२०८१, २६ चैत्र बुधबार

प्रदेश सभामा रातो पासपोर्ट मोह

सुर्खेत । देशैभरी रातो राहदानीको चर्चा चलिरहेका बेला कर्णाली प्रदेश सभाका ४० जना सांसदमध्ये ९ जना प्रदेश सभा सदस्यले प्रदेश सभा सचिवालयबाट रातो पासपोर्टका लागि सिफारिस लिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

तिमध्ये ७ जना भने सरकारका मन्त्री छन् । बाँकी ३३ जना मध्ये सभामुखबाहेक ३२ जनामध्ये नौ जनाले सिफारिस लिएका हुन् ।

प्रदेश सभाका सूचना अधिकारी राजेन्द्र पौडेलका अनुसार सभामुखको सिफारिसमा उपसभामुख पुष्पा घर्ती (बिष्ट)सहित नौजना सांसदले रातो पासपोर्टको सिफारिस लगेका हुन् । ‘‘अहिलेसम्म ९ जना उपसभामुखसहित प्रदेश सभा सदस्यले रातो पासपोर्टको सिफारिस लिनुभएको छ ।’’ उनले भने, ‘‘जसमध्ये उपसभामुख पुष्पा घर्ती (बिष्ट), सामाजिक विकास समितिका अध्यक्ष राजु नेपाली, संसदमा नेकपाका प्रमुख सचेतक गुलाबजंग शाह, नेकपाका सचेतक सीताकुमारी नेपालीले सिफारिस लिएका हुन् ।’’

वीरबहादुर शाही, कौशिलावती खत्री, धर्मराज रेग्मी, मिनासिंह रखाल, अम्मरबहादुर थापाले सिफारिस लगेका सचिवालयले जनाएको छ । सिफारिस लिएकामध्ये हालसम्म प्रदेश सभा सदस्य धर्मराज रेग्मी अमेरिका तथा चीन भ्रमणमा गइसकेका छन् ।
तर मुख्यमन्त्रीसहित सात जना मन्त्रीले भने सचिवालयबाट सिफारिस लिएका छैनन् । मन्त्रीहरुको हकमा मुख्यमन्त्रीले तथा संसदहरुको हकमा सभामुखले रातो पासपोर्टका लागि सिफारिस दिनुपर्ने प्रावधान छ ।