२०८१, ६ जेष्ठ आईतवार

नेपाल प्रथम गणेश ढकाललाई सम्मान

सुर्खेत । सुर्खेत मोडेल कलेजलले त्रिभुवन विश्वविद्यालय अन्तर्गत बीबीएस परीक्षामा सर्वोत्कृष्ठ अंक सहित नेपाल प्रथम हुन सफल छात्र गणेश ढकाललाई सम्मान गरेको छ । बिहीबार कलेजमा एक समारोहको आयोजना गर्दै ढकाल सहितका अन्य विद्यार्थीलाई सम्मान गरेको हो । बीबीएस परिक्षा २०७५ मा नेपाल प्रथम भएका ढकालका बुवा, आमा सहितको उपस्थितिमा सम्मान गरिएको हो ।

कार्यक्रममा ढकाल सहित बीबीएसको प्रथम बर्षमा कर्णाली प्रदेश प्रथम हुन सफल मनोज बडुवाल, बीबीएस दोस्रो बर्षमा कर्णाली प्रदेश प्रथम हुन सफल ललित बुढामगर र बिआइएम दोस्रो सेमेष्ट्ररमा काठमाडौँ उपत्यका बाहिर प्रथम हुन सफल अञ्जना राम्जालीलाई समेत सम्मान गरिएको सुर्खेत मोडेल कलेजका क्याम्पस प्रमुख गणेश आचार्यले बताए ।

त्रिभुवन विश्वविद्यालय (त्रि.वी)का व्यवस्थापन संकायका डीन. प्रा.डा. डिल्लीराज शर्मा, त्रि.वी अनुगमन निर्देशनालयका निर्देशक विष्णु खनाल तथा व्यवस्थापन संकायका सहायक डीन डा. दिनेशमणि घिमिरेले उपस्थितिमा विद्यार्थीहरुलाई सम्मान गरिएको हो ।

कार्यक्रममा त्रि.वीका व्यवस्थापन संकायका डीन. प्रा.डा. डिल्लीराज शर्माले मोफसलमा रहेका क्याम्पसहरुले प्रवाह गरेको शैक्षिक गतिविधिहरुको प्रशंसा गर्दै सुर्खेत मोडेल कलेजले आफ्नो छविलाई समग्र देशकै एउटा उत्कृष्ठ कलेजको रुपमा स्थापित गरेको बताए । साथै उनले शैक्षिक संस्थाहरु बिच प्रतिस्पर्धा मात्र नभएर एक अर्का बिच समन्वय र सहकार्य पनि आवश्यक रहेको बताए ।

कार्यक्रममा सम्मानित गणेश ढकालले आफ्नो शैक्षिक सफलतामा सुर्खेत मोडेल कलेजको महत्वपूर्ण भूमिका रहेको बताए । भौतिक पूर्वाधारमा सम्पन्न कलेजलाई आगामी दिनहरुमा शैक्षिक गुणस्तरका दृष्टिकोणले एक शशक्त भएर अघि बढाउनुपर्ने चुनौती रहेको बताए ।

कार्यक्रममा सुर्खेत क्याम्पस शिक्षाका क्याम्पस प्रमुख माधव प्रशाद खनाल, मध्यपश्चिमाञ्चल विश्वविद्यालयका पूर्व डिन पिताम्वर ढकाल लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार