२०८३, १७ असार बुधबार

रास्कोटको नमूना कामः युवा भारत जानबाट रोकिए

सुर्खेत।
कालिकोट जिल्लाको रास्कोट नगरपालिका वडा नं. ७ का कपुर महताराको अहिले दिनचर्या फेरिएको छ । उनले जीवनका अधिकांश समय भारतका विभिन्न शहरमा रोजगारीका लागि विताए तर अहिले भने गाउँमै परिवारसँगै रहेर मासिक रुपमा चोखो कमाई गरिरहेका छन् । ‘अहिले मैले मासिक रुपमा कम्तिमा २० हजार रुपैंया कमाइरहेको छु । भारत जाने बाध्यता अहिले अन्त्य भएको छ ।’ उनले भने, ‘म आफैं नगरपालिकाले गठन गरेको श्रम रोजगार बैंकको व्यवस्थापकको रुपमा पनि काम गर्दै आइरहेको छु ।’ २०७५ सालको पुसमा गठन गरिएको उक्त बैंकको काम नगरपालिकाका विभिन्न आयोजना निर्माण गर्नु हो । नगरपालिकाले विभिन्न विकास निर्माणमा स्थानीय जनतालाई नै लगाउने र उनीहरुलाई रोजगार दिदैं आत्मनिर्भर बनाउने भन्दै रोजगार बैंक गठन गरेको थियो । उक्त बैंकमा मतारा जस्तै २६० जनाले निरन्तर काम गर्दै आइरहेका छन । ती मध्ये ३३ प्रतिशत महिला छन भने अल्पसंख्यक, दलित, कम आय भएका, शहिद परिवारहरुको रोजगार बैंकमा सहभागिता रहेको छ ।
रोजगार बैंकको अध्यक्ष हुन पदम खड्का । ‘हामीले अहिले सबैले मिलेर काम गर्ने र आयोजनाबाट आएको बजेट कामका आधारमा बाँडफाँड गर्ने गरिरहेका छौं ।’ उनी भन्छन्, ‘अहिले गाउँमा कसैलाई दुःख पर्दा हामीले सहयोग गर्ने गरेका छौं ।

प्रति कामदारको बैंक खाता खोलेका छौं र उनीहरुको खातामा नै रकम जम्मा गर्ने गरेका छौं ।’ हरेक कमदारले १० प्रतिशत रकम व्यक्तिगत खातामा जम्मा गर्नुपर्ने, दश लाख बराबरको दुर्घटना बीमा, नपाले बनाएको योजनाबैंक अनुसारका आयोजनामा कामदारहरु सहभागि हुने गरेको उनको भनाई छ । ‘हरेक कामदारका लागि जीवन निर्वाह भत्ताको रुपमा एक सय रुपैंया मासिक रुपमा जम्मा गर्दै आइरहेका छौं ।’ अध्यक्ष खड्काले भने, ‘काम पनि दु्रत गतिमा हुने गरेको छ भने यसले गाउँबाट १८ देखि ४० वर्षसम्मका युवालाई विदेश वा भारत जानबाट रोकेको छ । गाउँमा ठूलो रकम सदुपयोग भइरहेको छ ।’
यता, नगरपालिकाका प्रमुख काशिचन्द्र बरालले रोजगार बैंक प्रभावकारी रुपमा अघि बढिरहेको बताउँछन् । ‘डेढ वर्ष भन्दा बढी समय लगाएर हामीले कार्यविधि बनाएका थियौं । अहिले हामीलाई यसले राम्रो फाइदा दिएको छ । १५ सय भन्दा बढि युवाहरुले रोजगार बैंकमा सहभागि हुन आवेदन दिइसकेका छन् । उहाँहरुलाई पनि समेटने गरि योजना बनाइरहेका छौं ।’ प्रमुख बरालले भने, ‘रोजगार बैंकका कारण गाउँमा शान्ति स्थपाना भएको छ । रोजगारीका अवसर सिर्जना भएका छन् भने हिंसा कम भएको हाम्रो निष्कर्ष हो ।’
जनसंख्याको आधारमा हरेक वडाबाट कामदार छनौट गरिएको प्रमुख बरालले बताए । ‘हामीले जनसंख्याको आधारमा वडा कार्यालयको सिफारिस अनुसार कामदार छनौंट गरेका हौं ।’ उनले भने, ‘उहाँहरुलाई अन्य स्थानीय तहमा वा अन्य जिल्लामा पनि काममा खटाउन सकिने गरि हामी अघि बढेका छौं । अहिलेलाई नगरभित्रका आयोजनामा उहाँहरुको सक्रियता रहेको छ ।’

उनले रोजगार बैंकलाई निर्माण कम्पनीको रुपमा रुपान्तरण गर्न खोजेको बताए । ‘गाउँमा रहेका युवाहरुलाई श्रमको सम्मान गर्न यो कार्यक्रमले सहयोगगरेको छ ।’ उनले भने, ‘अब यो कार्यक्रमलाई हामी कम्पनीको रुपमा रुपान्तरण गर्ने र यसलाई स्थायीत्व दिदैं रोजगारीकालागि मात्रै भारत जाने प्रथााको अन्त्य गर्ने सोचका साथअघि बढेका छौं ।’ देश भरका ७० भन्दा बढी स्थानीय तहलले अहिले नगरपालिकाको कार्यविधि लगिसकेको बताउँदै नगरप्रमुख बरालले नगरपालिकाले युवाहरुलाई विभिन्न पाँच प्राथमिकता अनुसार काम गर्न लगाइएको बताए । ‘निर्माण र भौतिक संरचना, उत्पादनका क्षेत्र र लघु उद्यम, सामाजिक सांस्कृतिक विकृति र विसंगति विरुद्ध लाग्न, विपद व्यवस्थापन गर्न र सामाजिक सुरक्षा कायम गर्ने मुख्य प्राथमिकता तोकेका छौं ।’ उनले भने, ‘सोही अनुसार काम गराउँदै लैजाने योजना अनुसार नगरपालिका अघि बढेको छ ।’ उनले अन्य स्थानीय तहले पनि यसैगरि रोजगार बैंक बनाइ निर्माणमा लगाउन सकेको खण्डमा देशको आमुल परिवर्तन गर्न सकिने बताए ।