यस्तो छ चिनियाँ राष्ट्रपति सीको २० घण्टे नेपाल भ्रमणको कार्यतालिका
चिनियाँ राष्ट्रपति सी चिनफिङ दुई दिने नेपालको राजकीय भ्रमणका क्रममा काठमाडौं आउँदै छन्। राष्ट्रपति चिनफिङ शनिबार साँझ ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ।
चिनियाँ राष्ट्रपति सीलाई विमानस्थलमा ओर्लिदा स्वागत गर्न राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली लगायत विमानस्थल पुग्ने छन्।
दुई दिने नेपाल भ्रमणमा आउन लागेको सी आइतबार दिउँसो स्वदेश फर्किने कार्यक्रम छ। चिनियाँ राष्ट्रपति सी विमानस्थलमा ओर्लेपछि सिधैँ सोल्टीमोडस्थित होटल सोल्टी जाने छन्।
होटलमा केहीबेर आराम गरेपछि चिनियाँ राष्ट्रपति सी नेपालका समकक्षी विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुग्ने कार्यक्रम छ।
राष्ट्रपति भण्डारीसँगको भेटपछि सी होटल सोल्टीमै फर्किने छन् भने आजै साँझ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम छ।
देउवासँगको भेटपछि शनिबार साँझ साढे ७ बजे राष्ट्रपति सी आफ्नो सम्मानमा समकक्षी विद्यादेवी भण्डारीले आयोजना गरेको रात्रिभोजमा सरिक हुनेछन्। यस्तै, राष्ट्रपति सीले आइतबार बिहान साढे १० बजे सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नेछन्।
यसैगरी, बिहान साढे ११ बजे प्रधानमान्त्री केपी शर्मा ओलीसँग भेटवार्ता र त्यसपछि द्विपक्षीय सम्झौता हुने कार्यतालिका छ। राष्ट्रपति सी आइतबार दिउँसो १ बजे स्वदेश फर्किने कार्यक्रम छ।
राष्ट्रपति सीको नेपाल भ्रमण तालिका :
शनिबार
५ः०० बजे- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण
राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली लगायतद्वारा स्वागत
विमानस्थलमा सैनिक सलामी अर्पणपछि सी सोल्टी होटल प्रस्थान
६ बजे- राष्ट्रपति भवन शीतलनिवास प्रस्थान
६ः३० बजे- राष्ट्रपतिद्वयबीच भेट, भेटपछि सोल्टी होटल फिर्ता
७ः१५ बजे- प्रमुख विपक्षी दलका नेता एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग भेट
७ः३० बजे- राजकीय भोजमा सहभागी, सुरसुधा ब्याण्डद्वारा सांगीतिक प्रस्तुति
आइतबार
१०ः३० बजे- नेकपा अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता
११ः३० बजे- प्रधानमन्त्री केपी ओलीसँग भेट र द्विपक्षीय सम्झौता
१ः०० बजे- स्वदेश फिर्ता
