२०८१, १४ बैशाख शुक्रबार

कुन निर्वाचन क्षेत्रमा कसको जित ?

जुम्लाबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञान बहादुर शाही (ज्ञानेन्द्र)ले विजयी हात पार्दा त्यहाँ माओवादीबाट उम्मेदवार बनेकी गोमा गौतम कुँवर पराजित बनिन् । गठबन्धनभित्र र स्वयम् माओवादी भित्रको आन्तरिक द्धन्द्धका कारण गोमा पराजित भएकी हुन् ।
गोमा १० हजार ८६० मतान्तरले शाहीबाट पराजित भएकी हुन् । उनी २२ हजार ८ सय १९ मतसहित विजयी हुँदा कुँवरले ११ हजार ९ सय ५९ मत पाइन् । खासमा माओवादीको प्रतिस्पर्धी मानिएको एमालेका रतन नाथ योगी ६ हजार ५२८, नेमकिपाका डिल्लीप्रसाद काफ्लेले ९५५ मत पाएका छन् ।
सल्यानमा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका समाजवादीका उपमहासचिव प्रकाश ज्वाला बहुमतसहित विजयी भए । यहाँ एमाले र समाजवादीबीच प्रतिस्पर्धा हुने आकलन गरिएपनि ज्वाला विरुद्ध उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार राजेन्द्रबहादुर शाहसँग प्रतिस्पर्धा भयो ।
तर शाहलाई पनि ज्वालाले १५ हजार ९११ मतान्तरले पराजित गरे ।१ लाख ५७ हजार ७०१ मतदाता संख्या रहेको यस जिल्लामा ८४ हजार २२ मत खसेको थियो । ज्वालाको पक्षमा ३५ हजार ७०० मत आएको छ । स्वतन्त्र उम्मेदवार शाहको पक्षमा १९ हजार ७८९ मत छ । विशेष गरी ज्वालाको प्रमुख प्रतिस्पर्धी मानिएका एमालेका राजेन्द्रवीर रायले १३ हजार २९ मत प्राप्त गरे ।
ज्वालाले योसहित पाँच पटक संसदीय चुनावमा भाग लिएका छन् । जसमा ०५६, ०७९ र ०७४ मा सफल भए भने ०५१ सालमा असफल भएका थिए ।दैलेख क्षेत्र नम्बर १ मा समाजवादीका प्रदेश अध्यक्ष अम्मरबहादुर थापाले आफ्ना पुर्व सहकर्मी एमालेका जिल्ला अध्यक्ष रवीन्द्रराज शर्मालाई पराजित गरे ।
थापा १८ हजार २५६ मतसहित विजयी भएका हुन्। एमालेका उम्मेदवार शर्माले १७ हजार ४०७ मत पाएका छन् । थापाले ८४९ मतको फराकिलो अन्तरले जित हासिल गरेका छन् । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेदवार कुन्ती कुमारी शाहीले ४ हजार ६०२ मत प्राप्त गरेकी छन् ।
विजयी थापा यसअघि ०६४, ०७० र ०७४ को संसदीय निर्वाचन भाग लिइसकेका छन् । जसमा ०६४ मा पराजित भए भने दुई वटा संसदीय निर्वाचनमा उनी सफल भए । ०७४ मा उनी दैलेख १ (ख) बाट प्रदेश सभामा चुनाव जितेका थिए। थापालाई सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) को साथ थियो । जसका कारण निकै कमजोर सांगठनिक अवस्था रहेको दलका नेता थापा विजयी भए । क्षेत्र नम्बर २ मा गठबन्धनको बलमा कांग्रेसले २३ वर्षपछि निर्वाचन जितेको छ। यहाँ प्रतिनिधि सभामा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार दिक्पाल कुमार शाही १५३ मतान्तरसहित विजयी भएका छन् ।
