विद्यार्थीलाई बोझमात्रै थप्ने काम
सामुदायिक विद्यालयमा भन्दा संस्थागत विद्यालयमा बालबालिकाको पठनपाठनलाई स्वैच्छिक नभई बाध्यकारी बनाउने प्रचलन बढी देखिन्छ । यस्ता विद्यालयबाट एकातिर किताब–कापीको भारीले थिचाइएका छन् भने अर्कातर्फ गृहकार्यको बोझ पनि तिनकै थाप्लोमा थोपरिएको छ । हाम्रो अधिकांश अभिभावकको चाहना पनि त्यही छ कि जति भारी किताब–कापी बोकायो र जति धेरै गृहकार्य दियो उति आफ्ना नानीबाबुहरुले राम्रो गरी बुझ्छन् । यस्ता विद्यालय र अभिभावक दुवैले आवश्यकभन्दा बढी बोझ बालबालिकाले थेग्न सक्दैनन् भन्ने कुरा महसुस गर्दैनन् । बालबालिकामा भारी बोकाएको बोझले तिनको मानसिकतामा पर्ने नकारात्मक असर कस्तो होला ? बालबालिकाको क्षमता विकसित गराउन कस्तो शिक्षण विधि चाहिन्छ ? कुन–कुन सिकाइ उपलब्धि हासिल गराउन शिक्षकले के–के गर्ने ? बालबालिकाको रुचिअनुसारको स्वस्फुर्त वातावरण बनाउने खालका क्रियाकलाप हुनु जरुरी छ ।
विद्यार्थीको जीवन सफल बनाउन जीवनोपयोगी शिक्षा चाहिन्छ, जसबाट उसले आफ्नो जीवन र जगत्लाई बुझ्न सक्ने बनोस् । तर हाम्रो शिक्षा व्यवस्थामा सैद्धान्तिक पढाइ मात्र हुने हुँदा बालबालिकामा जीवनका लागि आवश्यक व्यवहार र आत्मनिर्भरप्रतिको दृष्टिकोणमा समेत फरक सोच देखिन्छ । उन्नत देशका बालबालिकाको सिकाइमा आत्मनिर्भर कसरी बन्न सक्छ, त्यसतर्फ नै जोड दिएको पाइन्छ । बालबालिकाको उमेरअनुसार स–साना काम गर्न सिकाइन्छ । त्यहाँ सैद्धान्तिक किताबी ज्ञानभन्दा व्यावहारिक सीप र तदनुरुप प्रयोग गर्न सिकाइन्छ । हाम्रा जस्तो किताबको भारी बोकाउने र गृहकार्यको बोझले थिचाउने काम त्यहाँ हुँदैन । बालबालिकालाई व्यावहारिक र स्वावलम्बी बनाउने शिक्षा नै आजको आवश्यकता हो । निश्चित उमेरपछि हरेक बालबालिका आफ्नो खुट्टामा उभिने अनि बाबुआमाको सम्पत्ति र भरथेग नखोज्ने खालको मनोभावनाको विकास प्रारम्भिक शिक्षादेखि नै गराई आत्मनिर्भरको सीप र प्रयोग सिकाइनु जरुरी छ ।