२०८३, १७ असार बुधबार

सुर्खेतमा कर संकलन बढ्यो, देशभरमै पहिलो

 सुर्खेत । गत वर्ष आन्तरिक राजस्व कार्यालय सुर्खेतले मंगलगढी चोक नजिकै अवैध घरेलु मदिरा १० लिटर ल्याई आएको एक स्कूटर नियन्त्रणमा लियो ।स्कूटर बरामद गरिएपछि हाल कार्यालय भवन बाहिर रहेको छ ।

‘हामीले गोप्य सूचनामार्फत नियमित रुपमा मदिरा ढुवानीमा स्कूटी प्रयोग भइरहेको थाहा पायौं,’ कार्यालय प्रमुख एवं कर अधिकृत भीमप्रसाद शर्माले भने, ‘हाम्रो टोलीले स्कूटी र १० लिटर घरेलु मदिरा जफत गरेको थियो ।’

जिल्ला प्रहरी कार्यालयको सहयोगमा कार्यालयले अवैध मदिरा बेचबिखन गर्नेलाई कारवाही गरिरहेको छ । आर्थिक वर्ष २०७५/०७६ मा २६ जनालाई कम्तिमा ५ हजारको दरले जरिवाना गरेको थियो भने कार्यालयले चालू आर्थिक वर्षको मंसिर मसान्तसम्म ६ जनालाई कारवाही गरिसकेको छ ।

‘यो वर्ष घरेलु मदिराका केही मुद्दा मात्रै आएका छन्,’ उनले भने, ‘जति घरेलु मदिरा व्यापारीबाट जफत हुन्छ, सोही परिणाम बराबरको जरिवाना पनि हामीले गराउँदै आएका छौं ।’

आर्थिक वर्ष २०७५/०७६ मा देशभरका ३८ वटा कार्यालयमा सुर्खेत पहिलो भएको छ । ‘हामीले लक्ष्यभन्दा बढी कर संकलन गरेका थियौं । देशभरमा हामी पहिलो भएका थियौं । हामीले कार्यसम्पादनमा करीब ९३ प्रतिशत नम्बर ल्याउन सफल भएका हौं,’ उनले भने, ‘गत आर्थिक वर्षमा हामीले १ अर्ब लक्ष्य पाएकोमा १ अर्ब ३६ करोड रुपैयाँ राजस्व संकलन गरेका थियौं ।’

कार्यालयले आर्थिक वर्ष २०७४/०७५ मा ५३ करोड, २०७५/०७६ मा १ अर्ब ३६ करोड र चालू आर्थिक वर्षको पुस २४ गतेसम्म ७६ करोड ६९ लाख ४२ हजार रुपैयाँ राजस्व संकलन गरिसकेको छ । चालू आर्थिक वर्षमा कार्यालयलाई १ अर्ब ९० करोड राजस्व संकलन गर्ने लक्ष्य दिइएको छ । ‘यो वर्ष उही संरचना र उही दरबन्दी कायम भएका बेलामा हामीलाई राजस्वको लक्ष्य धेरै तोकिएको छ,’ कार्यालय प्रमुख शर्माले भने, ‘तर हामी लक्ष्य प्राप्तिको लागि प्रयासरत छौं ।’

कार्यालयमा हाल १७ जनाको दरबन्दी छ । ‘विगतमा केही जिल्ला मात्रै हेर्नुपर्ने हुन्थ्यो,’ उनले भने, ‘अहिले ८ जिल्ला सुर्खेत, दैलेख, कालिकोट, जाजरकोट, हुम्ला, मुगु, डोल्पा र कालिकोट हेरिरहेका छौं । कालिकोट, मुगु र जुम्लाको हकमा जुम्लामा कार्यालय भएपनि उसले सम्पादन गरेका कार्य हामीले नै हेर्नुपर्ने हुन्छ । यसले कामको चाप बढाएको छ । कम्तिमा हामीलाई थप २ जना कर अधिकृतको आवश्यकता छ । अहिले भएका २ जनालाई कर संकलन हेर्न र सेवा दिन बस्न ठिक्क छ ।’ कर अधिकृत नभएका कारण बजार अनुगमनमा चुनौती थपिएको उनले बताए ।

कार्यालयले आर्थिक वर्ष २०७५/०७६ मा १६३ व्यापारीलाई अनुसन्धान गरेकोमा त्यसबाट ५ लाख ३१ हजार तथा चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म ३७ जना मध्येबाट ३ लाख ३० हजार जरिवाना असुल गरेको छ ।

कार्यालयमा व्यक्तिगत पान नम्बर लैजानेको संख्यामा भारी वृद्धि भएको छ । कार्यालयबाट आर्थिक वर्ष २०७५/०७६ मा अन्तःशुल्कमा १ हजार ७७२ जना दर्ता भएका थिए । सोही वर्षमा आयकरमा ३५ हजार २३७, व्यक्तिगत लेखा नम्बर लिनेको संख्या ६ हजार ७१० तथा भ्याट दर्ता गर्नेको संख्या ३ हजार ८६८ रहेको छ । चालू आर्थिक वर्षको मंसिर मसान्तसम्म अन्तःशुल्क दर्ता गर्ने ३११, आयकर ३ हजार ४१७, व्यक्तिगत लेखा नम्बर ३० हजार २११, मूल्य अभिवृद्धि कर ४३४ र टीडीएस (सरकारी कार्यालय) ९७ नयाँ दर्ता भएका छन् ।

कार्यालय सञ्चालन भएको १ वर्षको अवधिमा जम्मा अन्तःशुल्कमा २ हजार ८३, आयकरमा ३८ हजार ६५४, व्यक्तिगत पान नम्बर ३६ हजार ९२१, मूल्य अभिवृद्धि कर ४ हजार ३०२,  डब्लु पान ९८ जनाले लिएको कार्यालयले जनाएको छ ।