२०८१, २४ आश्विन बिहीबार

समृद्ध कर्णाली बनाउने सम्भावित १० जिल्लाका पर्यटन गन्तव्य

सुर्खेत :  कर्णाली प्रदेश प्राकृतिक स्रोतसाधनले धनी छ । नेपालको पर्यटन प्रवद्र्धनको हिसाबले ‘भर्जिन’ क्षेत्र हो यो । समृद्ध कर्णाली प्रदेश बनाउन पहिलो र सजिलो विकल्प भनेको पर्यटन नै हो ।
नेपालकै सबैभन्दा ठूलो ताल राराजस्ता मनोरम प्राकृतिक स्थलहरूले कर्णाली भरिभराउ छ । चीनको स्वशासित क्षेत्र तिब्बतस्थित पवित्र तीर्थस्थल कैलाश मानसरोवरको प्रवेशद्वार कर्णाली प्रदेश नै हो ।
तर, धेरैलाई कर्णाली विकट र सुविधाविहिन स्थान हो भन्ने भान छ भने भू–प्राकृतिक र भू–सांस्कृतिक हिसाबले यसले पर्यटकलाई पार्न सक्ने मनमोहकता र अक्षत (भर्जिन) अवस्थाको गन्तव्य हो भन्ने कुराको जानकारी धेरैसमक्ष पुग्न सकेको छैन ।
नेपालकै आर्कषक पर्यटकीय गन्तव्य हो– कर्णाली प्रदेश । तर, यहाँका पर्यटकीय गन्तव्यका लागि एकातिर आवश्यक पूर्वाधार तथा सेवासुविधालाई पर्यटकमैत्री बनाउने गरी प्रवद्र्धन गर्न सकिएको छैन भने अर्कातिर पर्यटकीय प्रवद्र्धनका लागि हुनुपर्ने प्रादेशिक, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रचारप्रसारको कमी छ । कर्णाली प्रदेशको प्रचुर सम्पदाले नेपालको समग्र समृद्धिलाई टेवा दिन सक्ने भए पनि यसको समुुचित उपयोग हुन सकेको छैन ।
कर्णाली प्रदेशमा मुगुको रारा ताल, रारा राष्ट्रिय निकुञ्ज, विश्वकै अग्लो स्थानमा रहेको छायाँनाथ मन्दिर, डोल्पाको शेगुम्बा र फोक्सुडो ताल, वाला त्रिपुरा सुन्दरी, जुम्लाको नेपाली भाषा तथा सभ्यताको उद्गमथलो सिञ्जा उपत्यका, सुर्खेतको काँक्रेविहार, बुलबुले ताल, देउती बज्यै मन्दिर, कालिकोटको रास्कोटको बडीमालिका, पञ्चदेवल, विश्वकै अग्लो मानिएको पातल छहारा छन् । त्यस्तै हुम्लाको लिमी उपत्यका, सबैभन्दा पुरानो हाल्जी गुम्बा, रलिङ गुम्बा, याल्वाङ गुम्बा, खार्पुनाथदेखि मानसरोवर कैलाशको पैदल यात्रा, सल्यानको कुपिन्डेदह,रुकुमको स्यार्पुदह, जाजरकोटको ठाकुरजी दह, दैलेखमा ज्वाला, दुल्लु दरबार, नेपालका विभिन्न जातिका ३२ थरको उद्गमस्थललगायत प्रमुख पर्यटकीय सम्पदाहरू रहेका छन् ।
सर्वाधिक उचाइमा रहेको मानव वस्ती डोल्पाको छार्का भोट आकर्षणको अर्को गन्तव्य हो । कर्णाली नदीमा राफ्टिङदेखि सुर्खेतको वीरेन्द्रनगर उपत्यकामा प्याराग्लाइडिङजस्ता पर्यटकलाई आकर्षित गर्ने कार्यक्रम सञ्चालन गर्ने प्रयास पनि भइरहेको छ ।
