२०८१, ७ बैशाख शुक्रबार

जोखिम मोलेरै खोला तर्नुपर्ने बाध्यता

सुर्खेत : पक्की पुल नहुँदा  स्थानीयबासीले अस्थायी रुपमा यातायात सुचारु गर्न निर्माण गरिएको काठेपुलमाथि पानी बग्न थालेपछि हुम्लाको समकोट हिल्सा सडकको हेक्पा खोला तर्न समस्या हुन थालेको छ।

पानीको बहाबले कर्णाली करिडोर अन्तर्गतको सिमकोट हिल्सा सडकको हेक्पा खोलामा निर्माण गरिएको काठेपुलमाथि पानी बग्न थालेपछि समस्या भएको हो।

जोखिम मोलेरै पुलमाथि बगेको पानीमै यातायातका साधन सञ्चालन हुँदै आएको नाम्खा गाउँपालिका–१ को गाडापारीका स्थानीयबासी मीमबहादुर लामाले बताए। दुई वर्ष अघिदेखि हेम्पा खोलामा यातायातका साधनहरु सञ्चालनमा लागि अस्थायी काठेपुल निर्माण गरिएको थियो। 

खोलाको बगर क्षेत्रमा काठेपुल लगाएको तर बगरमा तटबन्धन नगरिएको कारण यो समस्या उत्पन्न भएको छ। खोलाको पानी पुलमाथि बगेपछि हाल यातायातका साधन सञ्चालन भइरहेका छन्।

पुल बगाएमा उत्तरी हुम्ला हिल्सा र लिमी लाप्चा जाने यातायातका साधन बन्द हुनेछन्। हाल दैनिक १५ भन्दा बढी यातायातका साधन सञ्चालन हुँदै आएका छन्। सो ठाउँमा तत्काल पक्की पुल छिटो निर्माण गरी जोखिम रुपमा यात्रा गर्ने कार्य बन्द गर्नुपर्ने सर्वसाधारणको भनाइ छ।

ज्यान जोखिम पारेर यात्रा गर्नुपरेको भन्दै यात्रुहरूले जसरी नि जानुको विकल्प नभएको बताएका छन्।