२०७९, १७ मंसिर शनिबार

उपल्लो डोल्पाको स्वास्थ्य सेवा : आम्ची र भगवान् भरोसा

सुर्खेत : उपल्लो डोल्पाको स्वास्थ्य सेवा आम्चीकै भरमा चल्दै आएको छ। तीनवटा पालिकामा कार्यरत स्वास्थ्यकर्मीले नियमित सेवा नदिने भएकाले आम्चीको भरमा यहाँ उपचार हुँदै आएको छ।

शे फोक्सुण्डो गाउँपालिकाले आम्चीको सेवा प्रवाह सम्बन्धी कार्यविधि कार्यपालिकाको बैठकबाट पास गरेको प्रमुख प्रशासकीय अधिकृत केशवराज शर्माले जानकारी दिए। शे फोक्सुण्डोमा तीनवटा संस्था रहेका छन्। १ देखि ४ नं वडाका बासिन्दालाई सालदाङ‚ ५, ६, ७ वडा नंका लागि भिजेर र ८ र ९ नम्बर वडाका लागि फोक्सुण्डोमा स्वास्थ्यचौकी रहेका छन्।

सालदाङमा मात्र अहिले एकजना स्थानीय स्वास्थ्यकर्मी छन् भने अन्य ठाउँमा हिमपातका कारण जान कठिन छ।

सबै वडामा आम्चीले स्थानीय जडीबुटीद्वारा उपचार गरेर बिरामी तथा सुत्केरी सेवा दिने गरेको सस्थ्यकर्मी निमा धार्गे गुरुङले बताइन्। स्वास्थ्यकर्मीहरूले दिएको सेवा समेत यहाँका स्थानीय बासिन्दालाई नपरेको र आम्चीकै भरमा सबै खालका उपचार गर्दै आएको गुरुङले बताइन्। दुनैबाट औषधि लिन समेत मुस्किल हुँदै गएको छ। प्रतिकिलोको रु १२० रुपैयाँमा भाडा लाग्ने गरेको गुरुङले बताइन्।

एक गाउँबाट अर्को गाउँमा जानका लागि हिउँले अब केही दिनभित्र जान नसक्ने अवस्था हुने भएकाले सेवा दिन समेत हैरानी भएको उनको भनाइ छ। खोप सेवा समेत कात्तिकदेखि चैतसम्म बन्द हुने गर्दछ।

​त्यस्तै डोल्पोबुद्ध गाउँपालिकामा दुईवटा स्वास्थ्य संस्था रहेका छन्। १, २ र ३ वडाका लागि धोमा रहेको छ । वडा नम्बर ४, ५ र ६ का लागि तिन्जेमा रहेको छ। आफ्नै भवन नहुँदा भाडामा चलाउनु परेको गाउँपालिकाका उपाध्यक्ष पेम्मा धोर्चे गुरुङले बताए। अहिले कुनै पनि स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी नभएको उनले गुनासो गरे।

गाउँपालिकामा कर्मचारी आउनै नमान्ने गरेको उनको दुखेको छ। सरकारले सुत्केरी भत्ता दिए पनि यहाँका सबै गर्भवती घरमै सुत्केरी हुने भएकाले भत्ता नपाउने गरेको उनले बताए। आम्चीको भरमा घरमै सुत्केरी हुने परम्पराका कारण स्वास्थ्य संस्थाको विश्वास नरहेको स्वास्थ्यकर्मीको भनाइ छ।

त्यस्तै छार्काताङसुङ गाउँपालिकामा दुईवटा स्वास्थ्य संस्था रहेका छन्। १, २ र ३ का लागि छार्कामा र ४, ५ र ६ को मुकोटमा रहेको स्वास्थ्यसंस्थाले सेवा दिने गर्छन्। त्यहाँ अहिले कुनै पनि स्वास्थ्यकर्मी नभएको पाइएको छ। मुकोट स्वास्थ्य संस्थाका प्रमुख ज्ञानेन्द्रबहादुर शाही जुफाल घरमा रहेका छन्। तिहारमा घरमा आएका उनी चैतमा मात्र फर्कने सोचमा रहेको बताए। हिमपात छ कसरी जानु? उनले प्रश्न गरे।

