कर्णालीमा कोरोनाविरुद्धको खोप, साढे ४ हजार फ्रन्टलाईनरले लगाए
सुर्खेत । कर्णाली प्रदेशका झण्डै साढे ४ हजार फ्रन्टलाईनरहरुले कोरोना विरुद्धको खोप लगाएका छन् । यहि माघ १४ गतेबाट लगाउन सुरु गरिएको खोप प्रदेशका स्वास्थ्यकर्मी, सरसफाईकर्मी, संक्रमितको शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी, स्वयंसेविकाले गरेर ४ हजार ४ सय १९ जना फ्रन्टलाईनरहरुले लगाएका हुन ।
यस अघि प्रदेश अस्पताल सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, लगायत विभिन्न ठाउँमा रहेका अस्पतालबाट गरेर १२ वटा ठाउँबाट खोप लगाउन सुरु गरिएको थियो । तर शनिबार सम्म त्यो संख्या बढाउँदै २० पु¥याइएको छ । जिल्लामा रहेका अस्पताल संगै अन्य स्वास्थ्यकेन्द्रबाट खोप लगाउन थालिएको हो । जस अन्तर्गत शनिबार १ हजार २ सय ८८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
जसमा दैलेखका २ सय ८५, सुर्खेतका १ सय ५९, रुकुम पश्चिमका १ सय ५८, जुम्लामा २ सय ६७, जाजरकोटका १ सय २९, सल्यानका २ सय ८० र डोल्पामा १० जनाले खोप लगाएका हुन । शनिबार कालिकोट, हुम्ला र मुगुका कुनै पनि स्वास्थ्य संस्थाबाट खोप लगाइएको छैन ।
खोप लगाएकाहरु मध्ये सबैको अवस्था सामान्य रहेको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक डा. रबिन खड्काले जानकारी दिए । ‘शनिबार लगाएकाहरु कसैलाई केहि त्यस्तो समस्या देखिएको छैन,’ डा. खड्काले भने, ‘यस अघिका ३ दिनमा केहि व्यक्तिहरुलाई सामान्य समस्या देखिएको थियो । तर अहिले सबैको अवस्था एकदमै राम्रो छ ।’
कर्णालीमा पहिलो चरणमा ११ हजार ७ सय ८० डोज कोरोना विरुद्धको खोप लगाइनेछ । जसमा सुर्खेतमा सबभन्दा बढी अर्थात् दुई हजार ७८१, दैलेखमा दुई हजार, जुम्लामा एक हजार ७०२, कालीकोटमा एक हजार २१, जाजरकोटमा एक हजार १०५, सल्यानमा एक हजार १२३, मुगुमा ५४७, डोल्पामा ५११, रुकुम पश्चिममा ५०० र हुम्लामा ४५० डोज खोप बाँडफाँड छ ।
जस अनुसार पहिलो चरणमा कोरोना नियन्त्रण तथा उपचारका लागि फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी, सरसफाइकर्मी, संक्रमितको शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी, एम्बुलेन्स चालक र महिला स्वास्थ्य स्वयंसेविकाहरुले लगाइरहेका छन् ।