२०८१, १५ बैशाख शनिबार

कर्णाली राजमार्गमा बर्सेनी सडक मर्मतमा करोडौ खर्च, सडकको अवस्था उस्तै

सुर्खेत : कर्णाली राजमार्गमा बर्सेनी सडक मर्मतका नाममा करोडौ रुपैयाँ खर्च हुने गरेको भएपनि सडकको अवस्था उस्तै रहने गरेको छ । बर्सेनि लोकमार्ग मर्मत तथा सम्भारका नाममा बजेट आउने भए पनि भत्केको ठाउँमा सामान्य मर्मत गरेर बजेट मात्र सक्ने गरेको पाइएको हो ।
अगाडिबाट सडकमा ओटासिल हाल्दै जाने र पछिबाट उप्किँदै जाने भएकाले सडक सुधारका नाममा बजेट मात्र खर्च हुने गरेको छ ।
आर्थिक वर्ष २०७७÷७८ मा कर्णाली लोकमार्गको मर्मतका लागि झन्डै १६ करोड बजेट खर्च भएको थियो भने आर्थिक वर्ष २०७८÷०८९ मा २६ करोड बजेट खर्च भएको थियो । विभिन्न खण्डमा भाग गरेर मर्मतका लागि भनेर ठेक्कामार्फत का भएको थियो । निर्माण व्यवसायीले ठेक्का पनि हाले तर सडक बनाउने नाममा खाल्डाखुल्डी मात्र पुरे, कतै ओटासिल गरिएको थियो । तर, सडकको अवस्था उस्तै रहेको खाडाँचक्र नगरपालिका–६ दाहाँका स्थानीय नरबहादुर शाहीले बताए ।
अगाडिबाट ओटासिल हाले पनि पछिबाटै उप्किँदै जाने गरेको तिलागुफा नगरपालिका–४, राँचुली पूर्व वडाध्यक्ष खड्कराज शाहीले बताए । ‘मेरो वडाको राँचुलीमा सडकमा कालोपत्रे गरेको १५ दिनमा सडक पुरानै अवस्थामा परिणत भएको छ ।’ उनले भने,‘केही दिनसम्म कालो राम्रो देखिएको सडक दुई हप्तापछि हेर्दा पहिलेका जस्तै जीर्ण बनेको छ ।’
सडक कालोपत्रे गर्दा सडकमा रहेको माटो राम्रोसँग सफा गर्ने त्यसपछि पानीले माटो सबै बगाएर खाली कङ्क्रिटमाथि कालोपत्रे गर्दा मात्र त्यो सडक बलियो हुने आफूले सुनेको पूर्ववडा अध्यक्ष शाहीले बताए ।
कामदार अभाव र सानो सडकमा यातायात पनि सञ्चालन भइरहने हुँदा कालोपत्रे गरेको सडक छिट्टै उप्किने गरेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ ।
कर्मचारीले अनुगमन नगर्नु, इमान्दार कर्मचारीलाई साबिकको ठाउँमा काम गर्न नदिनुलगायतका कारण कर्णाली लोकमार्गको स्तरवृद्धि नभएको स्थानीयले बताउँदै आएका छन् ।
कर्णाली राजमार्गको स्तरउन्नती नुहँदा हिउँदमा धुलाम्मे र वर्षायाममा हिलाम्मे हुने गरेको छ ।