२०८१, १९ बैशाख बुधबार

मप विश्वविद्यालयको स्ववियु निर्वाचन स¥यो अखिल, अखिल क्रान्तिकारी र नेक्राविसंघ आन्दोलनमा उत्रिए

a1सुर्खेत, भदौ ६ । मध्यपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय क्याम्पसको यही भदौ ८ गते गर्ने भनिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन सरेको छ ।

सम्पूर्ण विद्यार्थी संगठनहरुलाई सहभागी बनाएर स्ववियु निर्वाचन सम्पन्न गर्नुपर्ने भन्दै विश्वविद्यालयको कार्यकारी परिषद्ले निर्वाचन सार्ने निर्णय गरेको हो । आइतबार बसेको कार्यकारी परिषद्को बैठकले यही भदौ १३ गते निर्वाचन गर्ने निर्णय गरेको हो ।

यसअघि नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा माओवादीले स्ववियु निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरेको थियो । सोही तालाबन्दी खोल्ने विषयमा भएको बैठकले निर्वाचनको मिति सार्ने निर्णय गरेको हो । निर्वाचनको मिति सर्ने भएपछि विप्लव नेतृत्वको अखिल क्रान्तिकारीले ताला खोलेको छ ।

निर्वाचन कार्यालयमै तालाबन्दी भएपछि शनिबार मात्रै गर्ने भनिएको उम्मेद्वारी दर्ता आइतबारसम्म सरेको थियो । आइतबारसम्म मजदूर किसान पार्टीको नेपाल क्रान्तिकारी विद्यार्थी संघ, नेकपा (एमाले) को अनेरास्ववियु र नेकपा माओवादी केन्द्रको अखिल (क्रान्तिकारी)ले प्रत्यक्षतर्फका उम्मेद्वारहरुको मनोनयन दर्ता गराएका छन् ।

नेपाली काँग्रेसको नेपाल विद्यार्थी संघले भने आइतबार पनि उम्मेद्वारी दर्ता नगराएको मप विश्वविद्यालय स्ववियु निर्वाचन कार्यालयले जनाएको छ । अखिल क्रान्तिकारीका तर्फबाट अध्यक्षमा राजेन्द्र बुढा, अनेरास्ववियुबाट प्रभात पोख्रेल र नेपाल क्रान्तिकारी विद्यार्थी संघबाट भरत दाहालले अध्यक्षमा उम्मेद्वारी दर्ता गराएका छन् ।

मप विश्वविद्यालयको कार्यकारी परिषद्ले निर्वाचनको मिति नजिकै निर्वाचन सार्ने निर्णय गरेपछि मनोनयन दर्ता गराएका विद्यार्थी संगठनहरु भने आक्रोशित भएका छन् । निर्वाचन हुन नदिने र कुनै एक संगठनको विवादका कारण निर्वाचन सार्नु जायज नभएको भन्दै अखिल र अखिल (क्रान्तिकारी)का साथै नेक्राविसंघले आपत्ति जनाएका छन् ।

नेविसंघमा विवाद कायम रहेकोले उम्मेद्वारको टुङ्गो नलाग्दा निर्वाचनको मिति सारिएको भन्दै अन्य विद्यार्थी संगठनहरुले विरोध गरेका छन् । यसअघि सार्वजनिक गरिएको निर्वाचन तालिकाभन्दा एक घण्टा पनि मिति सार्न नदिने उद्घोषका साथ विद्यार्थी संगठनहरु एकजुट भएका छन् ।

उम्मेद्वारी दर्ता गरिसकेका तीन विद्यार्थी संगठनहरुले विश्वविद्यालयका पदाधिकारीहरुले कुनै एक संगठनको आन्तरिक विवादलाई लिएर गैर जिम्मेवारीपूर्णरुपमा निर्वाचन तालिका सारिएको भन्दै अखिल (क्रान्तिकारी)का तर्फबाट अध्यक्षका उम्मेद्वार राजेन्द्र बुढाले कुनै पनि हालतमा पूर्व निर्धारित तालिकामा निर्वाचन सम्पन्न गर्नुपर्ने बताए ।

‘‘विभिन्न बहाना बनाएर निर्वाचन सारिएको छ,” उनले भने, “विश्वविद्यालयको पदाधिकारीहरुको यस्तो हर्कतले निर्वाचन स्वच्छ हुनेमा शंका देखिएको छ, हामी कुनै पनि हालतमा निर्वाचनको मिति सार्न दिन्नौ, यो हामीलाई स्वीकार्य हँुदैन ।” क्रान्तिकारीका जिल्ला अध्यक्ष महेश जिसीले पनि यो निर्वाचन सार्नु पदाधिकारीकाहरुको गैर जिम्मेवारीपूर्ण हर्कत भएको बताए ।

यता, अखिलका जिल्ला अध्यक्ष प्रेम खड्काले केही विद्यार्थी संगठनको दबाब र विवादका कारण निर्वाचन सारेर गैर जिम्मेवारपूर्ण व्यवहार प्रदर्शन गरिएको भन्दै यो कुनै पनि हालतमा स्वीकार्य नहुने भन्दै अखिलले यसका विरुद्धमा संघर्ष गर्ने बताएका छन् ।

विश्वविद्यालयले निर्वाचन सार्ने निर्णय गरे पनि आइतबार साँझ तीन वटै विद्यार्थी संगठनहरुले संयुक्तरुपमा मप विश्वविद्यालयको निर्णयविरुद्ध विरोध सभा पनि गरेका छन् । तीन विद्यार्थी संगठनले अब मनोनयन दर्ता गराएका विद्यार्थीहरुबीच नै यसअघि तोकिएकै मितिमा निर्वाचन गराइनुपर्ने र तोकिएको समयमा मनोनयन नगराएका विद्यार्थीहरुलाई निर्वाचनमा भाग लिन नदिने चेतावनीसमेत दिएका छन् ।

नेविसंघको आन्तरिक विवादले मनोनयन दर्ता हुन नसकेपछि निर्वाचन सारिएको विद्यार्थीहरुको आरोप छ । मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस, सुर्खेतले यसअघि सार्वजनिक गरेको निर्वाचन तालिकाअनुसार भदौ ४ गते ११ बजेदेखि ५ बजेसम्म उम्मेद्वारी दर्ताको समय निर्धारण गरिएको थियो ।

५ गते उम्मेद्वारी फिर्ता लिन चाहनेलाई फिर्ताको मौका दिइने र सोही दिन साँझ उम्मेद्वारहरुको अन्तिम नामावली प्रकाशित गरिने तालिका थियो ।  यस्तै, समानुपातिकतर्फका उम्मेद्वारहरुको बन्दसूचि पेश गर्ने समय भने भदौ ६ गते तोकिएको थियो । निर्वाचन भदौ ८ गते बिहान ८ बजेदेखि सुरु हुने कार्यतालिका रहेको थियो ।