२०८१, १७ मंसिर सोमबार

३६ वर्षदेखि परीक्षण उडानमै सिमित कोटवाडा विमानस्थल

सुर्खेत : कालिकोटको नरहरीनाथ गाउँपालिका–१ मा रहेको सुनथराली विमानस्थल परीक्षण उडानमै सीमित भएको छ । २०७३ माघ २९ गते तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाहीको पालामा यो विमानस्थलमा परीक्षण उडान गरिएको थियो । तर, २०४२ सालबाट निर्माण कार्य थालिएको यो विमानस्थलमा हालसम्म नियमित उडान हुन सकेको छैन ।
पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, विमानस्थल निर्माण आयोजना र निर्माण व्यवसायीको लापरबाहीका कारण ३७ वर्षसम्म पनि परीक्षण उडानमै सीमित भएको हो । परीक्षण उडान हुँदा स्थानीय नागरिकहरूले खुसीयाली मनाएका थिए । परीक्षण उडान भएको एक वर्षभित्र नियमित उडान गर्ने प्रतिबद्धता जनाएका तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाही हाल कर्णालीको मुख्यमन्त्री छन् । परीक्षण उडान भएको वर्ष दिनमा नियमित उडान गर्ने भनिएको यो विमानस्थलमा हालसम्म नियमित उडान भएको छैन ।
हाल यो विमानस्थलमा धावनमार्गको सुधार, रिपिटर टावर, घेरबार र भवनसमेत तयार भइसकेको विमानस्थल आयोजना कार्यालयले जनाएको छ । आयोजनाका सुपरभाइजर गणेश बिष्टले भने, ‘विमानस्थलमा कालोपत्रे गर्ने काम बाँकी छ । वर्षायाम लागेसँगै लगातार पानी पर्दा काममा अवरोध भएको छ ।’ २०७५ साल साउनमा विमानस्थलको धावनमार्ग कालोपत्रे गर्नका लागि ठेक्का भएको थियो । स्याम एन्ड शंकर जेबीले ठेक्का लिएको छ । परीक्षण उडान हुँदा यहाँका नागरिकहरूमा खुसीको सीमा नै थिएन । तर, एकपटक पनि जहाज नफर्कंदा उनीहरू निराश छन् ।
स्थानीय बिर्खा बुढाले भनिन्, ‘यो विमानस्थल बनाउँदा मैले छोरा गुमाएकी छु । छोराको रगत बगेको विमानस्थलमा अब जहाज उडेको देखेर मर्ने रहर छ ।’ सुनथरालीमा परीक्षण उडान भएको ६ वर्ष बित्दा पनि विमानस्थल निर्माण कार्य पूरा नहुनु र नियमित उडान नहुनुले आफूहरूलाई पिरोलिरहेको छ । स्थानीय बीर्खबहादुर बिष्टले सुनथराली विमानस्थलबाट जहाज चड्ने सपना अधुरै रहेको बताए । उनले भने, ‘हामी युवा अवस्थाका थियौं । यहाँ विमानस्थल निर्माणको काम सुरु भएको थियो । म बुढो भइसकेँ तर यहाँ जहाज आउँदैनन् ।’
विमानस्थलमा नियमित उडान भएमा पर्यटकीयस् थलका रूपमा रहेको रामारोशन, बाजुरा र कालीकोटको सिमानामा रहेको त्रिवेणी पाटन, बडिमालिकाको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने गाँउपालिका अध्यक्ष नगेन्द्र बिष्टले बताए । उनले भने, ‘विमानस्थल नियमित उडान गर्नका लागि र छिटो निर्माण कार्य सम्पन्न गर्नका लागि गाउँपालिकाको तर्फबाट दबाब दिँदै आएका छौँ । तर, विमानस्थल समयमा बनेन ।’