२०७९, ९ आश्विन आईतवार

चाडवाड अझैँ महँगी बढ्न सक्ने

सुर्खेत : नेपाल राष्ट्र बंैकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार नेपालमा निरन्तर मुद्रास्फीति बढेका कारणले चाडवाटमा महँगी अझैँ बढ्ने देखिएको छ । चालू आर्थिक वर्षको पहिलो महिना साउनमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.२६ प्रतिशत बढेको छ । गत आवको साउन महिनामा ४.३५ प्रतिशत मुद्रास्फीति रहेकोमा यसपटक करिब ९ प्रतिशत पुगेको हो ।
नेपालीहरुका ठूला चाडवाड आइरहेको अवस्थामा उपझोक्तामाथि अझ मूल्यवृद्धिको चाप पर्ने अनुमान छ । साउनमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.११ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ९.१८ प्रतिशत रहेको छ । २०७८ साउनको तुलनामा २०७९ साउनमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यू तथा तेल, फलफूल, रेष्टुरेण्ट तथा होटल, मदिराजन्य पेय पदार्थ र दुग्ध पदार्थ तथा अण्डा उपसमूहको मूल्यवृद्धि क्रमशः १९.५८ प्रतिशत, १८.७९ प्रतिशत, ११.८४ प्रतिशत, १०.२४ प्रतिशत र १०.१९ प्रतिशत रहेको छ ।
साथै, गैरखाद्य तथा सेवा समूह अन्तर्गत यातायात, स्वास्थ्य, फर्निसिङ तथा घरायसी उपकरणहरु, शिक्षा र घरायसी उपयोगका वस्तुहरु उपसमूहको मुद्रास्फीति क्रमशः २३.८८ प्रतिशत, १०.५४ प्रतिशत, ९.०४ प्रतिशत, ८.११ प्रतिशत र ७.८६ प्रतिशत रहेको छ ।
यस्तै, साउनमा काठमाडौं उपत्यकामा ७.३९ प्रतिशत, तराईमा ८.७२ प्रतिशत, पहाडमा ८.६४ प्रतिशत र हिमालमा ६.६४ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७८ साउन महिनामा यी क्षेत्रहरुमा क्रमशः ३.७० प्रतिशत, ४.११ प्रतिशत, ५.६३ प्रतिशत र ३.५८ प्रतिशत मुद्रास्फीति रहेको थियो ।
तर, रेमिट्यान्स आय भने साउनमा २०.३ प्रतिशतले बढेको छ । चालू आवको साउनमा ९२ अर्ब २१ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागको प्रतिवेदनले जनाएको छ । २०७८ साउनको तुलनामा रेमिट्यान्स बढेको भए पनि २०७८ असारको तुलनामा भने साउनमा रेमिट्यान्स घटेको छ । २०७८ असारमा १ खर्ब ३ अर्ब १३ करोड रेमिट्यान्स प्राप्त भएकोमा साउनमा करिब ११ अर्बले घटेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । तर, साउनमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २२२.८ प्रतिशतले वृद्धि भई ४४,५४० पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रमस्वीकृति लिने नेपालीको संख्या साउनमा ७५.४ प्रतिशतले वृद्धि भई २०,३९० पुगेको छ ।