अहिले कर्णाली प्रदेशमा वर्षमा करिब ५० हजार पर्यटक पुग्ने गरेका छन् । ती पर्यटकबाट त्यहाँ गएर गरिने खर्चका माध्यमबाट प्रदेशका पर्यटन व्यवसायी र समग्र कर्णालीको आर्थिक समृद्धिमै अर्थपूर्ण टेवा पुग्दै आएको छ ।
सँगसँगै सांस्कृतिक अध्ययन र ऐतिहासिक तथा पुरातात्विक अध्ययन अनुसन्धानका लागि समेत कर्णाली प्रदेशलाई प्रवद्र्धन गर्ने लक्ष्य राखिएको छ । कर्णाली प्रदेश सरकार यस प्रदेशमा कृषि पर्यटन, जडीबुटीकेन्द्रित पर्यटन, संस्कृति केन्द्रित पर्यटनजस्ता बहुविधागत कार्यमूलक पर्यटनको गन्तव्यस्थलका रूपमा पनि यस प्रदेशको प्रवद्र्धन गर्ने लक्ष्य लिनुपर्ने बताउँछन् यहाँका जानकारहरु ।
कर्णाली प्रदेशमा १० जिल्लाका सम्भावना
मुगु
रारा मुगु जिल्लामा पर्ने नेपालको सबैभन्दा ठूलो ताल हो । ताल पुग्न जति गाह्रो छ, पुगेपछि पाइने स्वर्गीय आनन्दको कल्पनामात्रै पनि मिठो हुन्छ । ५ किलोमिटर लम्बाइ, ३ किलोमिटर चौडाइ र १ सय ६७ मिटर गहिराइ रहेको राराको क्षेत्रफल ११ वर्गकिलोमिटर छ । हिँडेर एक फन्को मार्न मात्रै ५ घण्टा लाग्छ । समुन्द्री सतहबाट २ हजार ९ सय ९० मिटर उचाइमा रहेको रारा तालको विशेषता भनेकै छिन–छिनमा पानीको रङ परिवर्तन हुनु हो । यहाँ नेपालमा कतै नपाइने स्नो ट्राउट प्रजातिको माछा पाइन्छ ।
हुम्ला
गरिबको उपमा पाएको हुम्लासँग सम्भावनाका स्रोत धेरै छन् । तर, पहिचान हुन सकेको छैन । हिन्दूहरूको तिर्थस्थलका रुपमा प्रख्यात मानसरोवर जाने प्रमुख स्थान हो यो । समुन्द्री सतहबाट २ हजार ९ सय मिटरमा उचाइमा छ सदरमुकाम सिमिकोट । यो जिल्ला कला संस्कृति, प्राकृतिक सौन्दर्य, जडिबुटी, ताल तथा मनोरम दृष्यहरूको थलो पनि हो । तरपनि हुम्ला निश्चित पर्यटकको मात्रै गन्तब्यस्थल बनिरहेको छ । हवाई सेवा नियमित र भाडा दर कम भए यहाँको पर्यटकीय सम्भावना बढ्ने देखिन्छ ।
जुम्ला
वरीपरी हिमाल, बीचको समथर भूभागमा गुजुमुज्ज घरहरू । बस्तीको मध्य स्थानमा चन्दनाथ मन्दिर । नजिकै बगिरहेको तिला नदी, यो हो जुम्लाको स्वरुप । संसारकै सबैभन्दा उच्च स्थानमा धान फल्ने जिल्ला हो, जुम्ला । यही जिल्लाको सिञ्जाबाट खस भाषाको उत्पत्ति भएको हो । सदरमुकाम भएकाले पनि जुम्ला कर्णाली अञ्चलका पाँच जिल्लामध्ये सुगममा पर्छ । जुम्ला रारा ताल जाने प्रमुख स्थल पनि हो । जुम्लामा काञ्जिरोवा, पातारासी, वाक्की जस्ता हिमाल, पञ्च देवल, तातोपानी, पाण्डु गुफा, विराज दरवार, चन्दनाथ मन्दिर, भैरवनाथ मन्दिर, कनकासुन्दरी मन्दिर हेर्न लायक छन् । प्राकृतिक सौन्दर्य, जडिबुटीका साथै कला र संस्कृतिमा पनि धेरै धनी छ जुम्ला ।
