२०८१, ३० कार्तिक शुक्रबार

१९०२ मेगावाट विद्युत क्षमताको मुगु कर्णाली

 

 

 

सुर्खेत:  जलाशययुक्त जलविद्युत आयोजनाको पूर्वसम्भाव्यता (प्रि–फिजिविलिटी) सकेर सम्भाव्यता अध्ययन अघि बढाउने तयारी भएको छ । यो आयोजनाको पूर्वसम्भाव्यता अध्ययन नेपाल विद्युत प्राधिकरण मातहतको एनइए इन्जिनियरिङ कम्पनी लिमिटेड वैशाखमा सकेर प्रतिवेदन समेत तयार पारेर दिइसकेको छ । दोस्रो चरणमा यसको सम्भाव्यता अध्ययन गर्न लागिएको हो ।
नेपालमा हाल अध्ययन भइरहेका जलाशययुक्त आयोजनाहरुमध्ये सबैभन्दा ठूलो क्षमताको यस विद्युत परियोजनाको सम्भाव्यता अध्ययनका लागि सम्झौता भएर गृहकार्यसमेत अघि बढिसकेको छ । आयोजनाको सम्भाव्यता अध्ययन आगामी ६ महिनामा सकिने आयोजना प्रमुख सूर्यप्रसाद पाण्डेले बताए ।
‘सम्झौताअनुसार आगामी भदौसम्ममा सम्भाव्यता अध्ययन सकिनुपर्ने हो । बीचमा कोरोना अन्य विभिन्न कारणले काम रोकियो । कम्तिमा ६ महिना लाग्छ,’ उनले भने, ‘सम्भाव्यता अध्ययन सुरु गर्ने तयारी बल्ल सुरु भएको छ ।’
ऊर्जा,जलस्रोत तथा सिँचाइ मन्त्रालयले २०७५ असारमा विद्युत उत्पादन कम्पनी लिमिटेडलाई सर्वे लाइसेन्स दिएको थियो । लाइसेन्स पाएपछि २०७५ फागुनबाट कम्पनीले पूर्वसम्भाव्यता अध्ययन सुरु गरेको थियो ।
आयोजना प्रमुख पाण्डेका अनुसार बाजुराको पिलुचौरमा हेडवर्क्स बनाउन दुई विकल्पसहितको प्रस्ताव पूर्वसम्भाव्यता अध्ययनमा छ । ‘त्यहाँभन्दा माथि गए १९०२ मेगावाट विद्युत आउँदैन,’ उनले भने, ‘सम्भाव्यता अध्ययनले कहाँनेर ठिक हुने देखाउँछ त्यहीँ बनाउने हो । तर त्यो पिलुचौरभन्दा माथि हुँदैन ।’
अहिले त्यहाँ ड्रिलिङको काम चलिरहेको छ । तीनवटा ड्रिलिङ मेसिन प्रयोग गरेर करिब एक हजार मिटर ड्रिल गरेर परीक्षणको काम भइरहेको पाण्डेले जानकारी दिए ।
आयोजनाको बाँध करिब २५० मिटर उचाइ हुने अनुमान छ । यो आयोजनाबाट कर्णालीका कालिकोट, मुगु, हुम्ला, जुम्ला गरी चार जिल्ला र सुदूरपश्चिम प्रदेशको बाजुराका विभिन्न क्षेत्र प्रभावित हुनेछन् । आयोजनाले कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालयमा यसबारे ब्रिफ्रिङ गराइसकेको छ भने सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालयलाई बिफ्रिङ गर्न बाँकी छ ।
पूर्वसम्भाव्यता अध्ययनले प्रारम्भिक रूपमा आयोजना निर्माण उपयुक्त छ भन्ने देखाएकाले नै सम्भाव्यता अध्ययन अघि बढाउन लागिएको पाण्डेले बताए ।
‘सम्भाव्यता अध्ययन भएपछि आयोजना कस्तो हुन्छ, पावरहाउस अण्डरग्राउण्ड हुन्छ कि हुँदैन, संरचनाहरु कस्ता निर्माण गर्नुपर्छ भनेर प्रतिवेदन आउँछ,’ उनले भने, ’त्यसका आधारमा विस्तृत अध्ययन गर्ने वा के गर्ने भन्ने निर्णय गर्न सकिन्छ ।’
यो आयोजनाका लागि करिब ४ खर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान छ । सम्भाव्यता अध्ययन पनि एनइए इन्जिनियरिङ कम्पनीले गर्ने सम्झौता भएको छ । यो आयोजनाबाट वार्षिक ५८८३.१० गिगावाट आवर विद्युत उत्पादन हुने अनुमान छ ।
यो आयोजना कर्णाली नदीमा पहिचान भएको छ। सबैभन्दा माथि यो आयोजना निर्माण हुनेछ । त्यसको तल्लो तट (डाउन स्ट्रिम) मा फुकोट कर्णाली अर्ध जलाशययुक्त आयोजना (४८० मेगावाट) निर्माणका लागि प्रस्ताव गरिएको छ । जसको विस्तृत अध्ययन सकेर वातावरणीय प्रभाव मूल्यांकन (इआईए) प्रतिवेदन स्वीकृत हुने चरणमा छ ।
यो आयोजना पनि विद्युत उत्पादन कम्पनी लिमिटेडले नै पाएको छ । त्यसभन्दा तलतिर अरु आयोजना समेत पहिचान भएका छन् । मुगु कर्णाली जलविद्युत आयोजना निर्माण गर्न सकिए त्यसभन्दा तलका आयोजनाहरुका लागि समेत फाइदा पुग्ने पाण्डेको भनाइ छ । ‘यो आयोजनाले डाउनस्ट्रिममा पर्ने कर्णालीका अरु आयोजनाहरुका लागि बाढी रोक्न भूमिका खेल्नेछ,’ उनले भने ।
जलाशयमा आधारित केही ठूला आयोजना बनाउन सक्दा नेपालमा विद्युत आपूर्तिको दिगो समाधान हुने बताइँदै आएको छ । मुगु कर्णाली यसमा महत्वपूर्ण साबित हुन सक्ने अपेक्षा गरिएको छ ।