२०८१, ७ कार्तिक बुधबार

हेर्नुहोसः आजका पत्रपत्रिकाहरुले के के लेखे

नेपाली सीमामा भारतीय पक्षले गरेको अतिक्रमण र उपनिर्वाचनका लागि बिहीबार गरिएको मनोनयन दर्ता आजका दैनिक पत्रिकाहरूको पहिलो प्राथमिकतामा परेको छ । यसबाहेक अपराध र अनियमिततासँग सम्बन्धित विषय पनि आजका पत्रिकाहरूले उठाएका छन् ।

‘भारतले कालापानीवरै पनि मन्दिर बनाउन दिएन’ शीर्षकमा कान्तिपुरले सीमा अतिक्रमणबारे मुख्य समाचार बनाएको छ । समाचार अनुसार भारतीय पक्षले महाकाली नदिवारि आएर सैन्य शिविर खडा गरेको कालापानी क्षेत्र स्थानीय व्यासी (सौका) समुदायको परम्परागत पवित्र भूमि हो । तर त्यहाँ उनीहरूलाई प्रवेश निषेध छ ।

प्रवेश निषेध पछि उनीहरूले त्यहाँभन्दा करिब २ सय मिटरवरै एउटा मन्दिर बनाउन चाहे । तर त्यसको निर्माणमा पनि भारतीय पक्षले अवरोध गरेको कान्तिपुर समाचारमा लेखिएको छ ।

कालापानी दार्चुलाको सबभन्दा उत्तरी व्यास गाउँपालिका वडा नम्बर १ मा पर्छ । त्यसमुन्तिरको पहिलो गाउँ छाङरुका बासिन्दालाई पूजा गर्न सजिलो होस् भनेर कालापानीमा काली मन्दिर बनाउन व्यास गाउँपालिकाले ४ लाख रुपैयाँ विनियोजन गरे पनि भारतीय अवरोधका कारण मन्दिर निर्माण हुन नसकेको कान्तिपुर समाचारमा उल्लेख छ ।

अतिक्रमणले नेपालको सीमा लम्बाइ नै अन्योलमा परेको अर्को खबर पनि कान्तिपुरमा छ । समाचार अनुसार दुवै देशले सीमा लम्बाइबारे फरक–फरक दाबी गर्दै आएका छन् ।

अब कारागारमै प्रजनन सुख, गर्भवती बन्दीले ६० दिन बिदा पाउने

कैदीलाई कारागारमै प्रजनन सुख दिन लागिएकोलाई कान्तिपुरले एंकर बनाएको छ ।

समाचार अनुसार, अब पति वा पत्नी जेलमा रहे पनि दम्पतीले सन्तान सुखबाट वञ्चित हुनु नपर्ने भएको छ । बाहिर रहेकी पत्नी जेलमा गएर पतिसँग बस्न पाउँछिन् । बाहिर रहेका पतिलाई कैदी पत्नीसँग भेट्न छेकिने छैन । कारागार परिसरभित्रै उनीहरूले यौनसम्पर्क राख्न पाउनेछन् । त्यति मात्र होइन, गर्भवती महिला कैदीले ६० दिनसम्म बिदा दिने व्यवस्थासहितको विधेयक तयार भएको छ ।