२०८३, १७ असार बुधबार

नेपाल भ्रमण वर्षः प्रदेश राजधानी नियाल्ने पर्यटकिय गन्तब्य गोठिकाँडा

सुर्खेत । कर्णाली प्रदेशको राजधानी नजिकै अर्थात सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१४ मा पर्छ गोठीकाँडा । साविकको गढी गाविसका लादे, छेडा, गोठीकाँडा र वयलकाँडा गोठीकाँडाकै नामले चिनिन्छन् ।

कर्णालीका १० जिल्लाको मुख्य सहर सुर्खेतको वीरेन्द्रनगरलाई नियाल्न पाइने ठाउँ हो गोठीकाँडा । नेपाल भ्रमण वर्ष नजिकिँदै गर्दा वीरेन्द्रनगरको उक्त ठाउँ पनि पर्यटकीय गन्तव्यको रूपमा स्थापित हुँदै गएको छ । आन्तरिक होस् या वाह्य पर्यटकहरूको रोजाइको रूपमा गढी स्थापति हुँदै गएको छ ।

पछिल्लो समय सुर्खेत उपत्यकामा बसोवास गरिरहेकाहरूले पनि गढीमा जग्गा खरिद गर्ने क्रम बढिरहेको छ । वीरेन्द्रनगर–८ मा घर भएका खगेन्द्र पुरी गोठीकाँडामा घडेरी किनेर सानो घर बनाउने सोच भएको बताउँछन् । ‘केही वर्षपछि त्यतै बस्ती सर्न पनि सकिन्छ, जग्गा किन्ने सोच छ’, उनले भने । स्थानीयका अनुसार गोठीकाँडामा दिनप्रतिदिन जग्गाको मूल्य पनि बढिरहेको छ ।

आन्तरिक तथा बाह्य पर्यटककलाई मध्यनजर गरी करोडौँको लगानीमा लादेमा होटल पनि खुलिसकेको छ । गोठीकाँडाबाट अपी, सैपाल हिमालमा हिउँ सहितको दृष्य पनि नियाल्न सकिन्छ । डाँडापाखा, सुर्खेत जिल्लाका अधिकांश स्थान, भेरी नदी, कर्णाली नदी पनि गोठीकाँडाबाटै नियाल्न सकिन्छ । ‘त्यति मात्र होइन लोकल कुखुराका मासु, स्थानीय गाउँले खानाका परिकार (ढिडो, आटो, सिस्नो) स्थानीयले सञ्चालन गरेका कटेजहरूमा पाइने हुनाले पनि पर्यटकहरूको आकर्षण बढेको छ ।’ बयलकाँडामा सञ्चालित चाहना कटेजका सञ्चालकले भने ।

पछाडि सुर्खेत बजार देखिएको फोटो खिच्ने ठूलो रहर थियो’, शनिबारको बिदाको समय पारेर गोठीकाँडा पुगेका एक विद्यार्थीले भने, ‘सामाजिक संजाल फेसबुकमा अन्य कसैले गोठीकाँडाको फोटो राखेको देखेको थिएँ, मलाई पनि गोठीकाँडा आउन अत्यन्तै रहर लाग्यो ।’ उपत्यकाको मनोरम दृश्य लिन, सेल्फी खिच्न र पिकनिक मनाउन उत्तम स्थानको रूपमा स्थापित बन्दै गरेको गोठीकाँडा ‘प्रदेश राजधानीमा बसोवास गर्दै आएका कर्मचारी, विद्यार्थी र व्यापारी सबैको रिफ्रेस हुने ठाउँ गोेठीकाँडा बनेको छ’, एक स्थानीयले भने, ‘चिसोको समयमा घाम ताप्न र गर्मीको समयमा शीतल लिन पनि गोठीकाँडा आउने गर्छन् ।

यति मात्र होइन गोठीकाँडा व्यस्त, कर्मचारी, प्रदेशसभाका सांसद र मन्त्री स्थानीय सरकारका पदाधिकारीहरूको बिदा मनाउने स्थल जस्तै यहाँ भएको छ’, उनले भने । उनका अनुसार बिदाको दिनमा सयौं आन्तरिक पर्यटकहरू आउने गरेका छन् । बिदाको दिनमा यहाँको डाँडाभरी नै पर्यटकहरू भरिएका हुन्छन् ।’

‘गोठीकाँडामा भ्यु टावर बन्छ भन्ने हल्ला भने पुरानो भइसकेको छ । तर अझैँ भ्यु टावर बनेको छैन । भ्यु टावर बनेमा पर्यटकको संख्या बढ्ने थियो होटलहरू धेरै चल्ने थिए । स्थानीयले पनि मनग्य आम्दानी गर्ने थिए’, गोठिकाँडाका श्याम भण्डारीले भने ।

वडाध्यक्ष टोपबहादुर दर्लामीले गोठीकाँडामा सुर्खेतकै सबैभन्दा बढी पर्यटक आउने स्थान बनाउन सकिने बताए । दैनिक सयौँ पर्यटक आउने बताउँदै उनले प्रदेश सरकारसँग गतवर्ष नै आपूmहरूले भ्यू टावर बनाउनका लागि आवश्यक बजेट व्यवस्था गर्न माग गरे पनि नपाएको गुनासो गरे । उनले १ करोड ४० लाख रुपैयाँको लगानीमा भ्यू टावर बनाउने योजना भएको बताए ।

बयलकाँडामा ऐतिहासिक गढी पनि छ । बहादुर शाहको पालामा २ सय वर्षअघि बयलकाँडा गढी निर्माण गरिएको स्थानीयको भनाइ छ । पाँच कठ्ठा १३ धुर क्षेत्रफलमा रहेको बयलकाँडा गढी समुन्द्री सतहदेखि १ हजार ५ सय २२ मिटर माथि छ । त्यस क्षेत्रमा पहिले वरिपरी ढुंगाको पर्खाल र सेनाले लुकेर गोली हान्न गराइएका पर्खालमा प्वाल देखिने गरे पनि पछिल्लो सयम सबै पुरिँदै गएको एक स्थानीयले बताए ।