२०८१, ७ बैशाख शुक्रबार

डेंगीबाट बचौं

बढ्दो सहरीकरणसँगै प्लास्टिकको अव्यवस्थित प्रयोग बढ्नुलाई डेंगी संक्रमण बढ्नुको एक कारक मानिन्छ । प्रयोग गरेर फालिएका प्लास्टिकका सामान, मोटर र साइकलका टायर, टिनका भाँडा र गमलाहरूमा जमेको पानीमा लामखुट्टेले अन्डा पार्छ । अन्डाबाट लार्भा, प्युपा हुँदै वयस्क लामखुट्टेमा परिणत हुन्छ । डेङ्गी संक्रमित लामखुट्टेको जीवनचक्र चार साताको हुन्छ । डेंगु ज्वरो ५ देखि ७ दिनसम्म रहन सक्छ । डेंगु लागेमा मानिसको रक्तकोष घट्न गई रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउँछ । फलस्वरूप मानिसहरू सिकिस्त हुने गर्छन् । डेंगुबाट संक्रमित एडिस नामको लामखुट्टेले रोग सार्छ । संक्रमित लामखुट्टेले मानिसलाई टोकेपछि मात्र यो रोग एकबाट अर्कोमा सर्छ । मानिसबाट मानिसमा सर्दैन । डेंगु भएको व्यक्तिलाई लामखुट्टेले टोक्दा सो व्यक्तिको रगतमा भएका डेंगुका भाइरसहरू लामखुट्टेमा सर्छन् । संक्रमित लामखुट्टेले मानिसलाई टोकेपछि यो रोग एकबाट अर्कोमा सर्छ । त्यसपछि व्यक्तिमा डेंगुका लक्षणहरू देखिन सक्छ ।
डेंगुबाट संक्रमित व्यक्तिको रगत चुसेको आठदेखि १२ दिनपछि लामखुट्टे पनि संक्रमित हुन्छ । एकपटक संक्रमित भएपछि जीवनभर संक्रमित भइरहन्छ । सामान्य डेंगु ज्वरो, हेमोरेजिक र सक सिन्ड्रोम गरी डेंगु ज्वरो तीन प्रकारको हुन्छ । हेमोरेजिक र सक सिन्ड्रोम ज्वरो खतरनाक हुन्छ । सामान्य डेंगु ज्वरो नियन्त्रणमा नआउँदा यो हेमोरेजिक वा सक सिन्ड्रोममा परिवर्तित हुँदा नियन्त्रण गर्न गाह्रो हुन्छ । डेंगुको ज्वरो आएको तीनदेखि सात दिनसम्म नाजुक स्थिति हुन्छ । यस्तो स्थितिमा केही संक्रमित ‘सक’ मा जान सक्ने सम्भावना हुने गरेकाले यो समयमा बिरामीको बढी हेरचाह आवश्यक हुन्छ । यस्तो अवस्थामा चिकित्सकको निगरानीका लागि अस्पताल भर्ना गर्नुपर्ने अवस्थासमेत हुन जान्छ ।