२०७९, १७ मंसिर शनिबार

बाढीको भेलसँगै बग्दै लुम्बिनी नजिकका पुरातात्विक सम्पदा

लुम्बिनी : विश्वभरि बुद्धधर्मको प्रचारप्रसार बढिरहँदा बुद्ध जन्मस्थल लुम्बिनी नजिक रहेका पुरातात्विक महत्वको सम्पदा संरक्षणको अभावमा नदीको भेलसँगै बगेका छन् । रूपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका–१२ स्थित अमहवा गाउँ नजिकै निपनियामा रहेका पुरातात्विक भग्नावशेष बाढीको भेल सँगै दानव नदीमा विलय हुँदै गएका छन् ।
केही वर्षयतादेखि दानवनदीले कटान सुरु गरेपछि जमिनमुनि हराइरहेका प्राचीन अवशेषहरू एकपछि अर्को देखिँदै दानव नदीमा विलय हुन थालेका छन् । सुरुमा त इँटा, माटाका भाँडा र धातुका सामाग्री मात्र भेटिन्थे, तर २०५७ सालतिर नदीको धार परिवर्तन भई कटान बढेपछि पुरातात्विक महत्वका संरचनाहरू प्रत्यक्ष फेला पर्न थालेका छन् ।
विसं २०७१ भदौ १ गते इँटाबाट बनाइएको गोलाकार स्तम्भमाथि ढुङ्गाबाट चारपाटे आकृति दिइएको करिब ३० फिट अग्लो संरचना फेला परेपछि सो ठाउँले विशेष चर्चा पाएको हो । नजिकै बन्जरही, सुमेरगढ, मकुनगढ, सिद्धनाथ र सुदेसरमा पनि यस्ता संरचना जमिनमुनि रहेको बुद्ध आदर्श मावि खुनगाइका शिक्षक हरिमोहन चौधरीले देखाए ।
“प्राचीन समयमा त्यस ठाउँमा पम्पापुर नाम गरेको एक सुन्दर र समृद्ध नगर रहेको स्थानीय किंवदन्ती छ”, शिक्षक चौधरीले भने, “हैजा रोगको प्रकोपबाट धेरैजना मासिएको हुनसक्ने र बाँकी अन्यले नगर छोडेर अन्यत्र बसाइँ सरेकोे हुनसक्ने हाम्रो अनुमान छ ।” कसैकसैले नगरलाई दानव नदीको बाढीले पुरेको मिथक पनि सुनाउने गरेको उनले बताए ।

