए । आफन्तले शव उठाउने सहमति गरीसकेको भन्दै प्रहरीले बल प्रयोग गरेर घटनास्थलबाट शव उठाएको थियो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रवि रावलले बालबालिकालाई सडकमा नआउन आग्रह गरे । ‘भीड अनियन्त्रित भएको छ । हामीले घर भित्रै बस्न आग्रह गरेका थियौं ।’ उनले भने, ‘पेट्रोल नै बोकेर हिडिरहेको भीडलाई नियन्त्रणमा लिदा त्यस्तो भएको होला । बालबालिकामाथि आक्रमण गर्ने हाम्रो कुनै मनसाय होइन । आफ्ना बालबालिकालाई घर भित्रै राख्न आग्ह गर्दछु ।’ डिएसपी रावलले करिब एक दर्जन जतिलाई पक्राउ गरेको जानकारी दिए । घाइते भएका बालक नेपालीलाई अभिभावकको जिम्मा लगाइएको छ भने उपचार खर्च सरकारले व्यहोर्ने उनको भनाई थियो ।