दुर्गम क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच बृद्धि गर
समयमै उचित उपचारको अभावमा अकालमा मृत्यु बरण गर्नुपर्ने बाध्यतामा रहेका दुर्गम ठाउँका बासिन्दाले सहज र सुलभ रुपमा गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न पाउनु पर्छ भन्नेमा दुईमत नरहे पनि अहिले पनि ती विकट तथा दुर्गम गाउँवस्तीमा स्वास्थ्य सेवा पुर्याउनेतर्फ ध्यान गएको देखिदैन । प्रदेश तथा संघीय सरकारको बजेटमा अझ पनि अपेक्षाकृत रुपमा बढी सुविधा भएका स्थानमा नै स्वास्थ्यका लागि लगानी गरिएको पाइन्छ । कर्णाली प्रदेशका हुम्ला, मुगु, डोल्पा, कालीकोट, दैलेख, सल्यान, जाजरकोट र रुकुमपश्चिमलगायतका पहाडी जिल्लाका विकट गाउवस्तीमा कुनै पनि कारणले गम्भीर घाइते हुदा होस् वा प्रसवका वेला जटिलता बृद्धि हुदाँ होस् समयमै उपचार नपाएर मृत्यु भएका घटना दोहोरिने क्रम रोकिएको छैन । प्रत्येक जिल्लामा सरकारी जिल्ला अस्पताल छन् । स्वास्थ्य चौकीहरू छन् । तर, ती जिल्ला अस्पतालमा कस्तो खालको स्वास्थ्य सेवा उपलब्ध छ भन्ने दोहो¥याइरहनु पर्दैन । न त प्रदेश वा संघीय सरकारले पनि अपेक्षाकृत विकट जिल्ला तथा पालिकाका अस्पताल वा स्वास्थ्य चौकीको स्तरोन्नतीका लागि खासै ध्यान दिएको पाइदैन ।
कैलाली, कञ्चनपुर जस्ता तुलनात्मक रुपमा सुविधासम्पन्न जिल्लामा सरकारी स्तरबाट मात्रै होइन, निजी क्षेत्रबाट पनि स्वास्थ्यको क्षेत्रमा लगानी बृद्धि भइरहेको तथ्यहरुले देखाउछ । अझ कतिपय पालिकामा त प्रदेश तथा संघीय सरकार दुवैको स्वास्थ्य भवन आदि निर्माणमा लगानी रहेको पनि देखिन्छ । जनसंख्या, भूगोल तथा जनताको आवश्यकताका आधारमा भन्दा पनि बढी सुविधा भएका ठाउँमा लगानी गर्नु सजिलो ठानिन्छ । यसले गर्दा गुणस्तरीय स्वास्थ्य सेवाका सबैको समान पहु“च फगत नारा वा गफ मात्रै बनेको छ । अझैं पनि दुर्गम गाउँवस्तीमा आधारभूत स्वास्थ्य सेवा नपाएर बिरामीले छटपटाउनु पर्ने अवस्था छ । दुर्गम गाउवस्तीका जनताले विशेषज्ञ सहितको स्वास्थ्य सेवा पाउने त कल्पना समेत गर्न सकेका छैनन्, अझैं पनि ।