२०८१, १९ चैत्र बुधबार

गाईपालनमा रमाउँदै : खर्च कटाएर मासिक ५० हजार आम्दानी

लक्ष्यबहादुर सुनार ।
सुर्खेत ।
वीरेन्द्रनगर नगरपालिका–९, तिलपुरका दिपेन्द्र कार्कीको दैनिकी विहानीको मिर्मिरसँगै राति अबेरसम्म गाईगोठमै वित्छ । भकारो सोहोर्नु, गाईलाई दानापानी खुवाउनु, दूध दुहुनु, गाईका लागि घाँस/पराल संकलन गर्नु उनको दैनिकी हो । उनलाई दैनिक गाईपालनमा सघाउँदै आइरहेकी छिन, पत्नी निताले ।
कार्कीले विगत १० बर्षदेखि गाईपालन व्यवसाय गर्दै आइरहेका छन् । कार्कीको फर्ममा अहिले होलेस्टेन जातका २८ गाई छन् । दिपेन्द्र र नितालाई उनका ६८ वर्षीय बुवा थिरबहादुर कार्कीले ‘गाइड’ गरिरहेका छन् । डेढ लाख रुयैयाँसम्म पर्ने उन्नत गाईबाट कार्की परिवारले राम्रो आम्दानी गरिरहेको छ । जसले वर्षेनि उनीहरुको जीवनस्तरसमेत उकासिएको छ । बजारको समस्या नरहेकाले उनीहरुको व्यवसाय फस्टाउँदै गइरहेको छ ।


आफ्नै जग्गामा काटेको घाँसले फर्मका गाईहरुलाई पुग्ने भएकाले व्यवसायमा खासै समस्या नभोगेको कार्की दम्पत्ती बताउँछन् । उनीहरुको फर्मबाट दैनिक ९५ लिटर दूध उत्पादन भइरहेको छ । ‘त्यो दुध स्थानीय बजारमै खपत हुन्छ,’ कार्कीले भने, ‘सबै खर्च कटाएर मासिक ५० हजार रुपैयाँ आम्दानी गर्दै आइरहेका छौं ।’ होलस्टेन गाईलाई रेडिमेड दानासँगै ‘नेपिएर र बर्सिम’ घाँस खुवाउने गरिएको कार्कीले जानकारी दिए ।
घरपरिवारको सहयोग भएकाले व्यवसाय फस्टाइरहेको कार्कीले बताए । कृषि जेटिए अध्ययन गरेका दिपेन्द्रले ३ वर्ष एक गैरसरकारी संस्थामा काम गरे । एक वर्ष इजरायलको गाई फार्ममा तालिमको लागि गएका उनले गाउँमै फर्किएर आफै व्यवसाय सुरु गरेका हुन् । ‘विदेशको जस्ता प्रविधि र आधुनिकरण यहाँ छैन, तर गर्नसके आफ्नै तरिकाबाट पनि कृषिबाट राम्रो आम्दानी गर्न सकिन्छ,’ कार्कीले भने, ‘आफ्नै व्यवसायबाट मनग्गे आम्दानी गर्दा धेरै खुसी छु ।’


आफ्नै गाउँमा केही गर्दा सन्तोष मिल्ने कार्कीको भनाइ छ । विदेशमा दसैं/तिहार केही नभनी २४ सैं घण्टा खटिनुपर्ने बाध्यता रहेको कार्कीले सुनाए । ‘अहिले यसमै रमाइरहेको छु, विदेश जाने र सरकारी जागिर खाने मोह कहिल्यै भएन,’ उनी भन्छन्, ‘अहिलेका युवा देशमै प्रशस्त व्यवसाय गर्ने अवसर हुँदाहुँदै पनि विदेशमा गइ पसीना बगाउन बाध्य छन् ।’ उनले युवामा आफ्नै माटोमा केही गरौ भन्ने इच्छाशक्ति नभएको बताए ।
कृषि पेशा अझै पनि सम्मानको पेशा हुन नसकेको दिपेन्द्रको गुनासो छ । कृषि व्यवसाय गर्नेलाई भन्दा बसिबसि खानेलाई सम्मान हुँदा चित्त दुख्ने गरेको कार्कीको बताउँछन् । सरकारले कृषि नीति बनाए पनि आफूजस्ता किसानलाई समेट्न नसकेको उनले गुनासो गरे । ‘अधिकांश नीति कोठामै बसेर बन्छन्, हामीजस्ता किसानको सुझाव नलिइ नीति बनाइदा कृषि क्षेत्रको पर्याप्त विकास हुन नसकेको हो,’ उनले भने, ‘कृषि क्षेत्रका नीति किसानमैत्री बनाइन जरुरी छ ।’
किसानको चाहना बमोजिम सरकारले अझै काम गर्न नसकेको श्रीमती निता बताउँछिन् । ‘कृषिप्रधान देश भनिएपनि सरकारले सधै कृषकलाई उपेक्षा गरेको छ,’ उनले भनिन् ‘अधिकांश कुरा भाषणमा सीमित छन्, जसका कारण वास्तविक किसान सरकारी सेवाबाट बञ्चित छन् ।’