२०८१, २४ चैत्र सोमबार

लोप हुँदै लोक बाजा

सुर्खेत : कुनै समय थियो, हरेक चाडपर्व र उत्सवमा पन्चेबाजा बज्थ्यो, हुड्के नाच नाचिन्थ्यो । पछिल्ला केही वर्षयता न पन्चेबाजा बज्छ न हुड्के नाच नाचिन्छ । आधुनिकतासँगै मनोरञ्जनका लागि अन्य साधनको प्रयोग बढ्दा ती मौलिकता खुम्चिँदै गएका छन् । विशेषगरी कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा नाचिने हुड्के र घन्किने पन्चे बाजा अहिले विरलै देख्न–सुन्न पाइन्छ ।
नयाँ पुस्तामा पन्चेबाजाप्रति रूचि हराउँदै गएको छ । परम्परागत बाजा बजाउनेहरू व्यावसायिक बन्न नसक्दा बाजा नै लोप हुने अवस्था बनेको छ । केही समयअघिसम्म पन्चेबाजा र हुड्केनाच भन्नेबित्तिकै बालबालिकादेखि वृद्धवृद्धा सबै हुरुक्कै हुन्थे ।बढ्दो आधुनिकताले पन्चेबाजा र हुड्केनाच ओझेलमा परेका छन् ।
कर्णालीमा हुने विवाह, व्रतबन्धलगायत विभिन्न चाडबाड, जात्रा–उत्सव, मेला–महोत्सव, सभा–समारोहमा पन्चेबाजा बजेकै हुन्थ्यो, हुड्केनाचले माहोललाई रौनकमय बनाइदिन्थ्यो । तर यी बाजा र नाचको पुस्तान्तरण नहुँदा लोप भएर एकादेशका कथा बन्ने संकेत देखिएको छ । पछिल्लो समय परम्परा संरक्षणका नाममा जागरण बढ्दै गर्दा पन्चेबाजासँगै हुड्के नाचको माग बढिरहेको छ । तर पुराना पुस्ताबाट नयाँमा बजाउने र नाच्ने सीप हस्तान्तरण नहुन नसकेकाले माग पूर्ति हुन सक्ने सम्भावना न्यून बनेको छ ।
पन्चे बाजामा दमाहा, झ्याली, ट्याम्को, ढोलक र सहनाइ पर्छन् । यी बाजा मनोरञ्जनका लागि मात्र बजाइन्नन्, यिनमा बेग्लै धार्मिक एवं सांस्कृतिक महत्व पनि जोडिएको छ ।यी बाजा मौलिक नेपाली संस्कृतिलाई झल्काउने धरोहरसमेत हुन् । पहिले यी बाजा दैनिक जीवनसँग जोडिएका थिए । मानिसहरू बेलुकापख पन्चे बाजाको तालमा हुड्के नाचेर दिनभरिको थकान बिर्सन्थे ।विवाह–व्रतबन्धमा बज्ने पन्चेबाजा र नाचिने हुड्के हेर्ने भन्दै चारैतिरका मानिसहरू झुम्मिन्थे ।उबेलाको त्यस्तो उल्लास र उमंग वातावरण अहिले शिथिल बनेको छ ।
केही वर्षयता नयाँ पुस्ताले चासो नदिएपछि पन्चेबाजा बज्न र हुड्केनाच सुनिन छाडेको अग्रजहरू बताउँछन् । अहिले अधिकांश गाउँघरमा युवा छैनन् । सबैजसो रोजगारीका लागि ठुला सहर र विदेशतिर छन् । पछिल्ला वर्षहरूमा बिहेको शैली पनि फेरिएको छ । पन्चेबाजा र हुड्केनाचलाई पुरानो संस्कृति मानेर हेर्न थालिएको छ । सुर्खेत चौकुने गाउँपालिका–३ का नमराज नेपाली पन्चेबाजाको संरक्षण हुन नसकेकोमा चिन्ता व्यक्त गर्छन् । ‘आधुनिक प्रविधि भित्रिएसँगै गाउँमा पन्चेबाजा बजाउनै छाडियो,’उनी भन्छन्,‘अहिले गाउँमा न पन्चेबाजा बज्छ न हुड्केनाच भेटिन्छ ।बजाउनेहरू नै छैनन् ।’ पन्चेबाजा बजाउने समुदायले पछिल्लो समय आधुनिक बाजा बजाउने तथा अन्य पेसा अँगाल्ने गरेका छन् ।
नेपाली लोकसंस्कृति झल्किने कर्णाली प्रदेशको ख्यातिप्राप्त नौमती बाजा पनि लोप हुँदै गएको छ । परम्परागत बाजा बजाउनेको पेसालाई संरक्षण गर्न नसकिनु तथा उचित ज्यालाको व्यवस्था नहुनुले अहिले यी बाजा लोप हुने अवस्थामा छन् । दैनिक आम्दानीको स्रोत बन्न नसक्दा बाजा बजाउने पेसाप्रति युवाहरूको आकर्षण छैन । पन्चेबाजा र हुड्केनाचलाई निरन्तर आम्दानीको पेसा बनाउन सके संरक्षण गर्न सकिने सरोकारवालाहरू बताउँछन् । मौलिक बाजा बजाएर जीविकोपार्जन गर्न मुस्किल भएको बाजाकर्मीहरू बताउँछन् । मौलिक तथा पुराना बाजाको संरक्षणमा स्थानीय सरकारले पनि चासो दिएको पाइँदैन ।