२०७९, २२ माघ आईतवार

मदिरा नियन्त्रणमा ध्यान दिउँ

हाम्रो जस्तो विकासोन्मुख देशमा मृत्युदर उच्च हुनुको प्रमुख कारणमध्ये मदिरा सेवन पनि एक हो । यसले समाजका साथै घरपरिवारमा नकारात्मक असर परेको छ । घरझगडा, सम्बन्ध विच्छेद, व्यभिचार, दुर्घटना, सामाजिक अपराध र भ्रष्टाचार बढ्दै गएको छ । घरेलु हिंसाको प्रमुख कारण यो पनि भएको छ । यसको बढ्दो र खुल्ला प्रयोगले घरपरिवारलगायत समग्र समाज आक्रान्त बन्दै गएको छ । धूमपान, सुर्तीसेवन तथा लागूपदार्थको दुव्र्यसनसँगै रक्सी उत्पादन, उपभोग र बिक्री वितरणले समाजलाई नजानिदो पाराले असभ्यता र अधोगतितर्फ धकेलिरहेको छ ।
अब ढिलो नगरीकन रक्सीलगायतका चुरोट र खैनी उद्योगलाई निरुत्साहित गर्नै पर्छ । यसको विज्ञापनमा पूर्णरुपले रोक लगाइनुका साथै व्यवहारिक रुपमै नाबालकलाई रक्सी, चुरोट र खैनीको बिक्री वितरण र सेवनमा रोक लगाउनै पर्छ । देशभरि नै मा.प.से. जाँचलाई सशक्त र व्यवस्थित गरिनुपर्छ । यससँग सम्बन्धित कानुनलाई प्रभावकारी र कडाइका साथ कार्यान्वयन गरिनुपर्छ ।
स्मरण रहोस्, भारतको विहार राज्यमा मदिरा निषेध गर्नुका साथै विहारलाई मदिरा र नशामुक्त राज्य घोषणा गरिएको छ । यो भारतको मदिरामुक्त चौथो राज्य बन्न पुगेको छ । त्यसको सकारात्मक प्रभाव त्यहाँको सामाजिक र सांस्कृतिक क्षेत्रमा देखा पर्न थालिसकेको छ ।