टर्कीका राष्ट्रपतिले आफ्नो अपमान गरेको आरोपमा दायर भएका सबै मुद्दा फिर्ता लिने
१५ साउन, एजेन्सी।
टर्कीका राष्ट्रपति रिसेप तैयप एर्डोगानले आफ्नो अपमान गरेको आरोपमा दायर भएका सबै मुद्दा फिर्ता लिने बताएका छन । राष्ट्रपति एर्डोगानले राष्ट्रिय एकता बढाउन भन्दै आफ्नो अपमान गरेको आरोपमा दायर भएका मुद्दाबाट आरोपितलाई मुक्त गर्ने निर्णय गरेका हुन ।
जुलाई १५ मा भएको असफल सैनिक कु पछि प्रजातन्त्रको रक्षाका लागि नागरिकले देखाएको एकताबाट प्रभावित भएर राष्ट्रपति एर्डोगानले यस्तो निर्णय लिएको बताइएको छ ।
टर्कीमा झण्डै दुई हजार जना विरुद्ध राष्ट्रपतिको अपमान गरेको भन्दै मुद्दा दायर भएको छ । कार्यक्रममा एर्दोगानले अमेरिका र यूरोपीय सरकारहरुको पनि कडा आलोचना गरे । टर्कीको लोकतन्त्रको सट्टा सत्ता कब्जा गर्नेप्रति चिन्ता व्यक्त गर्नेहरु कहिल्यै टर्कीको मित्र हुन नसक्ने चेतावनी दिए ।
उनले एक अमेरिकी कमाण्डरले यस षडयन्त्रमा साथ दिएको आरोप पनि लगाए । अमेरिकाले भने एर्दोगानको यस आरोपको खण्डन गरेको छ ।