२०८१, २३ माघ बुधबार

दशैँका लागि विपन्न परिवारलाई खाद्यान्न

सुर्खेत : जाजरकोटको नलगाड नगरपालिकाले अति विपन्न परिवारलाई खाद्यान्न वितरण गरेको छ। आर्थिक अवस्था अत्यन्त कमजोर रहेका बादी र अन्य विपन्न समुदायलाई चाड दशैँलाई मद्देनजर गर्दै खाद्यान्न वितरण गरेको हो।

नलगाडका विपन्न बादी र अन्य ५० परिवारलाई एक बोरा चामल, एक लिटर तेल र दुई केजी दाल वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत (उपसचिव) मानबहादुर गिरीले जानकारी दिए। आर्थिक अभावका कारण घरमा चुह्लो बल्न धौ धौ परेका विपन्न परिवारलाई थोरै भए पनि चाडबाड मनाउन सहज होस् भनेर खाद्यान्न सहयोग गरिएको अधिकृत गिरीले बताए।

दल्लीमा रहेका बादीहरू माछा मारेर दैनिक घरखर्च चलाउँदै आएका छन्। अधिकांशको आफ्नो जग्गा नभएकाले अस्थायी बसोबास गर्दे आएका छन्। पालिकाले विभिन्न सीपमूलक तालिम दिएर बादी समुदायलाई रोजगार बनाउन सहायता गर्दै आएको छ।

दैनिक ज्याला मजदुरी गरेर छाक टार्ने बादी समुदायलाई पालिकाले समय समयमा आर्थिक सहायता गर्ने गरेको छ। जीवनोपयोगी सीपका साथै अन्य कुराहरु सहयोग गर्दै आएको भन्दै नलगाड नगरपालिकाका प्रमुख डम्बर रावतले पछाडि परेका वर्गलाई मूल प्रवाहमा ल्याउन सहयोग गरेको बताए।