२०८१, ११ बैशाख मंगलवार

पर्यटन क्षेत्रको विकास गर

भौगोलिक विकटताका कारण भौतिक पूर्वाधार निकै कठिन भएको यो प्रदेशमा उत्पादनमा आआत्मनिर्भर नभएको, औद्योगिक विकास शून्य प्रायः रहेकोले प्रदेश सरकारले प्राकृतिक सुन्दरता, जडीबुटी प्रशोधन र फलफुल उत्पादन तथा पशुपालनको विकासलाई मुख्य लक्ष्य तथा उद्देश्य घोषणा गरी त्यही अनुसारको कार्यक्रम र बजेट निर्माण गर्नु पर्ने आवश्यकता देखिन्छ । पर्यटककोलागि आवश्यक पर्ने भौतिक पूर्वाधारहरू बाटो, यातायात, होटेल तथा सुरक्षा जस्ता आधारभूत कुरालाई पूरा गर्ने तर्फ सरकारले पहल चाल्नु बुद्धिमानी हुनेछ । प्राकृतिक रूपले अत्यन्तै सुन्दर कर्णाली प्रदेश तब मात्र आन्तरिक तथा बाह्य पर्यटकको पहिलो रोजाई बन्न सक्छ जब दिर्घकालीन सोचसहित स साना योजनाहरू समयमै सम्पन्न गर्दै तीव्र गतिमा अघि बढ्न सक्छ ।
प्रदेश सरकारसँग पर्याप्त मात्रामा स्रोत साधन नभएको वर्तमान अवस्थामा प्रदेश सरकारले निजी क्षेत्रलाई विश्वासमा लिई पर्यटकमैत्रि भौतिक पूर्वाधार निर्माणमा ध्यान दिँदै रारा, से फोक्सुन्डो, सिँजा सभ्यता, बुलबुले, कुभिन्डे दह, देउति बजै, काञ्जिरोवा जस्ता पर्यटकीय क्षेत्र रहेको यो प्रदेश मानसरोवर यात्राको प्रस्थान विन्दुसमेत भएकोले हिन्दु धार्मिक तिर्थालुलाई मात्र पनि केन्द्रित गर्दै अघि बढ्न सकेको खण्डमा पनि धेरै प्रगति हुन सक्छ ।
प्रदेश राजधानी सुर्खेतदेखि कर्णाली प्रदेशमा रहेका पर्यटकीय स्थलसम्मको यात्रा निकै कष्टकर रहेकाले पनि एक पटक पुगेको व्यक्ति दोस्रो पटकको यात्राका लागि कर्णाली तिर जान राजी नहुन सक्छ । वर्तमान अवस्थामा रहेका राजमार्गलाई स्तर उन्नति गर्न केन्द्र सरकारसँग पहल गर्ने, बर्षौदेखि अलपत्र रहेका पुल पुलेसालाई बेलैमा निर्माणकालागि पपहलकदमि लिने, सुरक्षा व्यवस्थालाई मजबुत बनाउन ठाउँ ठाउँमा प्रहरी चौकी स्थापना गर्ने, पर्यटकीय क्षेत्र र बाटोमा गुणस्तरीय आवासका लागि होटेल तथा रेस्टुरेन्ट एवं घर बास सञ्चालनको वातावरण निर्माण गर्न सकियो भने पर्यटकको आकर्षण बढाउन सकिन्छ ।