उनले २० हजार १५८ मत ल्याउँदा एमालेका लक्ष्मीप्रसाद पोख्रेलले २० हजार ५ मत ल्याए । यो क्षेत्र एमालेको गढ हो ।
पोखरेल ०७० मा संविधान सभा सदस्य बनेका थिए । विजयी शाही ०७४ मा २ (ख) मा एमालेका राजबहादुर शाहीसँग पराजित भएका थिए । ०७४ मा प्रदेशमा पराजित शाहीले यो पटक गठबन्धनको बलमा चुनाव जिते ।
०७४ मा शुन्य भएको कांग्रेसले यो पटक गठबन्धनको बलमा पराजयको बदला लिएको छ । ०७४ मा नेकपा माओवादीको साथ पाएको एमालेले तीन वटै क्षेत्रमा आफ्नो वर्चश्व कायम गरेको थियो ।
०४८ सालमा कांग्रेसले जित्दा ०५१ को मध्यावधि चुनाव नेमकिपाले जितेको थियो । त्यो बेला एमालेको सांगठनिक अवस्था अहिलेका साना दलहरुकै अवस्थामा थियो । ०५१ मा नेमकिपाले जित्दा ०५६ मा पुनः कांग्रेसले चुनाव जितेको थियो । त्यस यता कांग्रेसले चुनाव जितेको थिएन ।
सुर्खेतमा कांग्रेसले ०७४ मा एमालेसँगको पराजयको बदला लिएको छ । गठबन्धनको बलमा दुईवटै क्षेत्रमा कांग्रेसका उम्मेदवारले चुनाव जितेको छ । क्षेत्र नम्बर १ मा कांग्रेस उपसभापति पुर्णबहादुर खड्काले ०७४ मा आफूलाई पराजित गरेका शाहीलाई नै पराजित गर्दै निर्वाचित भए । एमालेका धुर्व कुमार शाहीलाई ११ हजार ६१९ मतान्तरले खड्काले पराजित गरेका हुन् । खड्का ४२ हजार ६०७ मतसहित निर्वाचित हुँदा एमालेका शाहीले ३० हजार ९८८ मत प्राप्त गरे ।
०७४ मा ३६ हजार ७५९ मत ल्याएर शाही विजयी हुँदा खड्काले ३३ हजार ३७७ मत प्राप्त गरेका थिए। पाँच वर्ष अघि ३ हजार ३८२ मतले पराजित भएका खड्काले यो पटक त्यसको बदला लिएका हुन् । त्यसअघि सोही क्षेत्रबाट २०४८, ०५१, २०५६ मा जितेर खड्काले ह्याट्रिक गरेका थिए । तर २०६४ सालको संविधानसभा निर्वाचनमा भने लालबहादुर घले संविधान सभा निर्वाचनमा प्रतिस्पर्धामा उत्रिए । तर घलेले त्यो बेला नेकपा एमालेकी कमला शर्मासँग पराजित भए। खड्का भने समानुपातिक सांसद बनेका हुन् । २०७० सालको संविधानसभा निर्वाचनमा खड्काले कमब्याक गरे ।
खड्काले गृहमन्त्री, गृहमन्त्री, सूचना तथा सञ्चार मन्त्री गरी पटक–पटक गरी आधा दर्जन मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन् । उनले मन्त्री नबन्ने घोषणा समेत गरिसकेका छन् । त्यो भएकाले कांग्रेसभित्र उनलाई प्रधानमन्त्रीको दाबेदारको रुपमा समेत हेरिएको छ ।
यता २ मा पनि कांग्रेसका हृदयराम थानी विजयी भएका छन् । कुल खसेको ७६ हजार ३५२ मतमध्ये थानीको पक्षमा ३४ हजार ६२५ आएको छ । उनले नेकपा एमालेका जिल्ला अध्यक्ष अमृत कुमार विसीलाई ५ हजार ६७ मतान्तरले पराजित गरे । विसीले २९ हजार ५५८ मत प्राप्त गरे। थानीले योसँगै तीन पटक संसदीय निर्वाचन जिते । ०७४ मा नेकपा एमालेसँगको हारको बदला यो यो पटक थानीले गठबन्धनको बलमा लिए । थानी यसअघि ०५६ र ०७० सालका यही क्षेत्रबाट निर्वाचित भएका थिए भने सहकारी तथा गरिवी निवारण मन्त्री भइसकेका नेता हुन् ।
