२०८१, ४ मंसिर मंगलवार

प्रहरीमा जागिर खान नाम बदल्दै दुई नागरिकता

 

सुर्खेत। जिल्ला प्रशासन कार्यालय, सुर्खेतबाट एक जनाले प्रहरीमा जागिर खान भन्दै दुई नागरिकता लिएको पाइएको छ । सिम्ता गाउँपालिका वडा नं. ७ साबिक काप्रीचौर वडा नं. १ निवासी लक्ष्मण बिसीले दुई वटा नागरिकता लिएको खुलेको हो ।
प्रहरीमा जागिर खानको लागि उनले सेटिङ मिलाएर दोस्रो नागरिकता हरि बिसीको नाउँमा नागरिकता लिएका हुन् । उनले २०६३ साल जेठ ८ गते लक्ष्मण बिसीको नाउँमा ७७५८८ नम्बरको जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिएका छन् ।
बुवा गर्वे बुढाको नाम उल्लेख गरिएको छ नागरिकतामा । सोही व्यक्तिले जिल्ला प्रशासन कार्यालय, सुर्खेतबाट हरि बिसीको नाउँमा २०७० पुस ११ गते अर्को नागरिकता लिए ।
उनको नाउँमा ६४० १–७०–०४१९३ नम्बरको नागरिकता जिल्ला प्रशासन कार्यालय, सुर्खेतले २०७० पुस ११ गते जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय, सुर्खेतमा रहेको अभिलेखमा लक्ष्मण बिसीको नाउँको नागरिकता भेटिएको छ भने सफ्टवेयरमा दुवै नामको नागरिकता भेटिएको छ ।
उनका तीन भाई मात्रै छन,् हाम्रो नयाँ नेपाल दैनिकसँग कुराकानी गर्दा उनले चार भाइ भनेर ढाँटेका छन् । उनले नागरिकतामा उमेर घटाएरै जागिर खाएको तथ्य खुल्न आएको छ ।
उनले आठ कक्षाको मार्कसिट कसरी प्राप्त गरे, कसरी जन्मदर्ताको कागजात बनाउन सफल भए र कति कुन कर्मचारीले कति घुस खाए भन्ने बारेमा भने अहिलेसम्म खुल्न सकेको छैन ।
देशैभरी नागरिकताबारे बहस भइरहेका बेला सुर्खेत मा एकै व्यक्तिले दुई नागरिकता लिएको पाइएको यो पहिलोपटक हो । उनी अहिले जिल्ला प्रहरी कार्यालय, दैलेखमा कार्यरत छन् ।