२०८०, १३ मंसिर बुधबार

प्राथमिकतामा कर्णालीका उत्तरी नाका, काम भने सुस्त

सुर्खेत : कर्णाली प्रदेश सरकारले कर्णालीका उत्तरी नाकालाई प्राथमिकतामा राखेको छ । तर, कर्णाली प्रदेशका उत्तरी नाका मुगुको नाक्चेलाक्ना, डोल्पाको मोरिल्ला र हुम्लाका हिल्सामा सुस्त गतीमा काम भइरहेको छ ।
चीन सरकारले कर्णाली प्रदेशको उत्तरी नाका हिल्सा खोल्नका लागि तयार भएको छ भने, मुगुको नाक्चेगाल्ना र डोल्पाको मोरिल्ला नाका खोल्न आनाकानी गर्दै आएको छ ।
सरकारले प्राथमिकता राखेको योजनाहरु राष्ट्रिय गौरवका आयोजनामा पनि नराख्दा थोरै बजेट विनियोजन गर्दा अहिले कर्णालीका उत्तरी नाका खोल्नेमा सकस नै छ ।
कर्णाली प्रदेशको उत्तरी नाका रुपमा रहेको नाक्चेगाल्ना नाका खोल्नका लागि प्राथमिकता राख्दै आएको छ । मुगुको गमगढीदेखि नाग्चेलाग्नासम्मको ९६ किलोमिटरमध्ये हाल गमगढीदेखि थाइलसम्मको १६ किलोमिटर ट्याक ओपन भएको छ ।
१६ किलोमिटर सडकको ट्याक ओपन भएको छ । नाक्चेलाग्ना नाका खोल्नको लागि सरकारले विनियोजन गरेको बजेटमध्ये थाइलभन्दा अगाडी ठुलो नाङ्लेभीर रहेको त्यो भीर फोडन्का लागि अनिवार्य व्लाष्टिङ् गर्नुपर्ने अवस्था रहेको स्थानीय नरबहादुर शाहीले बताए । ‘ठुलो भीर छ । बजेट थोरै छ । व्याष्टिङ् गर्नुपर्नेछ ।’ उनले भने,‘उत्तरी नाकाम खोल्नका लागि यो रकम अप्रयाप्त हो ।’
नाग्चेलाग्ना नाका खोल्नका ०६७ देखि निर्माण सुरु भएको हो । यो सडकमा १० करोड रुपैयाँ खर्च भइसकेको छ । सुर्खेतबाट नाग्मा, गमगढी हुँदै तिब्बत सीमासम्म तीन सय ९० किलोमिटर लामो रहेको बजेट थोरै आउने गरेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ ।
बजेट अभावमा डोल्पाको मोरिल्ला नाका
भेरी करिडोर हुदैँ डोल्पाको मोरिल्लानाका खोल्नका लागि सरकारले यो आर्थिक बर्षमा बजेट नै विनियोजन गरेको छैन् ।
डोल्पाको दुनैदेखि मोरिल्लासम्मको १२७ किलोमिटर सडकमध्ये डोल्पाको धौदेखि चीनको मोरिल्ला जोड्ने ६५ किलोमिटर सडक ट्याक ओपन भइसकेको सडक डिभिजन कार्यालय रुकुम चौरजहारीले जनाएको छ । डोल्पा सदरमुकाम दुनैदेखि मोरिम्लासम्म १२७ किमिमध्ये मोरिम्लादेखि दुनैतर्फको धौसम्मको ६५ किलोमिटर सडक निर्माण भइसकेको छ । त्यसबीचको कडा चट्टान भएका कारणले समस्या भएको छ ।
लिमी र हिल्सा बन्द
कर्णाली प्रदेशको उत्तरमा दुई मात्र नाका छन् । ती हुन् लिमी र हिल्सा । ती नाका तीन वर्षदेखि बन्द छन् । नाका लामो समयसम्म बन्द हुँदा हुम्लाबासीले हैरानी भोग्नु परेको छ । कोरोनाकालदेखि बन्द भएका नाका हालसम्म खुल्न सकेका छैनन् । नाका बन्द हुँदा हुम्लाका स्थानीय बजारमा खाद्यान्न, दैनिक उपभोग्य सामान, लत्ताकपडादेखि निर्माण सामग्रीको अभाव छ । नेपालगन्जबाट जहाजमा चर्को मूल्यमा ढुवानी भएको सामान किन्न यहाँका नागरिक बाध्य छन् ।
हुम्लाा स्थानीय विजय लामाले नाका बन्द हुँदा सकस भएको बताए । ‘लिमी र हिल्सा नाका बन्द हुँदा यहाँका नागरिकलाई निकै समस्या भएको छ, विकास निर्माणका सामग्री, खाद्यान्न र दैनिक उपभोग्य सामानको अभाव छ ।’ उनले भने,‘जिल्लामा ती दुई नाकाबाटै उपभोग्य सामान आयात गर्न सहज हुन्थ्यो ।’
नाका बन्द भएपछि हाल नेपालगन्जबाट जहाजमा प्रतिकिलो ३ सय ५० रुपैयाँ भाडा तिरेर ल्याउनुपर्छ । कतिपय कर्णाली करिडोरबाट ढुवानी भएको सामान हुम्लाको सरीसल्लाबाट दुई दिन पैैदल हिँडेर थाप्लोमा भारी बोकेर ल्याउँछन् । नेपाली सेनाद्वारा निर्माणाधीन कर्णाली करिडोरको सरीसल्लामा पुल नहुँदा मान्छेहरू थाप्लोमा भारी बोकेर दैनिक उपभोग्य समानहरू ल्याउने गरेका छन् ।
हुम्लाको सिमकोट गाँउपालिकाका अध्यक्ष विजय भण्डारीले लिमी र हिल्सा नाका बन्द हुँदा निर्माण सामग्रीको अभावकै कारण स्थानीय निकायले गर्ने विकास निर्माणका योजनाहरू पनि प्रभावित भएको बताए ।