रियो ओलम्पिकमा फिजीको ५२ वर्ष यताकै फराकिलो हार
२८ साउन । रियो ओलम्पिक अन्तर्गत पुरुष फुटबलको समूह चरणबाटै फिजी बाहिरिएको छ । समूह सी अन्तर्गत बुधबार राति भएको खेलमा जर्मनीसँग फिजीको १०–० को हार ओलम्पिकको इतिहासमा ५२ वर्ष यताकै फराकिलो हार हो ।
जर्मनीको जितमा निल्स पिटरसनले पाँच, म्याक्स मायरले तीन तथा सर्ज नाब्रेयले दुई गोल गरे । जर्मनी समूह सीको उपविजेता बन्दै क्वाटरफाइनलमा पुगेको छ ।
जर्मनीसँग फिजीको १०–० को हार ओलम्पिकको इतिहासमा ५२ वर्ष यताकै फराकिलो हार हो । यसअघि सन् १९६४ मा टोकियोमा भएको ओलम्पिकमा युनाइटेड अरब रिपब्लिकले दक्षिण कोरियालाई १०–० ले हराएको थियो ।
ओलम्पिकमा अहिलेसम्मकै फराकिलो जितको कीर्तिमान भने डेनमार्कको नाममा छ । डेनमार्कले सन् १९०८ को ओलम्पिकमा फ्रान्सलाई १७–१ ले हराएको थियो ।