२०८३, १७ असार बुधबार

सल्यानमा राणाकालको झल्को: नेता सिपी

नेपाल क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य एवम कर्णाली प्रदेश इन्चार्ज चक्रपाणि शर्मा सिपीले सल्यान जिल्लामा नेपाल प्रहरीले राणाकालको झल्को दिएको बताएका छन् । सल्यान जिल्लाको कुमाख गाउँपालिकामा वडा नं. ५ मा उपचुनावको समयमा बहिष्कार गर्ने नीति अनुरुप प्रचार गर्दै हिंडेका बेला मंसिर १० गते जिल्ला प्रहरी कार्यालय सल्यानले शर्मा सहित केन्द्रीय सदस्य दिपक शाही, सल्यान जिल्ला कमिटि सचिव चक्र शाह, जिल्ला कमिटि सदस्य हिरालाल गोसाई लगायतलाई प्रहरीले ७ दिन हिरासतमा राखेको थियो । सोही विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनलाई सम्वोधन गर्दै नेकपाको सरकारले संविधानले दिएको अधिकारलाई कुल्चेर राणाकालीन व्यवहार प्रदर्शन गरिरहेको आरोप लगाएका हुन । ‘हामी शान्तिपूर्ण रुपमा आफ्नो प्रचार प्रसार गरिरहेका थियौं ।’ कर्णाली प्रदेश इन्चार्ज समेत रहेका नेता सिपीले भने, ‘संविधानको मुल मर्म र भावना भन्दा टाढा गइ हामीलाई हिरासतमा राखियो । हामीले शान्तिपूर्ण रुपमा प्रचार प्रसार गर्ने अधिकारबाट बञ्चित गराइयो ।’ उनले भारतले सीमा मिच्दा भारतीय प्रधानमन्त्री सँग चुइक्क बोल्न नसक्ने नेकपा सरकारले शान्तिपूर्ण रुपमा विरोध गर्नेलाई हिरासत पठाउन सफल भएकोमा खुशी मनाइरहेको आरोप लगाए ।
उनले नेपाली जनताको त्याग, तपस्या र बलिदानबाट यो व्यवस्था आएपनि नेकपाले आफ्नो सम्पतीको रुपमा सत्ताको दुरुपयोग गरिरहेको आरोप लगाए । ‘दुइ तिहाइ प्राप्त शक्तिशाही सरकारले जनभावना बमोजिम काम गरेको छैन । गाउँमा सिंहदरबार भनिएपनि भ्रष्टाचार बढेको छ ।’ उनले भने, ‘सरकार तस्कर, विचौलिया र माफियाको सहयोगीको रुपमा देखा परेको छ । नयाँ धन्दा सरकारले चलाइरहेको छ ।’
उनले संगठन गर्न पाउने अधिकारलाई प्रहरीको बुट लगाएर नकुल्चन भन्दै सरकारको ध्यानाकर्षण गराए । ‘सरकार प्रहरीको साथ लिएर दमनमा उत्रिएको छ । हामीलाई सल्यानमा दमन गरियो । अराजनीतिक व्यवहार गरियो ।’ सरकारलाई चेतावनी दिदै उनले आक्रोसपूर्ण सवरमा भने, ‘हिजो पञ्चायत ढालियो, राजतन्त्र फालियो । यहाँहरुका विरुद्ध जनता सडकमा उत्रिन बेर छैन ।’