डोल्पा
सफा, शान्त र निर्मल पानी । छिनछिनमा पानीको रंग परिवर्तन भइरहने । कहिले गाढा निलो, कहिले मलिन हरियो । देशको सबैभन्दा गहिरो तथा दोस्रो ठूलो ताल डोल्पाको फोक्सुण्डोको चरित्र हो यो । तालको अलि पर सानो रिग्मो गाउँ, जहाँ पर्यटकका लागि बनाएका केही होटल छन् । नजिकै सेनाको सानो टुकुडी बाहेक बस्ती छैन । एरिक भ्यालीको चलचित्र ‘क्याराभान’ र अमृत गुरुङको गीत ‘सा–कर्णाली’ले डोल्पाको परिचय बाहिर ल्याएपछि त्यहाँ आन्तरिक र बाह्य पर्यटक बढेका छन् । तल्लो र माथिल्लो डोल्पा पदयात्राका लागि पनि प्रसिद्ध छ ।
दैलेख
दैलेख नेपाली भाषाको पहिलो अभिलेख भएको जिल्ला हो । अहिले पनि दुल्लुमा सो अभिलेख सुरक्षित छ । त्यस्तै, श्रीस्थान, नाभिस्थान, धुलेश्वर, पादुका र कोटीला पञ्चतिर्थस्थल पनि दैलेखमै छ । श्रीस्थान र नाभिस्थानमा रहेको कहिल्यै ननिभ्ने ज्वाला दैलेखको अर्को जीवन्त परिचय हो । विश्व सम्पदामा सूचिकृत हुनका लागि ‘क’ वर्गमा परेको भूर्तिका बाइस देवल, दैलेख गढी, दुल्लुको कीर्ति खम्बा यहा“का पर्यटकीय स्थल हुन् । तर, प्रचार–प्रसारको अभावमा यिनको चर्चा त्यति भएको छैन । मारुनी, गर्रा, दमाह, हुड्के, पैसरीजस्ता मौलिक नाचहरूले त्यहाँको संस्कृतिलाई पनि जीवन्त राखेको छ ।
सुर्खेत
सुर्खेत मध्यपश्चिमको सदरमुकाम हो । मानसरोवर, डोल्पा, रारा, जुम्लालगायत मध्यपश्चिमका पर्यटकीय केन्द्रको ‘गेट वे’ । सुर्खेतको काँक्रेविहार दोस्रो लुम्बिनीका रुपमा परिचित छ । सुर्खेतमा गढी, देउती बज्यै, बुलबुले ताल र घण्टाघर लगायतका पर्यटकीय स्थल छन् । सुर्खेत विमानस्थलको क्षमता अभिवृद्धि गर्न सके यहा“ पनि पर्यटकीय गतिविधि बढ्ने आश गर्न सकिन्छ । भेरी नदीमा भर्खरै सुरु भएको राफ्टिङ र परीक्षण उडानमा सीमित प्याराग्लाइडिङलाई व्यवसायिक बनाउन सके त्यसले पर्यटकीय चहलपहल बढाउने छ ।
जाजरकोट
जाजरकोट प्राकृतिक स्रोत–साधनले धनी जिल्ला हो । तर, प्रचार–प्रसारको अभावमा अहिले पनि यसले पुरानै सशस्त्र द्वन्द्वले थिलथिलो भएको र विपन्न जिल्लाको परिचय संगाली रहेको छ । प्राकृतिक विविधता मात्र नभएर कला–संस्कृतिको जीवन्त क्षेत्र हो, जाजरकोट । अमूल्य जडीबुटी, निरन्तर बगिरहेको भेरी नदी, ऐतिहासिक दरबारले जाजरकोटको परिचय थेगिरहेको छ । तर, भएका स्रोतको उचित सदुपयोग हुन सकेको छैन । खुँडा, दमाहा, मयुरजस्ता मौलिक नाचको विरासत मानिने हो कि भन्ने चिन्ता पनि उस्तै छ । भेरी नदी हुँदै कर्णाली चिसापानी पुलसम्मको साहसिक जलयात्रा निकै रोमाञ्चकारी हुने देखिए पनि त्यसले व्यावसायिक रुप लिन अझै लामो समय लिनेछ ।