कात्तिकदेखि नै खोप सेवा बन्द भएको उनले बताए। मुकोटमा रहेको स्वास्थ्य संस्थामा प्रहरी, बैंक समेत बसेको उनले बताए। गाउँपालिका भरी अघिल्लो वर्ष एकजनाले मात्र सुत्केरी सेवा लिएको शाहीले बताए। सबै यहाँका गर्भवतीहरू आम्चीको सहयोगमा घरमै हुने सुत्केरी हुने गरेका कारण सुत्केरी भत्ता समेत नपाउने गरेका छन्। नियमित गर्भ जाँच कसैले पनि स्वास्थ्य संस्थामा आएर नगर्ने तर घरमै बसेर जोखिम मोलिरहेको स्वास्थ्यकर्मीको भनाइ छ।

उता आम्चीहरूले स्वास्थ्यकर्मीसँग भाषा नमिल्ने भएकाले काम गर्न समस्या हुने गरेको बताएका छन्। आफूहरू स्थानीय भाषा मात्र बोल्ने भएकाले स्वास्थ्यकर्मीहरू नेपाली भाषा बोल्ने भएकाले आफूहरू त्यो नजान्ने भएकाले समस्या भएको उनीहरूको भनाइ रहेको छ। एक गाउँमा एक आम्ची हुने गरेको उनले बता​ए।

उपल्लो डोल्पाको तीनवटा पालिकामा स्वास्थ्य संस्थामा आएर नियमित गर्भ जाँच्नदेखि सुत्केरी हुने संख्या शून्य रहेको छ।

ठूलिभेरी नगरपालिका, त्रिपुरासुन्दरी नगरपालिका, मुड्केचुला गाउँपालिका, काइके गाउँपालिका र जगदुल्ला गाउँपालिकामा थोरैले सुत्केरी सेवा लिने गरेका छन्। एक वडाबाट अर्को वडामा जानका लागि दिनभरि लाग्ने भएकाले र सडकको पहुँच नभएका कारण पनि यहाँका महिलाहरू सुरक्षित सुत्केरी सेवा लिन नपाएका हुन्।

ठुलिभेरी नगरपालिका, त्रिपुरासुन्दरी नगरपालिका सदरमुकाम दुनैसँग जोडिएका स्थानीय तह हुन्। मुड्केचुला जाजरकोटको नलगाड नगरपालिकासँग जोडिएको छ। जगदुल्ला गाउँपालिका जुम्लासँग जोडिएको छ। उपल्लो डोल्पाभन्दा तल्लो डोल्पामा सुरक्षित सुत्केरी हुने महिलाको संख्या बढी रहेको छ।

कर्णाली प्रदेशको सबैभन्दा बढी हेलिकप्टरबाट गर्भवतीको उद्धार हुने जिल्लामा डोल्पा पहिलोमा पर्दछ। यहाँका महिलाहरूलाई सुरक्षित रूपमा सुत्केरी सेवा प्रदान गर्न प्रत्येक वडामा स्वास्थ्य संस्था निर्माण गरी जनचेतना फैलाउनु पहिलो प्राथमिकता रहेको स्थानीय सरकारले बताएका छन्।

के हो आम्ची उपचार विधि ?
हिमाली क्षेत्रका डाक्टर हुन्, आम्ची। आयुर्वेदमा आधारित आम्चीकै भरमा हजारौँ वर्षदेखि हिमाली क्षेत्रमा उपचार हुँदै आएको छ। उनीहरू अनुभवको आधारमा जडीबुटीको पहिचान गर्छन्। ती जडिबुटी प्रयोग गरेर बिरामीको उपचार गर्छन् र निको बनाउँछन्।

आम्चीहरू जडिबुटी पाइने वेला उच्च हिमाली भागमा उक्लन्छन्। पुस्तौँदेखि जडिबुटीको चिन्ने कलाले उनीहरूलाई कुनचाहिँ ओखती हो र कुन हैन भन्ने सजिलै थाहा पाउँछन्। ती जडिबुटीलाई पिसेर, मात्रा मिलाएपछि बल्ल ओखती बन्छ। पूर्वीय समाजको दैनिक जीवनमा आम्ची र आयुर्वेद परापूर्वकालदेखि नै प्रयोगमा छ।

अहिले आयुर्वेद जोडिएका औषधि र सौन्दर्य प्रशाधनले लोकप्रिय बनेका छन्। पुरातन उपचार पद्धतिलाई आधुनिकीकरण गर्ने विश्वव्यापी लहर पनि चलेको छ।

पुरातन पद्धतिमा टेकेर जडिबुटीमार्फत उपचार गर्ने आम्चीहरू देवता नै रहेको यहाँका स्थानीय बताउँछन्। हिमालयन आम्ची एसोसियसनको पहलमा सरकारले आम्ची पढ्न अनुमति दिएको छ।