२०८१, १ कार्तिक बिहीबार

‘समृद्धिको जनचाहना पुरा गर्न प्रदेश सरकार प्रतिवद्ध छ’

सुर्खेत ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले संविधान कार्यान्वयन र समृद्धिको जनचाहना पुरा गर्न प्रदेश सरकार प्रतिवद्ध भएको वताएका छन् ।

संविधान दिवसको अवसरमा प्रदेश राजधानी वीरेन्द्रनगरको खुलामञ्चमा आयोजित समारोहलाई सम्वोधन गर्दै मुख्यमन्त्री शाहीले संविधान प्रदत्त जनाधिकार पुरा गर्दै समृद्ध कर्णाली निर्माणको अभियानमा प्रदेश सरकार दृढताका साथ लागिपरेको वताएका हुन् ।

मुख्यमन्त्री शाहीले सरकार वनेको डेढ वर्षको अवधिमा अत्यावश्यक कानुन तर्जुमा, प्रदेश सरकारको संगठन संरचना तर्जुमा एवं आवश्यक कार्यालयहरुको स्थापना, योजना आयोगको गठन, आपतकालीन उद्धार तथा राहत वितरण, सवै नागरिकको विपद दुर्घटना विमा लगायतका कामहरु सरकारले गरेको वताए ।

प्रशासनिक संरचना, कानुन, जनशक्तिको अभाव तथा अनुभवजन्य कमजोरीका बाबजुद पनि छोटो अवधिमै कर्णाली प्रदेश सरकारले विकास र समृद्धिको जग निर्माण गर्न सरकार सफल भएको मुख्यमन्त्री शाहीको भनाई छ ।
मुख्यमन्त्री शाहीले संघीय शासन प्रणालीको संस्थागत गर्दै संविधानले ग्यारेण्टी गरेका नागरिकका मौलिक हकको कार्यान्वयनको दिशामा अघि वढ्नुमा नै संविधान दिवस मनाउनुको सार्थकता रहेको वताए।

संविधान कार्यान्वयन प्रक्रियालाई केही प्रतिगामी शक्तिहरुले अवरोध गर्न खोजेको वताउदै मुख्यमन्त्री शाहीले प्ररिवर्तनको प्रवाहलाई कसैले पनि रोक्न नसक्ने दावी गरे ।

अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना तथा जनताको संविधान निर्माणका लागि सहिदहरुको वलीदानी नै मुख्य कारण भएको स्मरण गर्दै मुख्यमन्त्री शाहीले सहिदहरुप्रति श्रद्धाञ्जली तथा सम्मान व्यक्त गरे ।

संविधान दिवसको शुभकामना दिदै मुख्यमन्त्री शाहीले तीव्र गतिमा आथिक, सामाजिक तथा भौतिक विकास गर्दै सामाजिक न्याय सहितको समृद्ध प्रदेश निर्माणको लागि सवै नागरिकमा संविधान दिवसले प्रेरणा पैदा विश्वास व्यक्त गरे ।