उपल्लो डोल्पामा चुनावका लागि खटिएका १३५ कर्मचारी अलपत्र
सुर्खेत : निर्वाचनका लागि उपल्लो डोल्पा खटिएका कर्मचारी अलपत्र परेका छन् । शे–फोक्सुण्डो, छार्काताङ्साङ र डोल्पोबुद्धमा पर्ने २२ मध्ये १२ मतदान केन्द्रका १३५ कर्मचारी अलपत्र परेका हुन् ।
डोल्पाका प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीले निर्वाचन सकिए पनि उपल्लो डोल्पामै रहेका कर्मचारीलाई हेलिकोप्टरमार्फत् सदरमुकाम ल्याउने तयारी भएको बताए । बुधबार बिहान मात्र उपल्लो डोल्पाबाट मतपेटिका र १० कर्मचारीलाई हेलिकोप्टरमार्फत् सदरमुकाम ल्याइएको थियो । यसअघि कर्मचारी हेलिकोप्टरमार्फत् नै उपल्लो डोल्पा पुगेका थिए ।
शे–फोक्सुण्डो गाउँपालिका–१ को वासस्थित सहिद दशरथचन्द आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा खटिएका कर्मचारी कमल बोहराले चिसोका कारण पाँच कर्मचारी बिरामी परेको बताए । उनीहरूमा टाउको दुख्ने, वाकवाकी लाग्ने र सास फेर्न गाह्रो भएको बोहराले बताए। उपल्लो डोल्पामा हिमपातसँगै चिसो बढ्दै गएको छ ।