२०८०, १० चैत्र शनिबार

घरभित्र निसासिएर पत्नीको मृत्यु, पति आईसीयूमा

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–२ कोलडाँडाको नयाँबस्तीमा आइतवार राति घरभित्र निसासिएर १ महिलाको ज्यान गएको छ भने उनका पतिलाई कोहलपुर मेडिकल कलेजमा आईसीयूमा राखेर उपचार भइरहेको छ ।

राति कोठामा कोइला बालेर सुतेका हरिबहादुर कामी, उनकी पत्नी चन्दा कामी, उनकी छोरी एउटै कोठामा सुतेका थिए ।

आइतवार राति उहाँहरू खाना खाएर कोठाभित्र सुत्नु भएको थियो,’ मृतकका नातेदार लालबहादुर सार्कीले भने, ‘उनकी पत्नी चन्द्राको मृत्यु भइसकेको छ भने उनका पति हरिलाई कोहलपुर मेडिकल कलेजमा आईसीयूमा राखेर उपचार भइरहेको छ ।’

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक दिल्लीराज पन्थले चन्द्राको मृत्यु भएको बताए । ‘अन्यको उपचार भइरहेको छ । मृतक चन्दाकी छोरीको कालागाउँस्थित प्रदेश अस्पतालमा उपचार भइरहेको उनले बताए ।