२०८३, १७ असार बुधबार

सु्र्खेत भेरीगंगा नपाका कार्यकारी पौडेलकोे मनोमानी, नगरभरि माछाका भुरा खरिद गर्न १२ हजार !

 

शेरबहादुर थापा

सुर्खेत, ६ माघ ।
भेरी गंगा नगरपालिकाले कर्णाली प्रदेशमै अनौठो बजेट तयार गरेको देखिएको छ । नगरपालिका भरिका लागि भन्दै आर्थिक वर्ष २०७६÷०७७ कालागि मत्स्य विकास कार्यक्रम अन्र्तगत भुरा खरिद अनुदानमा १२ हजार बजेट विनियोजन गरिएको पाइएको हो । नगरपालिकाका १२ वडामा उक्त कार्यक्रम लागु गर्न सो बजेट विनियोजन गरेको पाइएको हो । नगर पशु विकास कार्यदलको बैठकका लागि भने ४५ हजार रुपैंया विनियोजन गरिएको छ । नगरपालिकाले कर्मचारीको भत्ताका लागि पर्याप्त बजेट विनियोजन गरेको छ भने कुखुराको चल्ला ढुवानीकालागि भन्दै ४० हजार रुपैंया विनियोजन गरेको छ । भ्रमण खर्चकालागि ६० हजार विनियोजन गरेको नगरपालिकाले कार्यक्रम अनुगमन खर्चमा ४० हजार विनियोजन गरिएको हो ।
कृषकको प्रदेश स्तरको क्षमता विकास गर्न भन्दै नगरपालिकाले १६ हजार बजेट विनियोजन गरेको छ तर कर्मचारीको क्षमता विकास गर्न भनेर तीस हजार रुपैंया विनियोजन गरेको छ ।कृषकमुखी भन्दा पनि बजेट कर्मचारी मुखी बनाइएको पाइएको हो । नगरपालिकाले पशु विकास शाखाका लागि भन्दै चालु तथा पुंजीगत खर्च गर्न भन्दै जम्मा २५ लाख बजेट विनियोजन गरेकोमा चालु तर्फ २१ लाख १३ हजार विनियोजन गरेको हो ।
बर्डफ्लु लगायत अन्य रोगहरुको नियन्त्रणकालागि बैठक गर्न र नमूना संकलन गरि केन्द्र तथा प्रदेशमा रिर्पोटिङ गर्न भन्दै ७छहजार बजेट छुट्याएको नगरपालिकाले पशुपंक्षी तथा मत्स्य उपचार सेवाकालागि भन्दै ६० हजार रुपैंया विनियोजन गरेको छ ।
नगरपालिकाले पशु शाखाकालागि विनियोजन गरेको बजेट हचुवाका आधारमा निर्माण गरेको पाइएको हो । नगरपालिकाले कृषकमुखी नभई कर्मचारीमुखी बजेट बनाउँदा कृषि क्षेत्रको विकास नै ओझेलमा पर्ने देखिएको हो । राँगा खरिद अनुदानकालागि ३० हजार बजेट विनियोजन गरेको शाखाले समस्यामा आधारीत स्थलगत तालिम गर्न भन्दै ५० हजार विनियोजन गरेको छ ।
भैंसीपालन फ्लो अप भिमपुर सहकार्यमा च्यापकटर वितरण गर्न जम्मा ६५ हजार बजेट विनियोजन गरेको नगरपालिकाले पशुपंक्षीको उपचार गर्न भन्दै औषधी खरिदका लागि २ लाख ९७ हजार रुपैंया विनियोजन गरेको छ । पशु बन्ध्याकरण गर्न १५ हजार छुट्याएको नगरपालिकाले पशुपंक्षी महामारी रोग नियन्त्रक खोप लगाउन भन्दै जम्मा १५ हजार विनियोजन गरिएको छ । पशु स्वास्थ्य शिविर गर्न भन्दै शाखाले एक लाख ८० हजार रुपैंया विनियोजन गरेको छ ।
पशु विकास शाखाले बनाएको उक्त बजेट तयार गर्ने विष्णुप्रसाद ढकाल हुन भने स्वीकृत गर्ने प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद पौडेल हुन ।
यसबारेमा प्रतिक्रिया लिन खोज्दा नगरप्रमुख भुपेन्द्रबहादुर चन्द र कार्यकारी प्रमुख पौडेलले फोन उठाएनन् ।