राजनीतिप्रति वितृष्णाको उदाहरण : ११४ जनाद्वारा सामूहिक राजीनामा
सुर्खेत । देशमा संघीयता आएको छ । तीनै तहका सरकार गठन भइ काम गरिरहेका छन्, जनताले अपेक्षा गरे अनुसारको काम नभएको बताउँदै सामाजिक सञ्जालमा तीब्र असन्तुष्टि पोखिइरहेको बेला पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिकाको वडा नं. ११ घुमखहरेस्थित ठिग्नीगाउँ र डाँडा टोलमा अनौठो घटना घटेको छ ।
उक्त वडामा रहेका ३२ घरधुरीका करिब १ सय १४ जनाले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी परित्याग गरी स्वतन्त्र जीवनयापन गर्ने निर्णय सार्वजनिक गरेका छन् । नेपाल कांग्रेसबाट ४० जना, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट ४२ जना र अन्य पार्टीमा आस्थावान ३२ जना गरी १सय १४ जनाले सामूहिकरुपमा हस्ताक्षर गरी पार्टी परित्याग गरेको निर्णय प्रतिलिपी आ–आफ्ना पार्टी कार्यालयमा बिहीबार बुझाएका छन् ।
आँपसोती कुलाको विषयमा लामो समय विवाद भएको र सो विवाद समाधान गर्ने काममा नेपाली कांग्रेस र एमाले–माओवादीको नेतृत्व पंक्तिले असहयोग गरेकाले सो निर्णय गर्न बाध्य भएको अनेरास्ववियुकी पूर्व विद्यार्थी नेतृ, युवा संघ सुर्खेतकी सदस्य र साविक नेकपा एमाल घुमखहरे गाउँ कमिटीकी सहसचिव समेत रहेकी गौरी वलीले बताइन् ।
‘‘विकास निर्माणमा पनि चरम राजनीतिकरण गर्ने कार्य भयो ।’’ उनले भनिन्, ‘‘यसरी जनताका आवश्यकता पूरा गर्ने भनेर लागेका राजनीतिक नेतृत्वका कारण समाज नै अनिर्णयको बन्दी भएका कारण हामीले यो निर्णय लिएका हौँ ।’ २०५२ सालदेखि गाउँलेले सिंचाइ गर्दै आइरहेको कुलोमा तीब्र राजनीतिकरण गरिएको उनको भनाइ छ । ‘‘हामीलाई कसैले कांग्रेस बन्नुपर्ने, कसैले कम्युनिष्ट बने समस्याको समाधान गर्ने बताए ।’’
उनले भनिन्, ‘‘प्रदेश सरकारले १० लाख कुलोमा बजेट राखेपछि यस्तो अवस्था आयो ।’’ उनले कुलोमा नै राजनीति गरेका कारण सबै मिलेर आफ्ना दलका कार्यालयमा सामूहिक राजीनामा बुझाएको बताइन् । ‘‘हामीले पार्टी परित्याग गरेको हस्ताक्षरसहितको राजीनामा पत्र दलको कार्यालयमा बुझाइ सकेका छौँ ।’’ उनले भनिन्, ‘‘अब हामी दलका नेतासँग एकलरुपमा वार्तामा बस्ने छैनौँ ।
सामूहिकरुपमा मात्रै वार्तामा बस्ने छौ । ’’ देशकै दुई ठूला पार्टी परित्याग गरी अब उपरान्त स्वतन्त्र व्यक्ति भई बस्ने निर्णयमा उल्लेख गरिएको भए तापनि अब कुन पार्टीमा प्रवेश गर्ने हो त ? भनी सोध्दा यसबारे निर्णय १९ गते मात्र हुने वलीको भनाइ थियो ।