बाढीको भेलसँगै त्यहाँ रहेका धेरैजसो पुरातात्विक सम्पदा दानव नदीमा बग्दै गएका छन् । “२०६८ सालमा नदी छेउमा पाँच फिटजति अग्लो ढंङ्गाको रिङ भेटिएको थियो”, स्थानीयवासी दिलीपकुमार श्रीवास्तवले भने, “हामीले विकास कोषलाई भन्यौँ, तर कसैको ध्यान नजाँदा जोगाउन सकिएन, हेर्दा हेर्दै त्यो पनि नदीको भेलले बगाइसक्यो ।”
उमेरले ६९ वर्ष पुगेका स्थानीयवासी जुगुल किशोर त्रिपाठीले त्यहाँ पुरातात्विक महत्वको संरचना जोगाउन नसकिएको भन्दै चिन्ता व्यक्त गरे । “म सानो छँदा त्यहाँ एउटा बाकस देखिएको थियो, भित्र के थियो थाहा भएन”, उने भने, “कसले लग्यो–लग्यो ।” प्राचीन सभ्यताका ऐतिहासिक संरचना संरक्षण हुनुपर्ने उनको माग छ ।
नदी कटान हुनुअघि त्यहाँ इँटका दिवाल, माटाका भाँडा, बाकस, चाँदीका सिक्का र इनारहरू भेटिन्थे । कुनै–कुनै इनारमा मानिसका कङ्कालहरू देखिएको स्थानीयवासीले बताएका छन् । “त्यहाँ तीस–चालीस वटा इनार थिए”, स्थानीयवासी प्रकाश गुप्ताले भने, “लगभग आठ–दश वर्षअघि उचाल्न नै नसक्ने एउटा ठूलो बाकस देखिएको थियो, त्यो पनि बर्खे भेलमा बग्यो ।”
“म सानो छँदा नहानमेला हेर्न त्यही बाटो भएर अजमा जान्थेँ, त्यतिबेला केही संरचनाहरू बाहिरबाट देखेको हूँ”, प्रदेशसभा सदस्य अष्टभुजा पाठकले भने, “२०६९ सालमा इनार र २०७१ साल भदौ महिनाको बाढी कटानले त विशेष संरचनानै देखायो” ।
संरक्षणका लागि लागिपरेको भन्नुहुदै उहाँले अन्वेषण गर्ने हो भने जमिनमुनि प्राचीन नगर नै भेटिने दाबी गरे ।
नदी कटानले जमीनमुनि देखिने माटोका भाँडा र धातुका सामग्रीलगायतका वस्तु हर्पण सभ्यताको समकालीन भएको बताउँदै लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले भने, “भारतीय पुरातत्वशास्त्री एसबी देवले पनि अध्ययनका क्रममा त्यस क्षेत्रमा रहेका पुरातात्विक संरचना भारतको हस्तिनापुरको समकालीन संरचना भएको निचोड निकाल्नुभएको छ ।”
“त्यहाँ देखिने माटाका लेयर मानव बस्तीका सङ्केत हुन”, त्रिपाठीले भने, “प्रत्येक लेयरपिच्छे त्यहाँ मानिस बसेको भन्ने पुष्टि हुन्छ ।” त्यहाँ भेटिएका कैयौँ पुरातात्विक वस्तुहरू वर्षा र बाढीको भेलमा बगिसकेका र केही माटाका भाँडालगायतका अन्य वस्तुहरू स्थानीयवासीले लुम्बिनी विकास कोषलाई उपलब्ध गराएको उनले बताए ।
“स्थानीयवासीले उपलब्ध गराएका पुरातात्विक वस्तुहरू हामीले सुरक्षित राखेका छौँ”, कोषका उपाध्यक्ष त्रिपाठीले भने, “पछि अध्ययन–अनुसन्धान र उत्खनन गर्दा सहयोग हुनेछ ।” पुरातत्वविद् र कोषका अनुसार सो क्षेत्र बुद्ध जीवनीसँग सम्बन्धित छ ।
सो क्षेत्रसँगै बुद्ध जीवनीसँग सरोकार राख्ने रुपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीमा मात्रै दुई सय ३५ बढी पुरातात्विक सम्पदाहरू पत्ता लागेका छन् । तर यीमध्ये धेरै क्षेत्रको खोज–अनुसन्धान भने हुन नसकेको भन्दै कोषका उपाध्यक्ष त्रिपाठीले सम्पदाको संरक्षण र अध्ययन गर्न लुम्बिनी बौद्ध विश्वविद्यालय र पुरातत्व विभागसँग समन्वय भइरहेको जनाए ।
सन् १९६४ मा भारतीय पुरातत्वशास्त्री एसबी देवले त्यस क्षेत्रको अध्ययन गरेका थिए । देवले त्यहाँ पाइएको माटोको संरचना भारतको हस्तिनापुरको समकालीन मानिन्छ, भन्ने उल्लेख गरेको शोधकर्ता भोला गुप्ताले बताए । उनले भने, “देवले यसको अनुमानित समय ईशापूर्व ११औँ शताब्दीदेखि लिएर ईशापूर्व सातौँ शताब्दी मानेका छन ।” सो क्षेत्रमा भारतको मोहनजोदारो–हडप्पा सभ्यताभन्दा पनि प्राचीन सभ्यता रहेको देवले उल्लेख गरेका छन् ।
विश्वको सबै प्राचीन सभ्यता नदीकै किनारबाट विस्तार भएको बताइन्छ । हडप्पा सभ्यता पनि एक हो । सिन्धुनदी तटमा सिन्धुघाँटी सभ्यता, मिश्रनदी तटमा मिश्र सभ्यता, चीनको सभ्यता, नील नदीको सभ्यता आदि विश्वका प्राचीन सभ्यतामध्येका एक हुन् ।
पूरातत्वविद् हिमाल उप्रेती भन्छन्, “हडप्पा सभ्यता आफ्नो नगर नियोजन प्रणाली, जल निकासी प्रणाली र सफाइका लागि हैशह प्रणालीमा बसेको मानिन्छ । त्यस प्रणालीमा प्रत्येक घरआँगनमा जलस्रोतका लागि इनार, एउटा खाना पकाउने रसोइघर अनिवार्य राखिन्थ्यो ।”
यो सभ्यताका विनाशका कारणका सम्बन्धमा विभिन्न विद्वानहरूको भिन्न–भिन्न मत छ । प्रोफेसर चाइल्ड र ह्विलरले विदेशी आक्रमणलाई यस सभ्यताको पतनको मुख्य कारण बताएका छन् भने प्रोफेसर फेयर सर्बिसले पारिस्थितिक असन्तुलनलाई मुख्य कारक मानेको पाइन्छ । तर बाढीलाई कारक बताउने सर्वाधिक विद्वानहरूको मत छ ।
देवपछि न पुरातत्व विभागले कुनै अध्ययन–अन्वेषण गरेको छ न त सरकारले संरक्षणमा ध्यान नै पुर्याएको छ । “ऐतिहासिक पुरातात्विक सम्पदा जोगाउन पुरातत्व विभाग र सरकारले संरक्षणसँगै अध्ययन–अनुसन्धान र उत्खननमा प्राथमिकता दिन ढिलाइ गर्नु हुँदैन”, लुम्बिनी सांस्कृतिक नगरपालिका पूर्वप्रमुख मनमोहन चौधरी भने, “हामीले पहिलादेखि नै त्यस क्षेत्रबारे जानकारी गराएका छौँ, तटबन्ध गर्न भनेका छौँ, अझै काम अघि बढेको छैन ।”

जनताको तटबन्ध कार्यक्रमका महानिर्देशकसहित त्यस क्षेत्रको अवस्था बुझ्न पुगेका प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति निवर्तमान सभापति भरतकुमार शाहले त्यहाँको संरक्षणमा चासो दिने बताए । स्थानीयवासीसँग केही समय त्यहाँको ऐतिहासिकताबारे जानकारी लिँदै शाहले भने, “यो पुरातात्विक क्षेत्र हो, यहाँको संरक्षणमा पहल गर्छु ।” उनले नदी कटान नियन्त्रण गर्न तटबन्धका लागि पहल गर्ने बताए ।