२०८१, ७ कार्तिक बुधबार

नेता पौडेलले भने, ‘राजतन्त्र कसैले चाहेर फर्किन सक्दैन’

सुर्खेत ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजतन्त्र कसैले चाहेर अब फर्किन नसक्ने बताएका छन्। विहिवार कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा नेपाल कांग्रेसको नीति तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै वरिष्ठ नेता पौडेलले यस्तो बताएका हुन् ।
नेता पौडेलले कोही कसैले पनी राजतन्त्र पुनःस्थापना गर्ने सपना नदेख्न चेतावनी दिएका छन् । उनले राजतन्त्र फर्केर आउँछ भन्नु पृथ्वी पल्टन्छ भन्नु उस्तै भएको दावी गरे । उनले राजतन्त्र फर्काउने सपना नेपालको लागि कोही कसैलाई पनि नदेख्न आग्रह गर्दै यस्तो सपना केवल दिवास्वप्ना र निन्द्रामा देखेको जस्तै पुरा नहुने सपना भएको बताए ।
“केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले आफ्नो दुईतिहाइ बहुमत संवैधानिक निकाय तर्साउने गरेको छ ।” एक फरक प्रसंगमा उनले भने, “नागरिक तथा प्रेसको मुख थुन्न सरकार लागि परेको छ ।” नेता पौडेलले कम्युनिष्टहरुले दुईतिहाइ बहुमतलाई उपयोग गर्न नसकेको आरोपसमेत लगाएका छन् । उनले संवैधानिक निकायलाई तर्साउने, प्रेसको मुख थुन्न खोज्न लगायतका नराम्रा काममा वर्तमान सरकारले दुई तिहाइको उपयोग गरेको आरोप लगाउँदै यस्तै खालको प्रवृतीको कारणले देशमा उकुसमुकुसको स्थिति आएको बताए ।

“हिजो जनताले कम्युनिष्टलाई मत दिएपनि अहिले उनीहरुले परिवर्तन खोजिरहेका छन् ।” उनले भने, अहिले कम्युनिष्ट पार्टीप्रति जनताको विश्वास कम हुँदै गएकाले कांग्रेसलाई सुधारेर जनताको भरोसायोग्य पार्टी बनाउन जरुरी रहेको छ ।”

नेता पौडेलले न्याय, निष्पक्ष र पारदर्शीताका आधारमा पार्टी चलाए पार्टीमा एकता हुने बताउँदै गुट उपगुटमा नलाग्न कार्यकर्तालाई सचृत गराए । “देउवा, पौडेल नभई कांग्रेस भनेर हिड्नुपर्याे ।” कार्यकर्तालाई संकेत गर्दै नेता पौडेलले भने ।
उनले पार्टीलाई के कारणले जनताले पत्याएनन् र किन पार्टी पछि पर्यौ भन्ने जवाफ आफैबाट खोज्नु पर्ने बताउँदै नेकपा सरकारप्रति जनता निराश रहेकाले जनतलाई निराश हुनबाट जोगाउने जिम्मेवारी कांग्रेसको काँधमा आएको उल्लेख गरे ।
कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले व्यक्तिको भन्दा पनि विचारको पछि लागेमात्रै गुटको अन्त्य हुने बताए । शुक्रबार पार्टी सभापति शेरबहादुर देउवाले समापन गर्ने प्रशिक्षणमा कांग्रेसको सांगठनिक संरचना, विधान, पार्टीका महत्वपूर्ण प्रस्ताव, आर्थिक आधार, वर्तमान सरकारको मूल्यांकन, जनतासंग संवाद र सम्पर्ककाबारे महाधिवेशन प्रतिनिधिलाई प्रशिक्षण दिइनेछ ।