२०८१, ८ बैशाख शनिबार

हुम्लामा कुन स्थानीय तहको बेरुजु कति ?

हुम्ला : जिल्लाका सातवटा गाउँपालिकाको बेरुजुको संख्या बर्सेनि वृद्धि हुँदै गएको पाइएको छ । आर्थिक वर्ष ०७७÷०७८ मा महालेखा परीक्षकको कार्यालयद्वारा सार्वजनिक भएको वार्षिक प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको हो ।
सो बेरुजु रकम असुल उपर गर्नुपर्ने र नियमित गर्ने रहेको छ । यसमा संघ र प्रदेशको अनुदान, राजस्व बाँडफाँट, आन्तरिक आय र अन्य आय शीर्षकबाट प्राप्त भएको रकम बेरुजु औँल्याइएको छ ।
कुल बेरुजु औँल्याएको रकममध्ये पौने चार करोड असुलउपर गर्ने प्रकृतिको भएको प्रतिवेदनले देखाएको छ । जसमा कर जम्मा नभएको रकम पनि देखाइएको छ भने बाँकी आवश्यक कागजात नमिलेकाले नियमित गर्ने खालको देखाइएको छ ।
प्रतिवेदनअनुसार सबैभन्दा बढी सर्केगार्ड गाउँपालिकाको १२ करोड ९३ लाख ६८ हजार औँल्याइएको छ भने अदानचुली गाउँपालिकाको आठ करोड ७१ लाख २९ हजार देखाइएको छ ।
त्यसैगरी, ताँजाकोट गाउँपालिकाको तीन करोड ६८ लाख नौ हजार रहेको छ । सिमकोट गाउँपालिकाको दुई करोड ९० लाख २९ हजार बेरुजु देखाइएको छ ।
यता, चंखेली गाउँपालिकाको बेरुजु रकम एक करोड ४९ लाख ८१ हजार, खार्पुनाथ गाउँपालिकाको एक करोड चालीस लाख १८ हजार र सबैभन्दा कम नाम्खा गाउँपालिकाको बेरुजु रकम १४ लाख तीन हजार मात्र रहेको छ ।
जिल्लाको सातवटै गाउँपालिकाको आव ०७७÷०७८ मा बेरुजु ३१ करोडभन्दा बढी रहेको पाइएको छ । प्रतिवेदनले गाउँपालिकाहरूको कुल बेरुजु रकम ३१ करोड १५ लाख ८८ हजार रुपियाँ रहेको औँल्याएको छ ।