२०८१, ९ मंसिर आईतवार

मेडिकल कलेज स्थापना औपचारिकरुपमा सुरु, २ महिनाभित्र पूर्वाधार पहिचान गरिने

logoenayanepalसुर्खेत, साउन २७ । सुर्खेतमा लामो समयदेखि माग गरिएको मेडिकल कलेज स्थापनाले अब औपचारिकता पाएको छ । मेडिकल कलेज स्थापनाका लागि शिक्षा मन्त्रालयले प्रारम्भिक समिति निर्माण गरेसँगै यसको स्थापनाले औपचारिकता पाएको हो ।
यसअघिकै सरकारले प्रत्येक प्रदेशमा एउटा÷एउटा मेडिकल कलेज स्थापना गर्ने घोषणा गरेअनुसार सुर्खेतमा पनि यसले औपचारिकता पाएको छ ।

सरकारले बजेटमा घोषणा गरेअनुसार सुर्खेतमा प्रदेश नं. ६ का लागि मेडिकल स्थापना गर्ने काम औपचारिकरुपमा सुरु हुने भएको हो । सरकारले बजेटमा एक प्रदेश, एक मेडिकल कलेज स्थापना गर्ने घोषणासँगै पहिलो चरणमा बर्दिबास, बुटवल र सुर्खेतमा मेडिकल कलेज स्थापना कार्य प्रारम्भ गरिने बताएको थियो । सोही अनुसार अहिले सुर्खेतमा प्रारम्भिक चरणको काम सुरु हुन लागेको हो ।

यसअघिकै सरकारले निर्णय गरेअनुसार अहिले सुर्खेतका मेडिकल कलेज स्थापनाका लागि प्रारम्भिक समिति निर्माण भएको छ । सरकारले माओवादी केन्द्रका बुद्धिजिवी संगठनका केन्द्रीय उपाध्यक्ष जितबहादुर रानाको संयोजकत्वमा समिति गठन गरेको छ । रानालाई समितिमा नियुक्त गरिएको पत्र अहिले प्राप्त भएपनि यसअघिको सरकारका शिक्षामन्त्रि गिरिराजमणि पोख्रेलले नै समितिलाई नियुक्ति दिएको जनाइएको छ ।

२ महिनाका लागि मात्रै नियुक्त गरिएको यो प्रारम्भिक समितिलाई जिम्मेवारीसमेत तोकिएको छ । यो अवधिमा समितिले मेडिकल कलेजका लागि जग्गा तथा अन्य पूर्वाधारहरु पहिचान गरी भोगाधिकारका लागि सिफारिस गर्ने पहिलो काम गर्ने संयोजक रानाले बताए । यस्तै, समितिले अन्य मुख्य दुई वटा कामहरु गर्ने रानाको भनाइ छ । शिक्षा मन्त्रालयले पूर्वाधार पहिचान गरी सम्भाव्यताको अध्ययन गरेर विस्तृत अध्ययन प्रतिवेदन शिक्षा मन्त्रालयमा पठाउने र स्थानीय स्तरमा समन्वय गरी मेडिकल कलेजको पूर्वाधार विकासका लागि पहल गर्ने जिम्मा यो समितिलाई दिएको छ ।

यसैबीच, समय छोटो भएकोले प्रारम्भिक समितिले पनि कात तत्काल सुरु गर्ने जनाएको छ । समितिको बुधबार बसेको पहिलो बैठकले तीब्ररुपमा काम अगाडि बढाउने निर्णय गरेको छ । सोहीअनुसार पहिलो चरणमा शुक्रबार नै स्थानीय राजनीतिक दलहरु, अन्य सरोकारवाला कार्यालयहरु जिल्ला जनस्वास्थ्य कार्यालय, जिल्ला विकास समितिको कार्यालय, नगरपालिकाहरु, उपत्यका नगर विकास समिति, क्षेत्रीय अस्पताल विकास समिति, सामुदायिक वन उपभोक्ता समितिका प्रतिनिधिहरुसँग छलफल गर्ने भएको छ ।

सरोकारवालाहरुसँग छलफल गरेर बाँकी कामहरु अगाडि बढाइने संयोजक रानाले जानकारी दिए । “हाम्रो समय २ महिनाको मात्रै हो, हामीले यही आउने शुक्रबार स्थानीय राजनीतिक दलहरु र अन्य सरोकारवालाहरुसँग छलफल गरेर काम सुरु गर्छौँ ।” उनले भने, “औपचारिकरुपमा मेडिकल कलेजको स्थापनाको काम सुरु भइसक्यो अब, यसको सम्पूर्ण काम सकिएपछि शिक्षा मन्त्रालयमा प्रतिवेदन बुझाउने हो ।”

प्रारम्भिक समितिमा संयोजकमा जितबहादुर राना र सदस्यहरुमा नगरपालिकाका प्रमुख, अधिवक्ता कृष्णबहादुर हमाल र सदस्य सचिवमा सुर्खेतका जिल्ला शिक्षा अधिकारी रहेका छन् ।