कालिकोट
कर्णाली राजमार्ग मुख्यनाका रहेको कालिकोटको क्षेत्रफल १७४१ वर्ग किमी रहेको छ । कालिकोट जैविक विविधता, जडीबुटी तथा पर्यटकीय क्षेत्रले भरिपूर्ण क्षेत्र हो । जसमा महिला ६५८३० र पुरुषको जनसंख्या ६४५२६ देखिन्छ । कालिकोट जिल्लाको शुभकालिका गाउँपालिका(मुग्राहा गाविस)को कालीकागाँउमा अवस्थित रहेको कालीदेवीको मन्दिर (माडु) बाट नै यस जिल्लाको नाम कालिकोट रहन गएको हो भन्ने जनधारणा रहेको पाइन्छ । यहाँका देवल तथा मष्टका थानहरूका धार्मिक हिसाबले पनि निकै महत्वपूर्ण रहेका छन् । कालिकोटमा बडिमालिका, चुलीमालिका, पचालझरना यहाँका पर्यटकीय स्थल हुन् ।
रुकुमपश्चिम
रुकुमको सदरमुकाम चौरझारी हो । धार्मिक तथा जडीबुटीका हिसाबले निकै प्रख्यात रहेको छ । रुकुमको स्यार्पुताल, कमल ताल पर्यटकीय हिसाबले निकै प्रख्यात रहेका छन् । त्यस्तै साईकुमारी भगवती र कालिका मन्दिर, बराह मन्दिर रुकुमका चर्चित धार्मिक स्थलहरू हुन् । रुकुमको सिस्ने हिमाल पनि एक प्रमुख आर्कषण हो ।
रुकुम मगर बाहुल्यको जिल्ला हो । त्यसैले मगर संस्कृति र जीवनशैली अवलोकनका लागि यो जिल्ला जीवन्त छ । रुकुममा जिगरे मन्दिर, पुपाल लेक स्थानिय पर्यटकीय स्थल हुन् । यहाँ बहुमूल्य जडिबुटी यार्चागुम्बा पाइन्छ । सिस्ने हिमाल, ढोरपाटन आरक्षण क्षेत्रको ६० प्रतिशत भाग रुकुममा पर्छ ।
सल्यान
पहाडी जिल्लामध्ये एक हो सल्यान । परम्परागत कृषि पेशामा आधारित रहेको सल्यानमा नेपालकै उत्कृष्ट खुकुरी निर्माणका रुपले प्रख्यात रहेको छ । जातीय हिसाबले पनि यहाँ विविधता रहेको पाइन्छ । विशेषगरी बाहुन, क्षेत्री, मगर, कामी, दमाई तथा नेवार समुदायको बहुल्यता यस क्षेत्रमा रहेको छ । कुपुण्डेदह यहाँको धार्मिकस्थलको रुपले प्रसिद्ध रहेको छ । यसका साथै खैरावाङ भगवती मन्दिर र छत्रेश्वरी मन्दिर प्रमुख धार्मिकस्थल हुन् । यसका अतिरिक्त अन्य पर्यटकिय एवं धार्मिकस्थलहरू यहाँ प्रशस्त मात्रामा रहेका छन् । अदुवा खेती, अमिलो जातका फलफूल खेती तथा बाख्रापालन व्यवसायका साथै अन्य कृषिजन्य व्यवसाय नै यस जिल्लाको प्रमुख व्यवसायको रुपमा रहेको पाईन्छ ।