रुकुम पश्चिममा भने माओवादीले पुनः आफ्नो वर्चश्व कायम गरेको छ । सरकारका अर्थमन्त्री एवं माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ २६ हजार ५८८ मतान्तरसहित नेकपा एमालेका नन्दराम देवकोटालाई पराजित गर्दै निर्वाचित भएका छन् । सम्भवतः कर्णालीमा सबैभन्दा धेरै मतान्तरले चुनाव जित्नेमा शर्मा नै हुन् । यहाँ ६० हजार ५६२ मत खसेको थियो। शर्माको पक्षमा ३९ हजार ५४९ मत आएको छ भनएमालेका देवकोटाको पक्षमा १२ हजार ९६१ मत छ । शर्मा विरुद्ध उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार तारक केसीले ३ हजार ५६७ मत पाए । राष्ट्रिय प्रजातन्त्र पार्टीका दिपक कुमार मल्लले ७९६ पाएका छन् । शर्माको यो चौथो जित हो । यसअघि ०६४, ०७०, ०७४ मा पनि भारी मतान्तरसहित निर्वाचित भएका थिए ।
हिमाली जिल्ला डोल्पामा धनबहादुर बुढा पुनः प्रतिनिधिसभामा निर्वाचित भएका छन् । गठबन्धनको सहयोगमा उम्मेदवार बनेका समाजवादीका नेता बुढाले आफ्ना प्रतिस्पर्धी एमालेका गणेशबहादुर शाहीलाई ५ हजार ७२७ मतान्तरले पराजित गरेका हुन् । बुढा ११ हजार २२५ मतसहित निर्वाचित हुँदा एमालेका शाहीको पक्षमा ५ हजार ४९८ मत आएको छ । यस्तै राप्रपाका अंगतकुमार बुढाले ६६१ मत प्राप्त गरे । बुढाले यो पटकसहित तीन पटक संसदीय निर्वाचनमा जितको ‘ह्याट्रिक’ पार गरेका छन् । उनी ०७० को दोस्रो संविधानसभा निर्वाचनमा एमालेबाट बहुमतले निर्वाचित भएका थिए भने ०७४ मै नेकपा एमालेबाट ८१ प्रतिशत मतसहित विजयी भएका थिए ।
यता माओवादीका उपमहासचिव शक्ति बहादुर बस्नेले एमालेका निरजप्रसाद आचार्यलाई ९ हजार ३१ मतान्तरले पराजित गर्दै ‘ह्याट्रिक’ पार गरे । स्नेत ३४ हजार १५१ मत पाउँदा आचार्यले २५ हजार १२० मत पाए । बस्नेतले यसअघि ०७० र ०७४ मा संसदीय चुनाव जितेका थिए ।
कालीकोटमा प्रतिनीधिसभामा माओवादी केन्द्रका महेन्द्रबहादुर विजयी भएका छन् । जिल्ला मुख्य निर्वाचन कार्यालयले घोषणा गर्न बाँकी रहेको छ । माओवादी केन्द्रका शाही झण्डै एमालेका नगेन्द्र शाही (नेशनल) भन्दा ६ हजार मतान्तरले विजयी भएका हुन् ।
कालीकोटमा खसेको कुल ४६ हजार ६ सय ६९ मतमध्ये माओवादी केन्द्रका उम्मेदवार शाहीले २३ हजार ८७ मत ल्याएर विजयी भएका हुन् । उनका निकटम् प्रतिद्धन्द्धी एमाले नगेन्द्र शाहीले १६ हजार २३० मत ल्याएको मुख्य निर्वाचन अधिकृतको कार्यालय जनाएको छ ।
त्यस्तै राप्रपाका धनबहादुर बुढाले एक हजार ५६३, नेमकिपाका खड्गराज शाहीले एक हजार ८९, नेपाली कांग्रेस विपीका पंखबहादुर बिष्टले १४०, स्वतन्त्रका काशीचन्द्र बरालले ८९३ र स्वतन्त्रका धनप्रसाद पाण्डेले ७९ मत ल्याएका छन् ।
खसेका मध्ये दुई हजार ४१ मत बदर भएका छन् ।