२०७९, १७ मंसिर शनिबार

स्थानीय तहले ख्याल गर्नु पर्ने काम

पालिकाहरूलाई स्थानीय यातायात व्यवस्थापनको जिम्मेवारी प्रदान गरेको भए पनि अहिले त्यस विषयमा उनीहरूले कुनै पनि काम गरेका छैनन् । यातायात व्यवस्थापनमा अनेकौँ कठिनाइ हुँदा पनि पालिकाहरूले जिम्मेवारी महसुस गरेको पाइँदैन । कुनै पनि पालिकाहरूले यातायात व्यवस्थापनका लागि काम गरेको देखिँदैन । संघीयताले यस विषयमा पालिकाहरूलाई थप जिम्मेवार र अधिकारसम्पन्न बनाएको भए पनि उनीहरूले काम भने गर्न सकेका छैनन् । जनप्रतिनिधिहरूले ऐनको मसिनो गरी अध्ययन नगरेको पाइएको छ । अधिकार पाएर पनि त्यसलाई कार्यान्वय गर्न नसक्नु ठूलो भ्रष्टाचार नै हो । जनप्रतिनिधिको ध्यान सस्तो लोकप्रियतातर्फ मात्रै केन्द्रित हुँदा महत्त्वपूर्ण कामहरू छुटेका हुन् । ऐनले आवश्यकताका आधारमा अधिकार प्रत्यायोजन गरेको हुन्छ तर त्यसलाई बेवास्ता गर्दा जनतालाई धेरै क्षति भएको हुन्छ ।
स्थानीय तथ्यांक संकलन र व्यवस्थापन गर्ने जिम्मेवारी पनि स्थानीय पालिकाको भए पनि राष्ट्रिय तथ्यांकलाई नै आधार मानेर हरेक पालिकाले काम चलाइरहेका छन् । आफैँले संकलन गरेको आवश्यक तथ्यांकसमेत अहिले कुनै पनि पालिकासँग छैन । तथ्यांकबिना कुनै पनि काम गर्न सकिन्न तर पालिकाहरूले तथ्यांक संकलनलाई बेवास्ता गरेर काम अगाडि बढाइरहेका छन् । कुनै पनि ठाउँको भाषा, संस्कृति र ललितकला त्यस ठाउँको पहिचानका रूपमा रहेको हुन्छ । पालिकाहरूले आफ्नै खालको मौलिक पहिचान दिने कुनै पनि फरक काम गर्न सकेका छैनन् । भाषाको संरक्षणका लागि कुनै पनि पालिकाबाट व्यवस्थित काम हुन सकेको छैन । संस्कृतिकर्मी अशोक थारूका अनुसार हरेक पालिकाले भाषा, कला र संस्कृतिसम्बन्धी कार्य एकीकृत ढंगले सञ्चालन गर्नका लागि एकेडेमी बनाउनेतर्फ ध्यान दिएका छैनन् ।
नेपालको संविधानको अनुसूची ८ मा स्थानीय सरकारका एकल अधिकार र अनूसूची ९ मा साझा अधिकारका बारेमा व्यवस्था छ । स्थानीय सरकार सञ्चालनका लागि बनेको ऐनको दफा ११ अनुसार पनि व्यवस्था गरेका कैयौँ अधिकारहरूका बारेमा जनप्रतिनिधिहरूले हेक्का राखेको पाइएन ।